राजेश घिमिरे
भरतपुर, १५ पुस
उद्योग वाणिज्य संघ(उवासंघ)–चितवनको आगामी नेतृत्वका आकांक्षीहरु मतदाता समक्ष पुग्न थालेका छन् । पुस २८ र २९ गते उवासंघ चितवनको ५३ औं साधारणसभा तथा अधिवेशन हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा नेतृत्वका आकांक्षीहरु व्यवसायीको घर–घरमा पुग्न थालेका छन् । नेतृत्वका दावेदारहरु आफ्नो प्यानलका संभावित उमेद्वारलाई साथमा लिएर मतदाता समक्ष पुगिरहेका छन् । उवासंघको नेतृत्वका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ र पूर्व वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ मैदानमा देखिएका छन् । वर्तमान कार्यसमितिमै रहेका कारण चुननारायण श्रेष्ठ संस्थापन समूहका उमेद्वार पनि हुन् । राजु श्रेष्ठ अघिल्लो पटक अध्यक्ष पदको निर्वाचनमा सहनलाल प्रधानसँग पराजित भएका थिए । अध्यक्ष पदमा उमेद्वारीको चर्चामा रहेका संघका पूर्व उपाध्यक्ष विष्णु कंडेलले भने संस्थापन पक्षले वरिष्ठ उपाध्यक्ष पद दिए अध्यक्षमा उमेद्वारी नदिने मनशाय राखेका छन् । यस विषयमा संस्थापन प्यानलमा छलफल चलिरहेको छ ।
संस्थापन प्यानलका उमेद्वार भनिएका चुननारायण श्रेष्ठले करिब २० वर्ष देखि प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संघमा कृयाशिल रहँदै आएको र सदस्य, उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष हुँदै आएका कारण अब अध्यक्ष पदका लागि दाबेदारी प्रस्तुत गरेको बताए । उनले आफूलाई अध्यक्ष बनाउन पूर्व अध्यक्षहरु, बस्तुगत समिति तथा सदस्यहरु तयार रहेको दाबी गरे । अर्का उमेद्वार राजु श्रेष्ठले पनि महानगरको आर्थिक विकासका लागि आफ्नो उमेद्वारी रहेको भन्दै सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
चुननारायण श्रेष्ठ
योजना
–समग्र चितवनको विकासको आर्थिक योजना तयार पारेर अघि बढ्ने
–समयानुकूल ऐन, नीति परिमार्जनका लागि पहल गर्ने
–बजारको विकास तथा व्यवस्थापन
–आर्थिक हव, स्वास्थ्य नगरी, शिक्षा र पर्यटन विकास
–नारायणी नदीको किनार व्यवस्थापन
–व्यवसायीका लागि राहत कोष निर्माण
–व्यवसायीका नीतिगत अन्यौलताको समाधान
राजु श्रेष्ठ
योजना
–व्यवसायीको हक, हीत प्रवद्र्धन तथा विकास
–नारायणगढमा स्टेडियम निर्माण
–नारायणी नदीको किनार व्यवस्थापन
–मेनरोड सडकको समस्या समाधान
–लायन्सचोक–सहिदचोक–पुल्चोक पार्किङ समस्या समाधान
–महानगरपालिकासँगको समन्वयमा वृद्धि
संघका अध्यक्ष सहनलाल प्रधानले उवासंघको नेतृत्वका सामू ठूलो जिम्मेवारी हुने भएकाले मतदाताले योग्य उमेद्वार रोज्ने बताए । उनले आफ्नो कार्यकालमा भरतपुर महानगरपालिका सँग भएको व्यवसायिक कर सम्झौताको नविकरण गरेर यसको पाँच प्रतिशत हिस्सा संघले पाउन थालेको बताए । २०६२ सालमै सम्झौता भएपनि सम्झौता नविकरण हुन सकिरहेको थिएन । साथै, प्राकृतिक विपत्तिका घटनामा परेका व्यवसायीहरुलाई राहत दिन राहत कोष स्थापना गरिएको, नारायणगढ क्षेत्रको फुटपाथको समस्या समाधान गरेको बताए । साथै आफ्नो कार्यकालमा उवासंघका सम्पूर्ण सदस्यहरुलाई पुरानो मेडिकल कलेजमा उपचारका लागि ५ देखि १५ प्रतिशत सम्म छुटको व्यवस्था मिलाएको उनले बताए ।
प्रचारमा राजनीति हावी
अधिवेशनको प्रचारमा यसपाली राजनीति हावी बनेको गुनासो व्यवसायीहरुले गरेका छन् । संघको नेतृत्वका आकांक्षीहरु राजनीतिक बिचारधाराका आधारमा आफू नजिकका व्यवसायीहरु समक्ष पुग्ने गरेका छन् । अध्यक्षका उमेद्वार चुननारायण नेपाली काँग्रेस निकट मानिन्छन् भने राजु नेकपा निकट मानिन्छन् । व्यवसायीहरुले उमेद्वारहरु राजनीतिक बिचारधाराका आधारमा मत माग्दै हिडेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका छन् । नेतृत्वका उमेद्वारहरुले राजनीतिक दलको बैठक तथा कार्यक्रममा सहभागि भएर मत मागेको भन्दै उनीहरुले संघमा यसपाली विगतमा भन्दा बढी राजनीतिक हावी भएको गुनासो पोखेका छन् ।
संघका अध्यक्ष सहनलाल प्रधानले व्यवासायीहरुको छाता संस्थाको निर्वाचनमा राजनीति हावी भएको सुन्दा दुःख भएको बताए । “मैले पनि राजनीतिक दल हावी भइरहेको भन्ने सुनेको छु”, प्रधानले भने, “विशुद्ध गैरराजनीतिक संस्थालाई राजनीतिक दललाई प्रवेश गराउनु गलत हो । यसो नगर्न म आग्रह गर्दछु ।”
अध्यक्ष पदका दाबेदार चुननारायण श्रेष्ठले उवासंघमा राजनीति हावी हुन नहुनेमा सचेत रहेको दाबी गरे । “केही व्यक्ति विशेषले संस्थालाई बदनाम गर्न राजनीतिको चर्चा गरेको हुन सक्छ”, उनले भने, “विशुद्ध व्यवसायिक संस्थामा राजनीति गरिनु घातक हुन्छ ।” अध्यक्ष पदका अर्का दाबेदार राजु श्रेष्ठले पनि आफू उवासंघको निर्वाचनमा राजनीतिक हस्तक्षेप हुनुहुँदैन भन्नेमा पक्षमा सदैव रहँदै आएको दाबी गरे ।
उवासंघका यस अघिका निर्वाचनमा पनि कहिं न कहिं राजनीतिक पार्टीको भूमिका देखिने गरेको थियो । पुरै देश नै राजनीतिकरुपमा धुव्रीकृत भइरहँदा यसको असर सामाजिक तथा व्यवसायक संस्थाहरुमा समेत पर्दै गएको छ ।