शिक्षकहरुलाई मुख्यमन्त्रीको निर्देशन:विद्यालय हाताभित्र राजनीति नगर्नु

भरतपुर, २५ मंसिर
प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले विद्यालय हाताभित्र राजनीति नगर्न ध्यानाकर्षण गराएका छन् । बालकुमारी मावि नारायणगढको स्थापनाको ५४ औँ वर्षमा आयोजित स्वर्ण महोत्सवको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले भने, “अनावश्यक राजनीति गरेर विद्यालयको पढाई नोक्सान गर्नुहुँदैन ।”


उनले शिक्षक संगठन निर्माणका क्रममा ठूलो योगदान तथा बलिदानी गरिएको भएपनि राजनीतिमा मात्रै सिमित हुन नहुने बताए । “राजनीति गर्न संगठन निर्माण भएको होइन, विद्यालय कसरी राम्रो बनाउने, गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने अर्थमा संगठनको काम हुनुपर्छ”, उनले भने, “विद्यालयहरुमा अहिले व्यापक राजनीतिकरण भएको छ, शिक्षकहरु शिक्षकभन्दा बढी राजनीतिकर्मीका रुपमा स्थापित हुँदै गइरहेको अवस्था छ ।”
उनले शिक्षा क्षेत्रमा सुधार गर्न जरुरी देखिएको औल्याए । “विद्यालयहरु सबै पढाउने मात्रै भए, सिकाउने भएनन्”, उनले भने, “पास भएपछि कुनै न कुनै विषयमा सीप र सिकाई भएको जनशक्ति तयार गर्नुपर्छ ।” उनले विद्यालयलाई अब सिकाउने ठाउँका रुपमा विकास गर्नुपर्ने बताए । उनले अब प्राविधिक धारको शिक्षालाई विकास गरिने बताए । हरेक स्थानीय तहमा कम्तिमा एक प्राविधिक विद्यालय बनाउने नीति कार्यान्वयन चरणमा रहेको बताए । “अहिले १० प्रतिशत प्राविधिक धारको पढाई भएको अवस्था छ, अब ९० प्रतिशतमा पु¥याउने लक्ष्य लिएका छौँ”, उनले भने, “तबमात्र राजनीतिक उद्देश्य पुरा हुन्छ ।”
मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालय सवलीकरण कार्यक्रम सुरु गरेको जानकारी दिए । “२५ लाख, ३० लाखका अनुदानका कार्यक्रम छन्, लाइब्रेरी, प्रयोगशाला, प्रविधिमार्फत पढाउनका लागि योजना बनाइएको छ ।” स्रोतसाधनको व्यवस्था प्रदेश सरकारले गरेको बताएको छ । विद्यालय नर्स कार्यक्रमले विद्यार्थी आकर्षण बढाउन सघाएको बताए । उनले प्रदेश सरकारको इतिहास २ वर्षको मात्रै भएकाले विगतका स्थानीय निकाय र केन्द्र सरकारसँग तुलना गरेर काम गरेनन् भन्नु गलत हुने तर्क गरे । “हामी बल्ल २ वर्षको भएका छौँ, अहिले तुलना गर्ने बेलै भएको छैन”, उनले भने, “१३ जिल्लाभित्र प्रदेशका थुप्रै योजना छन्, सबैमा उपस्थिति भएको छ, विकास र निर्माणका काम देखिने गरि हुँदैछन् ।”
रत्न पदक र प्रतिभा पुरस्कार वितरण
बालकुमारी माविले स्वर्ण महोत्सवको अवसरमा रत्नपदक, प्रतिभा पुरस्कार वितरण गरेको छ । बालकुमारी माविमा करिव ३० वर्ष शिक्षण गरेका पूर्व प्रधानाध्यापक कृष्णराज हमाललाई रत्नपदकले सम्मान गरेको छ । हमाल प्रधानाध्यापक भएका बेला तीन वर्ष लगातार विद्यालयले एसएलसी नतिजमा देशभरीनै चर्चा पाएको थियो । २०३२ को पहिलो एसएलसी व्याचमा नेपाल प्रथम भएका इञ्जिनियर सुनिलरत्न कंसाकार, २०३३ सालमा नेपाल चतुर्थ भएका डा. श्यामकुमार श्रेष्ठ, २०३४ सालमा नेपाल द्वीतिय भएका इञ्जिनियर द्वारिका श्रेष्ठलाई रत्नपदकले सम्मान गरेको छ । यस्तै ३० वर्ष विद्यालय व्यवस्थापन समितिको अधयक्ष बनेका जवाहरलाल श्रेष्ठलाई रत्नपदकले सम्मान गरेको छ । पदक मुख्यमन्त्री डोरमणी पौडेलले हस्तान्तरण गरे ।
यस्तै प्रतिभा पुरस्कार पाउनेहरुमा भरतपुर महानगरपालिकामा कार्यरत बरिष्ठ इञ्जिनियर भरतकुमार आचार्य, क्यानडा सरकारका धेरै आयोजनमा काम गरेका बरिष्ठ सिभिल इञ्जिनियर मोहनाथ आचार्य, बरिष्ठ हाडजोर्नी तथा नसा रोग विशेषज्ञ प्रा.डा. अर्जुन श्रेष्ठ, जलस्रोत विज्ञ ज्ञानेन्द्रलाल प्रधान, समाजसेवी उमाशंकर अग्रवाल छन् । यस्तै विद्यालयको शैक्षिक गुणस्तर विकासमा योगदान गर्ने १६ जनालाई मरणोपरान्त सम्मान गरेको छ । पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, भवन निर्माण समिति, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व कर्मचारीलाई सम्मान गरिएको थियो ।
पूर्वविद्यार्थीद्वारा आर्थिक सहयोग
बालकुमारी माविमा पढेका पूर्वविद्यार्थीले शैक्षिक कोषमा आर्थिक सहयोग गरेका छन् । बुधबार बालकुमारी मावि पढेर बालकुमारी कलेजमा पढेका पूव विद्यार्थीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् । यस्तै २०५० सालको व्याचका विद्यार्थीले १ लाख, २०४९ सालको व्याचका विद्यार्थीले समेत आर्थिक सहयोग गरेका छन् । कार्यक्रम स्वर्ण महोत्सवका संयोजक देशीराम प्रधानको अध्यक्षतामा भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट