एभरेष्ट र मकवानपुर महिला फूटबलको फाइनलमा

भरतपुर, १९ मंसिर

नारायणगढको क्याम्पाचौरमा जारी स्व.जगदीश खड्का स्मृति महिला फूटबल प्रतियोगिताको उपाधिका लागि हानमी एभरेष्ट क्लब चितवन र मकवानपुर महिला टिम भिड्ने भएका छन् ।

बिहीबार भएको खेलमा बागमतीले पञ्चकन्या फूटबल क्लब ‘ए’लाई ४–२ गोलअन्तरले र हानमी एभरेष्टले बागमती युथ क्लब सर्लाहीलाई सडन डेथमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । मकवानपुरको जितमा पूजा लोप्चन र एलिना खड्काले समान दुई गोल गरे भने पञ्चकन्याका लागि अनिता तामाङ र बिम्निमा तामाङले एक–एक गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा पूजा लोप्चनले गोल गर्दै मकवानपुरलाई सुरुआती अग्रता दिलाइन् । त्यसको ८ मिनेटपछि एलिना खड्काले गोल गर्दै मकवानपुरको अग्रता दोब्बर पारिन् । तर, ३० औं मिनेटमा बिम्निमा तामाङले पञ्चकन्याका लागि गोल फर्काउँदै खेल २–१ अन्तरमा झारिन् । त्यसको १ मिनेटपछि नै अनिता तामाङले गोल फर्काउँदै खेल २–२ को अवस्थामा ल्याइन् । पहिलो हाफ निकै प्रतिस्पर्धात्मक बने पनि दोस्रो हाफ मकवानपुरले २ गोल थप्दै जित सुनिश्चित ग¥यो । दोस्रो हाफको चौथो मिनेटमा एलिनाले व्यक्तिगत दोस्रो गर्दै टोलीलाई पुनः अग्रता दिलाइन् । ३९ औं मिनेटमा पूजाले व्यक्तिगत दोस्रो गर्दै टोलीको जित सुनिश्चित गरिन् । खेलको प्लेयर अफ दी म्याच मकवानपुरकी पूजा लोप्चन घोषित हुँदै दुई हजार रुपैयाँ प्राप्त गरिन् ।

त्यस्तै दोस्रो सेमीफाइनल खेलमा हानमी एभरेष्ट र बागमती युथ क्लब सर्लाहीबीचको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट निकालिएको हो । पहिलो हाफको १८ औं मिनेटमा बागमतीकी अञ्जली खवासको पासमा सुस्मिता तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । तर, त्यो अग्रता धेरै बेर टिक्न सकेन । २१ औं मिनेटमा हानमी एभरेष्टका लागि अनुपा महतोले बराबरी गोल फर्काइन् । त्यसपछि थप गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट निकालिएको थियो ।

हानमी एभरेष्टले बागमती युथ क्लबलाई सडन डेथमा पन्छाउँदै नतिजा आफ्नो पक्ष पार्न सफल भयो । खेलको प्लेयर अफ द म्याच हानामी एभरेष्टकि गोलरक्षक झरना राई घोषित हुँदै नगद दुई हजार प्राप्त गरिन ।

८ टोली सहभागी प्रतियोगिताको फाईनल शुक्रबार दिउँसो २ बजेबाट हुनेछ । प्रतियोगिताको विजेताले नगद ४० हजारसहित मेडल र ट्रफी प्राप्त गर्नेछ भने उप–विजेताले नगद २० हजारसहित मेडल र ट्रफी प्राप्त गर्नेछ । साथै विधागत उत्कृष्ट खेलाडिले जनही पाँच–पाँच हजार प्राप्त गर्नेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट