सामूहिक खेतीमा १ करोडको कृषि उपकरण

विप्लव काफ्ले
भरतपुर, २४ मंसीर
माडी–८ कान्तिपुरमा ४० विघा जग्गामा सामूहिक गहुँ खेती हुँदैछ । ‘सिड ड्रिल’ मेसीनमार्फत गहुँ छर्ने काम भइरहेको छ । सुर्योदय कृषि सहकारी संस्थाले ८६ परिवारको १ सय विघा जग्गामा सामूहिक खेती गत चैतबाट सुरु गरेको थियो । खेती गर्ने जनशक्ति अभाव, उत्पादन खर्च र आम्दानी बराबर जस्तै भएपछि जग्गा बाँझो छाडिएका थिए । सहकारीले चक्लाबन्दी गरेर सामूहिक खेतीको अवधारणा ल्याएपछि स्थानीय उत्साहित बनेका छन् । भिरालो, अमिल्दो जमिन सम्याएर प्लट बनाएर खेती गरिएको छ ।

पहिलो बाली धान काटिसेकपछि अहिले गहुँ र ५ विघामा मकै छर्ने काम भइरहेको छ । ५ विघामा तोरी लगाइसकिएको छ । सहकारीका प्रवन्धक शिवजी गायकले अत्याधुनिक उपकरण नहुँदा पहिलोबाली धान उत्पादनमा लागत बढेको बताए । उनका अनुसार धान रोप्न, गोड्न करिव ९ सय जना, धान उठाउन ६ सय जना जनशक्ति प्रयोग भएका थिए । धान ‘रिपर’ मेसीनले काटिएको थियो । “आधुनिक उपकरण अभाव हुँदा पहिलो बाली उत्पादन लागत बढेको छ”, उनले भने, “लागत घटाउन अबका खेतीमा मेसीनको प्रयोग बढाइनेछ, त्यसका लागि नयाँ कृषि उपकरण ल्याउने प्रयास भइरहेको छ ।”
उनका अनुसार यो वर्ष करिव १ करोड बराबरका उपकरण खरिद हुनेछन्। धान रोप्ने, धान काट्ने कम्बाइन हार्भेष्टर, आलु रोप्ने, आलु गोड्ने मेसीन, ट्याक्टर खरिद गर्ने योजना छ । प्रदेश सरकारले उपकरण खरिदमा ७० देखि ७५ प्रतिशत अनुदान दिने तयारी गरेको छ । अपुग रकम समुदायले जुटाउनेछन् । “प्रदेशतहमा आवेदन दिएका छौँ, यो वर्ष उपकरण भित्र्याउने वर्षका रुपमा लिएका छौँ”, उनले भने, “प्रयाप्त उपकरण भएमा लागत पनि घट्नेछ, काम गर्न सहज हुनेछ ।” ३ नम्बर प्रदेश सरकारले गत वर्ष ६० लाख रुपैयाँ बराबरको उपकरण खरिदमा अनुदान दिएको थियो । ट्रयाक्टर, जमिन सम्याउने ‘ल्याण्ड लेजर लेभलर’, थ्रेसर उपकरण ल्याइएको थियो । टर्नेल, ५० विघा जमिन सम्याउन सहयोग गरेको थियो । माडी नगरपालिकाले कुलो निर्माण तथा मर्मत, बाँध निर्माण, धानको बीउ खरिद, जमिन सम्याउन १० लाख सहयोग गरेको थियो । यो वर्ष नगरपालिकाले १५ लाख, प्रदेश सरकारले २ करोड बराबरको सहयोग गर्ने तयारी गरेको छ ।
गत वर्ष ५० विघा चक्लाबन्दी गरिएको थियो । २५ विघा जग्गामा अझै चक्लाबन्दीको काम भइरहेको छ । कृषि उपज राख्ने गोदाम घर, उपकरण राख्ने घर, कृषि सूचना केन्द्र, एकिकृत नमुना वस्तीका रुपमा ५० घर बनाउने, सामूहिक पाडापालन, बाख्रापालन, गाइपालन सुरु गर्ने तयारी सहकारीले गरेको छ । ५० विघामा माछापोखरी बनाइनेछ । ८६ घरपरिवारका ९६ जनाको नाममा रहेका जग्गा एकिकरण गरिएको हो । ४९ परिवार दलित, ३४ परिवार ब्राहमण क्षेत्री, ३ परिवार जनजाति समुदायका सामूहिक खेतीमा आवद्ध छन् । काटिएको धान कुन्यू लगाइएको छ । थ्रेसर लगाएर प्रतिकट्टठा १ मुरीका दरले धान उपलब्ध गराउने योजना छ । सावित्री, राधाचार धान उत्पादन भएको छ । सहकारीले यो वर्ष करिव ६ लाख बराबरको धान तथा पराल बेच्ने योजना बनाएको छ । ३ नम्बर प्रदेश सरकारले चक्लाबन्दीमा आधरित सामूहिक खेतीलाई अनुदान दिने नीति कार्यान्वयनमा ल्याएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट