मुख्यमन्त्री घोषणा गरे उत्कृष्ट पर्यटकीय गन्तव्य मेघौली

२३ करोड लगानीमा राइनो पार्क बन्दै

मेघौली, २४ मंसिर
चितवनको मेघौलीलाई प्रदेश नम्बर ३ कै उत्कृष्ट नमूना पर्यटकीय गन्तव्य घोषणा गरिएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले एक कार्यक्रमका बिच उक्त घोषणा गरे । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रदेश सरकारले घोषणा गरेको उत्कृष्ट दश पर्यटकीय गन्तव्यमा भरतपुर महानगरपालिकाको मेघौलीलाई पनि सूचीकृत गरिएको थियो ।

मंगलबार मेघौली पुगेका मुख्यमन्त्री पौडेलले मेघौली विमानस्थलको नजिकै बन्ने तय भएको राइनो पार्कको शिलन्यास पनि गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उनले राइनो पार्कको निर्माणसँगै मेघौलीमा पर्यटकीय चहलपहल बढ्न थाल्ने विश्वास व्यक्त गरे । “मेघौलीको विषयमा पहिले धेरै कुरा सुनिन्थ्यो तर विस्तारै नाम हराउन थाल्यो”, पौडेलले भने, “अब फेरी नमूना पर्यटकीय गन्तव्यकारुपमा यो ठाउँ अघि बढ्छ भन्ने विश्वास लागेको छ ।” उनले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रलगायतका संस्थासँग समन्वय गर्दै पर्यटन क्षेत्रको विकास गर्नुपर्ने बताए ।
मुख्यमन्त्री पौडेलले कृषि र पर्यटनको विकासले मात्र देशको विकास हुनसक्ने बताए । “तर यी दुवै क्षेत्रमा कुरा बढी गर्ने, लगानी भने नगर्ने अवस्था बढी देखियो”, उनले भने, “लगानीको वातावरण बनिसकेकाले अब यस क्षेत्रको विकासमा अघि बढ्नुपर्छ ।” उनले प्रदेश सरकारको समेत सहयोगमा नारायणी नदीमा सञ्चालन गर्नका लागि निर्माण हुँदै गरेको क्रुजले पनि यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा प्रदेश सांसद कृष्ण भुर्तेलले मेघौलीको पर्यटन विकासका लागि संघीय तथा स्थानीय सरकारबाट थप सहयोगको अपेक्षा रहेको बताए । भ्रमण वर्षलाई सार्थक बनाउन यहाँ रहेको विमानस्थलाई सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनले बताए । जैविक विविधताको संरक्षण र पर्यटनलाई सँगसँगै लैजानु आवश्यक रहेको उनले बताए ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेती, भरतपुर महानगरपालिका–२७ का अध्यक्ष गोविन्द तामाङ्, वडा नम्बर २८ का अध्यक्ष आशबहादुर कुमाल, थारु सांस्कृतिक सङ्ग्रहालयका अध्यक्ष मायाराम चौधरीलगायतले मेघौली क्षेत्रको पर्यटनको बारेमा चर्चा गरेका थिए । उक्त अवसरमा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले शिलन्यास भएको मेघौली गैँडा उद्यान र यसक्षेत्रका पर्यटकीय गन्तव्यका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ब्राह्मण, थारु, गुरुङ्, कुमाल र तामाङको झाँकी प्रस्तुत गरिएको थियो । मेघौली चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो ।

 

२३ करोड लगानीमा राइनो पार्क बन्दै

मेघौली विमानस्थलको आडैमा २३ करोड रुपैयाँको लगानीमा राइनो पार्क निर्माण गरिदैछ । गैंडाको आकर्षक मूर्तिसहितको उक्त राइनो पार्कले पर्यटन क्षेत्रको विकासमा उल्लेख्य सहयोग पुग्ने विश्वास स्थानीयको छ ।


प्रदेश सरकारको योजनाअन्तर्गत बन्न लागेको यस पार्कमा ३० फिट उचाई र ४० फिट लम्बाईको गैंडाको मूर्ति बन्नेछ । गैंडाको मूर्तिका लागि मात्रै २ करोड ८९ लाख ४४ हजार ४ सय ४ रुपैयाँ बजेट तय गरिएको छ । गैंडाको मूर्तिलाई आकर्षक सेल्फीपोइन्टकोरुपमा प्रवद्र्धनगर्ने लक्ष्य राखिएको छ । ५ सय ५० विघा जमिनमा बन्ने उक्त पार्क निर्माणका लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ बजेट छुट्टाइसकेको भरतपुर महानगरपालिकाका पर्यटन विज्ञसमेत रहेका चितवन पर्यटन विकास समितिका महासचिव विश्वराज सुवेदीले बताए । उनका अनुसार उक्त पार्कको पहिलो तल्लामा सूचना केन्द्र र दोश्रो तल्लामा अखेटोपहार संग्रहालय वा बहुजातीय संग्रहालय निर्माण गरिनेछ ।
पार्क क्षेत्रमा करिब २५ विघा क्षेत्रफलमा ताल निर्माण गर्ने योजना रहेको छ । साथै पार्कमा टाइगर टावर, व्ल्याक स्ट्रोक टावर, हाइट स्ट्रोक टावर र कोर्कोडायल टावर रहनेछ । पर्यटकका लागि डुंगा सफारी तथा जंगल सफारीको व्यवस्था पनि यहाँबाट मिलाइने योजना छ । साथै सोही स्थानमा असहाय वन्यजन्तु उद्दार केन्द्र निर्माण गरिनेछ । यसले टुहुरा वन्यतन्तु हुर्काउने र पर्यटकलाई अकर्षितगर्ने दुवै काममा सघाउ पु¥याउनेछ । जिल्ला सदरमुकाम भरतपुरबाट २५ मिलोमिटर पश्चिमतर्फ रहेको मेघौलीमा पर्यटकलाई स्वागतगर्न थारु होमस्टेहरु सञ्चालनमा रहेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट