सिलाई व्यवसायीको मागः ‘अनिवार्य भ्याट खारेजी हुनुपर्छ’

विप्लव काफ्ले
भरतपुर, २१ पुस
नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले ‘सर्टिङ सुटिङसहितको टेलरिङ’ व्यवसायलाई अनिवार्य भ्याटमा दर्ता हुनुपर्ने व्यवस्था खारेज गर्नुपर्ने माग गरेको छ । नेपाल कपडा तथा सिलाई व्यवसायी संघ चितवनको १५ औं साधरणसभा तथा ९ औं अधिवेशनमा महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले अभिवार्य भ्याट खारेजीको माग पूरा हुन नसकेको बताए ।


“साना तथा मझौला व्यवसाय धरासयी हुने नीति खारेज हुनुपर्छ”, नारायणगढमा आयोजित कार्यक्रममा उनले भने, “ केही थान कपडा राखेर टेलरिङ गर्दैमा भ्याटमा लान खोज्नु गलत हो, यो नीति सच्याउन सरकारसँग माग गर्छौँ ।” महासंघको आव्हानमा जेठ ३० गते जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला संघहरुले अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । असार ५ गते सातवटै प्रदेश सरकारमा ज्ञापनपत्र बुझाइएको थियो । महासंघले असार १३ गते अर्थमन्त्री युवराज खतिवडासँग अन्र्तक्रिया गरी अनिवार्य भ्याट खारेजीको माग राखेको थियो ।
“कर नतिर्ने नियत होइन, हामी करको दायराबाट भाग्न खोजेका छैनौँ”, उनले भने, “भर्खरै खुलेका, थोरै लगानीबाट स्वरोजगार बन्न खोजेको व्यवसायलाई भ्याटमा लानुहुदैन भनेका हौँ, प्यानमार्फत कर तिर्न तयार छौँ ।” उनले वार्षिक २० लाख बढी वार्षिक कारोबार गर्ने टेलरिङ व्यवसायलाई भ्याटमा लैजान सुझाएको बताए । “थ्रेसहोल्ड कायम गरौँ, त्यसका लागि पहल भइरहेको छ”, उनले भने, “अर्थमन्त्री थ्रेसहोल्ड राख्न इच्छुक हुनुभएको थियो, तर अहिलेसम्म कार्यान्वयन हुन सकेन, फेरी छलफल गर्ने योजनामा छौँ ।” महासंघका अध्यक्ष श्रेष्ठले देशभरी कपडा तथा सिलाई व्यवसायी गर्ने करिव २० हजार व्यवसाय रहेको बताए ।
महासंघ प्रदेश–३ का संयोजक बाबुराम छिनालले कर व्यवसायमैत्री हुन नसकेको बताए । “काँचो कपडा तथा कच्चा पदार्थमा अधिक भन्सार लगाइएको छ, तयारी पोशाकमा न्यून छ”, उनले भने, “कपडा किनेर सिलाउनुभन्दा तयारी पोशाक सस्तो पर्छ, जसले सिलाई व्यवसाय विस्तारमा समस्या छ ।” उनले कच्चा पदार्थमा भन्सार दर कम भएमा स्वदेशमै तयारी पोशाक उत्पादन गर्ने वातावरण बन्ने र रोजगारी समेत सृजना हुने बताए । चितवनमा २ सय ५० जना व्यवसायी जिल्ला संघमा आवद्ध छन् ।
महासंघका कोषाध्यक्ष गणेशप्रसाद बरालले सिलाई व्यवसायमा दक्षजनशक्तिको अभाव देखिएको बताए । “भारतदेखि कालिगढ मगाउनुपर्ने अवस्था छ”, उनले भने, “रोजगारीको खोजीमा विदेशिने अवस्था छ, तालिम दिएर यही रोजगारी दिन सके परनिर्भरपनि हट्थ्यो, सरकारले सिलाई सीपका तालिम दिने व्यवस्था गर्नुपर्छ ।”
कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ चितवनका द्वीतिय उपाध्यक्ष चिरञ्जिवी सुवेदीले सिलाई व्यवसायका लागि आवश्यक सीप र प्रविधि विकास गर्न संघ सहकार्य गर्न तयार रहेको बताए । कपडा तथा सिलाई व्यवसायी संघ चितवनका अध्यक्ष प्रेम परियारले सिलाई व्यवसायमा आकर्षण बढाउन स्थानीय सरकारले सीप विकासका कार्यक्रम बनाउनुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट