भरतपुर, २१ मंसिर
दाँतको उपचारका लागि आवश्यक अत्याधुनिक उपकरण(सीबीसीटी) चितवन भित्रिएको छ । भरतपुरस्थित अस्पताल रोडमा रहेको मेट्रो ईमेजिङ् सेन्टरले दाँत तथा अनुहारको विशेष किसिमको एक्स–रे गर्ने उपकरण कोन बीम कम्प्युटेड टेक्नोलोजी(सीबीसीटी) सञ्चालनमा ल्याएको हो । जर्मनीको डेन्सप्ले सिरोना ब्राण्डको उक्त उपकरणले टुडी तथा थ्रीडी प्रणालीमार्फत रिपोर्ट उपलब्ध गराउँछ । जसले रोग पत्ता लगाउन सहज हुन्छ ।

उक्त उपकरणको एक समारोहका बिच भरतपुर अस्पतालका रेडियोलोजी विभाग प्रमुख वरिष्ठ रेडियोलोजिष्ट डा. केशव पौडेलले शुभारम्भ गरे । उक्त अवसरमा डा. पौडेलले स्वास्थ्य नगरीको रुपमा परिचय बनाउँदै गएको चितवनमा भित्रिएको अत्याधुनिक उपकरणले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हटाउने विश्वास व्यक्त गरे । उनका अनुसार सीबीसीटीको विकिरण सामान्य सीटीस्क्यानको भन्दा अत्यन्त कम हुन्छ । “यो मानव स्वास्थ्यका लागि फाइदाजनक छ”, उनले भने । दाँत तथा अनुहारको उपचारका लागि यो उपकरण अत्यन्तै उपयोगी रहेको उनले बताए ।
शुभारम्भ समारोहमा डेन्टल सर्जन तथा रेडियोलोजिष्ट डा. आलोक लाठी र डेन्सप्ले सिरोनाका प्रोड्युसर म्यानेजर डा.विनय तिवारीले उपकरणमार्फत दिने सेवाका विषयमा जानकारी गराएका थिए । साथै ईस्ट वेस्ट ईन्टरप्राईजेज नेपालका प्रबन्ध निर्देशक व्रिजेश लाकोलले उक्त उपकरणका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा दन्तरोग विशेषज्ञ, रेडियोलोजिष्ट तथा प्राविधिकहरु गरी ८० जनाको सहभागिता थियो ।

शुभारम्भ सरोहमा सेन्टरका सञ्चालक केशव देवकोटा, शिवराज सुवेदीलगायतले बोलेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष कृष्णराज मरहठ्ठाको अध्यक्षतामा भएको थियो । जर्मनमा बनेको उक्त उपकरणको मूल्य १ करोड ३५ लाख रुपैयाँमा रहेको सञ्चालक दीपकबहादुर पोखरेलले बताए । उनले यो उपकरण नारायणी क्षेत्रमै पहिलो पटक चितवन भित्रिएको दाबी उनले गरे । २०७१ सालको भदौ २४ गते सञ्चालनमा आएको मेट्रो ईमेजिङ् सेन्टरले एम आर आई, सीटीस्क्यान, ईको एन्जियोग्राफी, भिडियो एक्सरे, मुटुको भिडियो एक्सरेलगायतका सेवा यसअघिबाटै उपलब्ध गराउँदै आएको सञ्चालक पोखरेलले बताए ।

.





