राजेश घिमिरे
गैडाकोट, २५ मंसिर
गतवर्ष फौजी किराका कारण उत्पादन घटेपछि गैडाकोट–६ गैरीकाका चन्द्र सापकोटाले यसपाली मकै नै लगाएनन् । ७ कट्ठा जमिनमा मकै लगाउँदै आएका सापकोटाले यसपाली राजमा, सिमी लगाएका छन् ।
विगतमा एक कट्ठामा ७ क्वीन्टल सम्म मकै उत्पादन भएको उनी सुनाउँछन् । “क्वीन्टलको तीन हजार रुपैयाँमा बिक्री पनि भयो”, उनले भने, “पोहोर फौजी किराले उत्पादन निकै कम भएपछि यसपाली अरु बाली लगाइयो ।”

नवलपुरको गैडाकोट मकै बाली राम्रो हुने ठाउँ हो । गैडाकोट नगरपालिकाका अनुसार यहाँ बेसिजनमा पनि करिब ७० विघा जमिनमा मकै खेती हुने गरेको छ । नगरपालिकाले नगरका विभिन्न ठाउँलाई मकै पकेट क्षेत्र घोषणा गरेर अनुदानका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ । पकेट क्षेत्रमा १ सय ५० विघा क्षेत्रफलमा मकै खेती गरिन्छ । यहाँ स्थानीयका अलावा अन्यत्रका व्यवसायीहरुले जग्गा भाडामा लिएर पनि मकै खेती गर्ने गरेका छन् । कतिपयले त वर्षमा तीन बाली मकै पनि लगाउने गरेका छन् । उनीहरुका लागि अहिले फौजी किराको प्रकोप ठूलो समस्याको रुपमा खडा भएको छ ।
स्थानीय युवा नारायण पौडेलले यस वर्षबाट मकै खेती सुरु गरेका थिए । “पहिलो गासमै ढुंगा भनेजस्तो भयो”, उनले भने, “खर्च उठाउन पनि सकिँदैन जस्तो छ ।” उनले स्थानीय एग्रो फर्मको सल्लाह लिएर मकैमा विषादी छरिरहेका छन् । तैपनि किरा घटेको छैन ।
गैडाकोट–६ का भोजबहादुर राईले खेतमा मकै लगाएको एक महिना एक हप्ता भयो । यो अबधिमा उनले मकैमा ५ पटक विषादी छरिसके । “मेरो खेतमा पोहोर उत्पादन राम्रो थियो । किराको असर थिएन”, उनले भने, “यसपाली त बर्बादै होला जस्तो छ ।” उनले करिब १० कट्ठा जमिनमा मकै लगाएका छन् ।
भूमीसरा ढकालले गत वर्ष ७ हजार खर्च गरेर लगाएको मकैले १८ हजार रुपैयाँको आम्दानी दिएको थियो । “यसपाली त खर्च मात्रै १८ हजार पुग्न लाग्यो”, उनले भनिन्, “खेती गरेर खाने दिन गए जस्तो लागेको छ ।” गत वर्षबाटै मकैमा किराको असर देखिन थालेपछि यसपाली उनले आधा भन्दा बढी जमिनमा तोरी खेती गरेकी छन् ।
मकैमा फौजी किरासँगै गबारोको असर पनि उत्तिकै छ । गबारोले मकैको विरुवा सुक्ने, ओइलाउने समस्या देखिएको किसान जसबहादुर राईले बताए । “मेरोमा फौजी किरा देखिएन तर गबारोले मकै बिगार्न थालेको छ”, उनले भने, “विषादी छरेर ठीक हुन्छ कि भनेर लागिपर्दै छु ।
कृषि विज्ञका अनुसार गैडाकोट क्षेत्रमा लगाइएको मकैमा देखिएको किरा अमेरिकन फौजी किरा हो । नेपालमा यो फौजी किरा गत वर्षको वैशाख १६ गते पहिलो पटक गैडाकोटमै पहिचान गरिएको थियो । राष्ट्रिय मकैबाली अनुशन्धान कार्यक्रमका घनश्याम भण्डारीका अनुसार सन् २०१६ मा यो अमेरिकाबाट अफ्रिकाको नाइजेरियाहुँदै वर्ष दिनभित्र ४० भन्दा बढी देशमा यो किरा फैलिएको थियो । भारतभर फैलिएपछि बंगलादेश, पाकिस्तान, म्यानमार, भियतनाम, जापान, थाइल्याण्ड, चीन हु“दै फौजी किरा नेपाल आएको उनी बताउँछन् । उनका अनुसार अहिले मकै लगाइने तराइका तमाम जिल्लामा यसले क्षति प¥याइरहेको छ ।
अहिले सिन्धुपाल्चोक, काभ्रे, दोलखा, पा“चथर हु“दै पुर्वका थुप्रै पहाडी जिल्लामा यसले नोक्सान गरेको छ । पश्चिमतर्फ पनि यसको असर बढ्दै छ । “यो किराको पुतलीले हावाको बहाव उसको अनुकुल हुँदा खण्डमा एक दिनमै सय किलोमिटर उडान गर्न सक्छ । उमेर १४ देखि २२÷२३ दिनको हुन्छ । यो अवधिमा १५ सयदेखि दुई हजार किलो मिटर उड्न सक्छ”, उनले भने, “त्यसैले यो किरा जहा“ सुकै फैलन सक्छ ।”
चितवनमा यस वर्ष धानमा पनि फौजी किराको प्रकोप देखिएको थियो । मकैमा देखिएको किरा अन्य किराभन्दा हानिकारक रहेको उनले बताए । यसले ८० भन्दा बढी विभिन्न बालीहरुमा नोक्सान गर्दछ । मकै छरेको १० दिनभित्रै यसले आक्रमण सुरु गर्दछ । कुनै व्यवस्थापन नगरेमा यो किराबाट ८० देखि शत प्रतिशतसम्म बाली नोक्सान हुन्छ । घोगामा लागेको मकैको दानासमेत खाएर नोक्सान गर्दछ ।
राष्ट्रिय मकैबाली अनुशन्धान कार्यक्रमले फौजी किराको व्यवस्थापनका लागि तयारी गरिरहेको उनले बताए । किराको पोथीले भाले लाग्ने बेलामा फाल्ने गन्ध(फेरोमेन) बैज्ञानिकहरुले प्रयोगशालामा तयार पारेको भन्दै उनले त्यो ल्याएर यहा“ ठाउ“–ठाउ“मा राखेर परीक्षण गरिएको बताए । “त्यो किरा कहिले आउ“छ भनेर अनुगमन गर्न त्यो फेरोमेन अर्थात मोहनी पासो राखेका छौं”, उनले भने, “जसबाट कुन सयममा त्यो किराको आवागमन बढी हुन्छ भन्ने थाहा पाइन्छ ।” यसका अलावा सुरक्षित खालका विषादीको प्रभाव पनि हेरिरहेको उनले बताए । यसको दीर्घकालीन व्यवस्थापनका लागि किराहरुकै प्रयोग गरेर किराकै नियन्त्रण गर्नेतर्फ पनि अघि बढिरहेको उनले बताए ।
मकै लगाउने मुख्य सिजन अब सुरु हुँदैछ । व्यवस्थापनको उचित योजना बन्न सकेन भने यो सिजनमा अवस्था जटिल बन्ने देखिन्छ । नेपालमा ९० हजार हेक्टर जमिनमा मकै खेती हुन्छ । ७० प्रतिशत मकै खेती मध्य पहाडी क्षेत्रमा हुन्छ । यो क्षेत्रमा फागुनदेखि जेठसम्म मकै छर्ने चलन छ ।





