भरतपुर, २४ मंसिर
नियुक्तिपत्र बोकेर विद्यालय धाउन थालेका अपाङ्गता भएका एक शिक्षकले २४ औं दिनमा हाजिरी गर्न पाएका छन् । मंसिर १ गते नियुक्तिपत्र बुझेका भरतपुर–१० बस्ने दुर्गा बोम्जनलाई चितवन माध्यामिक विद्यालयले मंगलबार मात्र हाजिरी गराएको हो ।

उक्त विद्यालयले अपाङ्गमैत्री संरचना नभएको भन्दै बोम्जनलाई हाजिरी गराउन मानेको थिएन । भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा, अपाङ्गको हीतमा कामगर्ने विभिन्न संस्थाहरुको दवाव पछि विद्यालयले उनलाई हाजिरी गराएको हो ।
विद्यालय व्यवस्थापनले हालको संरचनामा शारीरिक अपाङ्गता भएकाहरुले काम गर्न सक्ने अवस्था नरहेका कारण उनलाई स्वीकार गर्न नसकिने बताउँदै आएको थियो । भुईं तल्लामा रहेका कक्षाहरुमा मात्रै पढाउनेगरी हाजिरी गराइएको बोम्जनले बताए ।
ह्वील चेयरमा चढेर हिडडुल गर्ने बोम्जन आफन्तको साहरामा दैनिक विद्यालय पुग्दै आएका छन् । सरकारी कार्यालयका भवनहरु अपाङ्गमैत्री नहुँदा योग्यता र क्षमता भएका व्यक्तिहरु पनि कामबाट बञ्चित हुँदै आएका छन् ।





