उवासंघ चितवन अधिवेशन:अध्यक्षमा ज्ञानेन्द्रमान शाक्यको उम्मेद्वारी

गोलाप्रथाको उम्मेद्वारीले झन् बढ्यो राजनीति

राजेश घिमिरे
भरतपुर, २१ पुस
चितवनका पुराना व्यवसायी ज्ञानेन्द्रमान शाक्यले उद्योग वाणिज्य संघ(उवासंघ)–चितवनको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन् । उद्योग वाणिज्य संघमा गोलाप्रथाबाट उम्मेद्वार छनोट गरिएको विरोधमा उम्मेद्वारी दिन लागेको शाक्यले बताए ।
संघका पूर्व अध्यक्षहरुले गोलाप्रथाबाट आगामी दुई कार्यकालका लागि अध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदको उमेद्वारको टुंगो लगाएका थिए । आगामी कार्यकालका लागि अध्यक्षमा राजु श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ तथा त्यसपछिको कार्यकालमा अध्यक्षमा चुननारायण श्रेष्ठलाई उमेद्वार बनाउने निर्णय गरिएको थियो ।
उक्त निर्णयको विरोधमा व्यवसायीहरुले विभिन्न पदमा उम्मेद्वारी घोषणा गर्न थालेका छन् । शाक्यले उक्त निर्णयलाई अवैध भन्दै निर्णय गर्नेहरुलाई सवक सिकाउन आफूले उम्मेद्वारी दिन लागेको बताए । “हजारौं सदस्यहरुलाई भोट हालेर उपयुक्त उमेद्वार छनोटगर्ने अधिकारबाट बञ्चित गर्नेगरी निर्णय गरिएको छ”, उनले भने, “केही व्यक्तिको स्वार्थका लागि संघको गरिमा घटाउन पाइदैन ।” उनले आफूले उमेद्वारको नभई प्रणालीको विरोध गरेको बताए ।
संघका निवर्तमान अध्यक्ष राजन गौतमले उम्मेद्वारीमा सहमति गलत नभएपनि गोलाप्रथाबाट उमेद्वार तोक्नु सही नभएको बताए । संघमा राजनीतिक गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर सहमति गरिएको हुनसक्ने उनले बताए ।
शाक्यले आज(मंगलबार) सम्ममा प्यानल नै घोषणा गर्ने तयारी भइरहेको बताए । उनले उद्योगी, साना तथा ठूला व्यवसायीहरुको हितको रक्षा गर्नका लागि आफ्नो उम्मेद्वारी रहेको बताए । संघको नेतृत्वमा रहेर व्यवसायीहरुलाई परेका नीतिगत समस्या, करका जटिलताहरुको समाधान गर्नुका साथै समग्र जिल्लाको आर्थिक गतिविधिलाई मजबुद बनाउन भूमिका खेल्ने उनले बताए ।
शाक्य देशमै प्रसिद्ध सुन–चाँदी व्यवसायी हुन् । शाक्यले ६ कार्यकाल उद्योग वाणिज्य संघ चितवनको सदस्य भएर काम गरे । २०६७÷०६८ मा संघको अध्यक्षमा उम्मेद्वारी दिएका उनी डा.तिलचन्द्र भट्टराईसँग झिनो मतअन्तरले पराजित भएका थिए । अहिले उनी संघको विशिष्ठ सदस्य हुन् ।
नारायणगढमा रहेको उनको लोकमान एण्ड सन्स सुनचाँदीको पसल जिल्लाकै पुरानो सुनचाँदी पसलहरु मध्येको हो । उनका बुबा लोकमान शाक्यले २०२१ सालमा नारायणगढमा सुनचाँदी व्यवसाय सुरु गरेका थिए । उनले २०५५ सालबाट १३ वर्षसम्म नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको अध्यक्ष भएर काम गरे । संघको केन्द्रीय उपाध्यक्ष पनि भइसकेका शाक्य सुनचाँदी व्यवसायका अलावा होटल, औषधी उत्पादन, अस्पताललगायतका व्यवसायमा पनि सकृय छन् ।
शाक्य विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरुमा पनि सकृय छन् । उनी लायन्स क्लव अफ चित्रवनका अध्यक्ष हुन् । साथै चितवन रोटरी क्लवको अध्यक्षको लाइनमा छन् । उनी नेवा पुचः नारायणगढका अध्यक्ष हुन् ।

गोलाप्रथाको उम्मेद्वारीले झन् बढ्यो राजनीति

गोलाप्रथाबाट उम्मेद्वारी घोषणा गरिएपछि नेपाली कांग्रेसले विज्ञप्तीनै जारी गरेर बिरोध गरेको थियो । अध्यक्षको उमेद्वार बनाइएका राजु श्रेष्ठ नेकपा निकटका व्यवसायी भएका कारण नेपाली काग्रेसले उक्त सहमतिलाई मानेको छैन ।
संघमा आवद्ध कांग्रेस निकटका व्यवसायीहरुले यसको बिरोध गर्दै आएका छन् । स्रोतका अनुसार नेपाली कांग्रेसले संघका आफूनिकटका सदस्यहरुको भेला नै राखेको थियो । उक्त भेलामा सहभागि व्यवसायीहरुले संघले तोकेको उमेद्वारलाई सहयोग नगर्ने निर्णय गरेका थिए । वरिष्ठ उपाध्यक्षका उमेद्वार तोकिएका चुननारायण श्रेष्ठ नेपाली कांग्रेस निकटका भएपनि उनको बिरुद्धमा पनि उमेद्वार खडागर्नेगरी तयारी भएको एक व्यवसायीले बताए । “गोलाप्रथाबाट तोकिएका चुननारायण श्रेष्ठलाई हामी स्वीकार्न सक्दैनौं”, उनले भने, “हामी उक्त प्रकृयाको बिरोधमा भएकाले छुट्टै उम्मेद्वारी दिन्छौं ।” स्रोतले भन्यो, “यसपटक नेपाली कांग्रेसका उमेद्वारलाई सघाउने सहमतिमा अघिल्लो पटकको चुनावमा सहनलाल प्रधानलाई मत दिइएको थियो । यसलाई भुलेर फेरी पनि नेकपाकै उमेद्वार उठाइएकोमा पनि हाम्रो बिरोध छ ।”
संघको अधिवेशनमा राजनीति हावी हुन थालेको भन्दै उम्मेद्वारीमा सहमति गरेको भनिएपनि राजनीतिक दलहरुको सकृयता उक्त सहमति पछि बढी देखिन थालेको छ । अध्यक्षमा उम्मेद्वारी दिएका ज्ञानेन्द्रमान शाक्य नेपाली कांग्रेस निकटका व्यवसायी हुन् । यसअघि उम्मेद्वारी घोषणा गरेका विष्णुप्रसाद कँडेलले समेत शाक्यलाई अध्यक्षमा समर्थन गर्ने संभावना छ । कँडेल पनि नेपाली कांग्रेस निकट हुन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट