विनातयारीको पर्यटन वर्ष:औपचारिकता पूरा गर्दै महानगर

राजेश घिमिरे
भरतपुर, १६ पुस
पर्यटक अकर्षणका लागि पर्यटन वर्षमा उद्घाटन गर्ने लक्ष्य राखिएको भरतपुरको ‘महानगर स्तम्भ’को बल्ल शिलान्यास भएको छ । नारायणी नदीको किनारमा आकर्षक बाघको मूर्तिसहितको पार्क निर्माण गरेर नयाँ वर्ष २०२० को सुरुआतदेखि नै पर्यटकको ध्यान तान्ने तयारीका साथ यो योजना अघि सारिएको थियो ।
नारायणी नदीको पानी तानेर बाघको मुखबाट फालेजस्तो देखिने गरी निर्माण गर्ने तयारी गरिएको यो स्तम्भ कहिले तयार हुने टुंगो छैन । महानगरपालिकाका पर्यटनविज्ञ विश्व सुवेदीका अनुसार सुरुआतमा सामान्य स्तम्भ निर्माण गर्ने भनेर महानगरपालिकाले १५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । “पछि योजना परिमार्जन भएर पार्कसहितको आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने तय भयो”, उनले भने, “योजनामा परिवर्तन भएपछि स्रोतको अभावका कारण निर्माणमा ढिलाइ हुन पुग्यो ।” सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने उक्त स्तम्भ निर्माण गर्न तत्कालका लागि महानगरपालिकाले पुरक बजेटमार्फत रकम ५० लाख रुपैयाँ पु¥याएको छ । यसलाई ५० प्रतिशत मानेर थप ५० प्रतिशत निजी क्षेत्रले लगानी गर्नेछ ।
योजना अनुरुपको पार्क निर्माण गर्न ३ करोड रुपैयाँ बजेट आवश्यक पर्ने सुवेदीले बताए । पर्यटन वर्षमा पर्यटकको ध्यानाकर्षण गराउने लक्ष्यले निर्माण गर्न लागिएको उक्त स्तम्भ पर्यटन वर्षभित्रैमा निर्माण हुनेमा सरोकारवाला नै विश्वस्त छैनन् ।
महानगरपालिकाले पर्यटन वर्षलाई लक्षित गरेर २९ वटा पर्यटकीय गन्तव्यहरु घोषणा गर्दै यसको प्रवद्र्धनका लागि ३५ लाख रुपैयाँ बजेट छुट्याएको छ । यो बजेट ती गन्तव्यहरुको प्रचारका लागि ब्रोसर निर्माण गर्न, पर्यटन वर्षका लागि तय गरिएका औपचारिक गतिविधिहरु गर्न, गोष्ठी तथा सेमिनारहरु आयोजनागर्नमा खर्च हुने सुवेदीले बताए ।
चालू आर्थिक वर्षका लागि भरतपुर महानगरपालिकाले पर्यटन क्षेत्रमा करिब २ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको पर्यटन शाखा प्रमुख सुभद्रा पुडासैनीले बताइन् । यसको सबैभन्दा ठूलो हिस्सा धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण तथा सम्वद्र्धनमा खर्च गर्ने लक्ष्य छ । चालू वर्षका लागि छुट्याइएको बजेटमार्फत तय गरिएका योजनाले यसवर्ष पर्यटक भित्र्याउन खासै भूमिका खेल्ने देखिँदैन ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको केन्द्र भरतपुर महानगरपालिकाले पर्यटकलाई प्रभावित पार्ने महत्वपूर्ण कामहरुमै ध्यान दिन नसक्दा पर्यटन वर्ष प्रभावहीन बन्ने सम्भावना बढी देखिएको व्यवसायीहरु बताउँछन् ।

सार्वजनिक शौचालयको अवस्था

पर्यटन वर्षको लक्ष्य बाह्य पर्यटकको संख्या बढाउने मात्रै होइन । उनीहरुलाई यहाँको वातावरणले प्रभावित बनाएर राम्रो सन्देश प्रवाह गर्नु मुख्य उद्देश्य हो । तर, भरतपुर महानगरपालिकाभित्र सार्वजनिक शौचालय निकै कम छन् । भएकाको अवस्था पनि दयानीय छ । अधिकांश सार्वजनिक शौचालय प्रयोग गर्नै नसकिने अवस्थामा पुगेका छन् । महानगरपालिकामा अहिले करिब एक दर्जन सार्वजनिक शौचालयहरु छन् । केही दिन अघि सार्वजनिक गरिएको पुरक बजेटमार्फत महानगरपालिकाले तीन स्थानमा स्मार्ट शौचालय निर्माण गर्ने तय गरेको छ । तर पर्यटन वर्षको अवसरमा यहाँ घुम्न आउने पर्यटकले यसको प्रयोग गर्न पाउने सम्भावना न्यून छ ।

फोहोर व्यवस्थापन

फोहोर व्यवस्थापन महानगरको अर्को समस्या हो । सडक क्षेत्रमा जथाभावी फालिने फोहोरको व्यवस्थापन समयमै नहुँदा यसको नकरात्मक सन्देश पर्यटकहरुमार्फत जाने देखिन्छ । भरतपुर महानगरपालिकाले राजमार्ग तथा बजार क्षेत्रमा फालिएका फोहोर फाल्ने गरेको त छ । तर, यो नियमित छैन । साथै पर्यटकीय गन्तव्यमा देखिएको फोहोर व्यवस्थापनको समस्या अझ ठूलो छ । प्रायः ठाउँमा प्रयोग गरिएका प्लास्टिकजन्य फोहर जथाभावी फाल्ने संस्कृतिको विकास भइरहेका कारण यसले सम्बन्धित पर्यटकीय क्षेत्रको सुन्दरतामा आँच आउने गरेको छ । केही सामाजिक संस्थाहरुले समय–समयमा फोहर हटाउने काम गर्दै आए पनि महानगरपालिका यस विषयमा उदाशीन देखिन्छ ।

ट्राफिक व्यवस्थापनमा समस्या

बढ्दो जनघनत्वका कारण चितवनमा सवारीसाधनको संख्या बढ्दो छ । पूर्व–पश्चिम राजमार्ग नै मुख्य बजारमा पर्ने भएका कारण ट्राफिक व्यवस्थापन चूनौतीपूर्ण बन्दै गएको छ । साना सवारीसाधनको चाप अत्यधिक हुँदा सवारी दुर्घटनाको जोखिम पनि बढ्दो छ । सडकमा आवश्यकताअनुसार ट्राफिक लाइट, जेब्राक्रसिङ, डिभाइडरलगायतको व्यवस्था नगरिदा दुर्घटनाको भय देखिन्छ । महत्वपूर्ण कुरो त सवारीसाधनको संख्या अत्यधिक हुँदै जाँदा पनि यात्रुलाई भने गन्तव्यमा पुग्नका लागि समयमै सवारी साधन पाउन मुस्किल छ । २९ वटा पर्यटकीय गन्तव्य तोकिए पनि ती गन्तव्यमा सहजरुपमा पुग्न सक्ने अवस्था छैन । साँझपछि यात्रुवाहक सवारीसाधन भेट्टाउनै मुस्किल पर्ने अवस्थाले पर्यटकलाई सास्ती दिनेछ ।

पार्किङको अभाव

बढ्दो सवारी चापसँगै पार्किङको समस्या विकराल बन्दै गएको छ । मुख्य बजार क्षेत्र साँघुरिदै गएको छ । यहाँ किनमेलका लागि आउनेहरुलाई सवारीसाधन कहाँ थन्काउने भन्ने अन्यौल हुन्छ । सडक पेटीमा राख्न नपाइने र राख्ने ठाउँ नभेटिने समस्याले सर्वसाधारणलाई सास्ती हुने गरेको छ ।

समन्वयको कमी

महानगरपालिकाले पर्यटन विकासका लागि सरोकारवालासँग समन्वय गर्नै सकेको छैन । पर्यटकको आवागम बढी हुने होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुसँग महानगरपालिको सहकार्य निकै कम छ । पर्यटन वर्षको अवसरमा के कति छुट उपलब्ध गराउने भन्ने विषयमा महानगरपालिकाले समन्वय नगर्दा औपचारिक निर्णय हुनै नसकेको होटल व्यवसायीहरु बताउँछन् ।
पर्यटकहरुलाई स्वागत गर्ने मुख्यद्वारमै देखिने यस्ता समस्याले पर्यटकहरु बसाई छोट्याउन बाध्य हुनेछन् । महानगरपालिकाको चासो पर्यटकको सहजता र दीर्घकालीनरुपमा पर्यटन प्रवद्र्धनमा भन्दा पनि सरकारले तय गरेको पर्यटन वर्षको कार्यक्रममा औपचारिक सहभागित देखाउनेमा केन्द्रित देखिन्छ ।

पर्यटनमा महानगरका योजना/बजेट
–धार्मिक तथा साँस्कृतिक सम्पदा संरक्षण तथा सम्वद्र्धन–८७ लाख ५० हजार
–पार्क निर्माण–६३ लाख
–पर्यटन क्षेत्रको गुरुयोजना निर्माण–१८ लाख
–अम्रेला स्ट्रीट निर्माण–२५ लाख
–संग्रहालय–१७ लाख
–होमस्टे निर्माण तथा सञ्चालन–१७ लाख
–संस्कृति प्रवद्र्धन–९ लाख
–जल पर्यटन विकास–८ लाख ७५ हजार
–वृत्तचित्र निर्माण–५ लाख
–सूचना डेस्क–५ लाख
–तालिम, गोष्ठी, सेमिनार–९ लाख

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट