विद्यार्थीलाई स्कूल जान गाडीकै समस्या:बैशाखभित्र स्कूलबस दिने महानगरको आश्वासन

भरतपुर, २१ पुस
कविलास माध्यमिक विद्यालय भरतपुर महानगरपालिकाको वडा नम्बर २९ को एक मात्र माध्यमिक विद्यालय हो । यहाँ कक्षा १२ सम्म पढाइ हुन्छ । झण्डै ७ सय जना विद्यार्थी रहेको विद्यालयको तथ्यांक छ । विद्यालय राजमार्गसँगै विद्यालय भए पनि यहाँ पढ्न आउने विद्यार्थीको घरचाहिँ विकटमा छ ।
विकट गाउँबाट हिँडेर आउनुपर्ने समस्या त छँदैछ, यहाँ पढ्ने ४० प्रतिशत विद्यार्थी गाडी चढेर आउँछन् । घन्टौं आरोलो झरेपछि राजमार्ग निस्किएपछि झण्डै २० किलोमिटर मोटरबाटो पार गरेर विद्यालय आउनेहरु पनि छन् । तिनले न बिहान राम्रोसँग अघाएर पढ्न आउन पाउँछन्, न बेलुकि घर गएपछि गृहकार्य गर्ने समय ।

तिनै विद्यार्थीको विलौना सुनाए विद्यालयको सोमबार सम्पन्न ५५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा बोल्ने वक्ताहरुले स्थानीय सरकार प्रमुख भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाललाई । “कयौं विद्यार्थी मसँग आएर रुन्छन्”, २९ नम्बर वडाध्यक्ष मनबहादुर मगरले भने, “गाडीले गर्दा ढिला भयो, हामीले पढ्न पाएनौं भनेर ।” बिहानै भोकै आउने विद्यार्थी बेलुकि घर जाने बेलामा पनि अँध्यारो हुँदासम्म गाडीलाई हात दिँदै गरेको भेट्ने गरेको उनले बताए । “तिनलाई देखेर मेरो मन रुन्छ”, उनले भने, “के गर्न सकिन्छ, गरौं ।”
उनले वडाभरिको ठूलो विद्यालयले यस्तो समस्या भोगिरहँदा पनि हेरिरहनुपरेकोमा ग्लानी महसुस भएको बताए । “लौ मेयरसाब केही गर्नुप¥यो”, विद्यालय व्यवस्थापन समितिमा समेत रहेका उनले भने, “यी नानीबाबुलाई गाडी हालिदिनुप¥यो ।” उनले विद्यालयमा विद्युत् वायरिङ र शितलताका लागि फ्यानसमेत नभएको बेला वडा कार्यालयले बजेट दिएको र यसपालि मञ्च निर्माणमा सघाएको पनि स्मरण गरे ।
अर्का वक्ता पूर्व स्थानीय विकासमन्त्री केशवलाल श्रेष्ठले पनि विद्यालयको ठूलो समस्याको रुपमा रहेको विद्यार्थीको सवारीसाधन व्यवस्थामा तत्कालै ध्यान दिन मेयर रेनु दाहालको ध्यानाकर्षण गराए । प्रधानाध्यापक घनकान्त घिमिरेले पेश गरेको वार्षिक प्रतिवेदनमा पनि यस्तै समस्या झेल्नुपरेको उल्लेख छ । “गाडीमा आउनुपर्छ”, उनले प्रतिवेदन प्रस्तुत गर्दै भने, “समयमा गाडी आइदिँदैन, अनि विद्यार्थीलाई ढिला हुन्छ ।” उनले टाढाबाट आउने विद्यार्थीालाई स्कूल बस वा नजिकै छात्राबास व्यवस्था हुनुपर्ने बताए । यही भनाइमा विद्यालयका संस्थापक धनकीलाल गुरुङले पनि जोड दिए ।
जवाफमा प्रमुख अतिथि रेनु दाहालले विद्यालयको समस्या आफूले राम्रोसँग बुझेको भन्दै यसको समाधानमा महानगर लागेको बताइन् । “यही समस्या बुझेर महानगरले ३ वटा स्कूल बस किन्ने प्रक्रिया अघि बढाएको छ”, उनले भनिन्, “तपाईंहरुलाई आगामी बैशाख पहिलो सातासम्म एउटा स्कूल बस आइसक्छ, ढुक्क हुनुस् ।” उनले कविलासजस्तो समस्या भएको विद्यालयमा शैक्षिक तथा भौतिक विकासका लागि महानगरले आफ्नो बजेटमा राम्रो बजेट व्यवस्था गरेको बताइन् । “केही समस्या भए भन्नोस्”, उनले भनिन्, “के गर्न सकिन्छ, हामी सहयोग गर्नेछौं ।”
नगर शिक्षा अधिकारी सीताराम कोइरालाले आगामी शैक्षिक वर्षमा यहाँ १ हजार विद्यार्थी पुग्ने र विद्यालयमा सुविधा पनि बढ्ने बताए । “त्यसका लागि तयार हुनुहोस्”, उनले भने, “धेरै कम विद्यार्थी भएका विद्यालय मर्ज गरिनेछ ।”
२०२२ सालमा स्थापना भएको विद्यालयले सोमबार ५५ औं वार्षिकोत्सव मनाएको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विकास गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा पूर्व अध्यक्ष टेकबहादुर गुरुङ, इन्द्रेणी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष क्याप्टेन सूर्यबहादुर गुरुङ, छात्रवृत्ति अक्षयकोष संस्थापक रामबहादुर भुजेल, शिक्षक प्रतिनिधि नवराज पोखरेल, विद्यार्थी विनिता तामाङलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा वर्षभरि गरिएका अतिरिक्त क्रियाकलाप तथा वार्षिकोत्सव खेलकुद कार्यक्रम एवं शैक्षिक गतिविधिका सर्वोत्कृष्ट विद्यार्थी तथा उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षकहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट