राजेश घिमिरे
भरतपुर, १८ मंसिर
भरतपुर महानगरपालिकाले आधारभूत तहको लागि आवश्यक पाठ्यक्रम तयार गरेर सार्वजनिक गरेको छ । महानगरपालिकाभित्र रहेका विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि उक्त पाठ्यक्रम तयार पारिएको हो ।

बुधबार भरतपुरमा गरिएको ‘सिकाइ सवलीकरण दशकः नयाँ शैक्षिक गन्तव्य निर्धारण’ गोष्ठीमा प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल र मेयर रेनु दाहालले उक्त पाठ्यक्रम सार्वजनिक गरेका हुन् । पठ्यक्रममा दशवटा क्षेत्रहरु निर्धारण गरेर विस्तृतीकरण गरिएको छ । पाठ्यक्रममा ‘भरतपुर महानगरपालिकाको परिचय, स्थानीय संस्कृति र कला, स्थानीय पर्यटन, स्थानीय कृषि व्यवसाय, स्थानीय व्यवसाय, पेशा र प्रविधि, स्थानीय प्राकृतिक सम्पदा तथा वातावरण संरक्षण, स्थानीय खेलहरु, विपद् व्यवस्थापन, शहरी विकास, प्रदूषण तथा फोहोर व्यवस्थापन र नैतिक मूल्य, मान्यता, सदाचार र योग’ समेटिएका छन् ।
पाठ्यक्रम सार्वजनिक गर्दै मन्त्री दुलालले बजारमा माग भएअनुसारको दक्ष जनशक्ति उत्पादनमा लाग्नुपर्ने बताए । समावेशी, समतामूलक र गुणस्तरीय शिक्षाको लक्ष्य पुरा गर्न धेरै चुनौतीहरु भएपनि सबै मिलेर प्रयास गर्नुपर्ने बताए ।
भरतपुर महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरुमा ८८ हजार जनाभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । यीमध्ये आधारभूत तह(१–८ कक्षा)मा मात्रै ६८ हजार जनाभन्दा बढी विद्यार्थी छन् । कूल विद्यार्थीको ५५ प्रतिशतभन्दा बढीले संस्थागत विद्यालयमा अध्ययन गर्दै आएका छन् । महानगरपालिकाले संस्थागत विद्यालयलाई पनि सहभागी गराएर एक सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार गरेको हो । “भरतपुरमा अध्ययन गरेका विद्यार्थीलाई चितवन जिल्लाकै विषयमा जानकारी नहुने अवस्था नहोस् भनेर हामीले स्थानीय पाठ्यक्रमको विकास गरेका हौं”, मेयर रेनु दाहालले भनिन्, “पाठ्यक्रमले विद्यार्थीहरुलाई प्रतिभावान बनाउन सहयोग गर्ने अपेक्षा पनि हामीले लिएका छौं ।”
पाठ्यसामग्रीमा स्थानीय विषयवस्तुको बारेमा जानकारी नहुँदा धेरैलाई जिल्लाको भौगोलिक अवस्था, भाषा, संस्कृतिबारे जानकारी नभएको महानगरपालिकाका शैक्षिक प्रशासन शाखाका प्रमुख सीताराम कोइरालाले बताए । “उनीहरुलाई स्थानीय क्षेत्रका बारेमा पनि जानकारी होस् र दैनिक जीवनयापनका क्रममा आइपर्ने समस्या समाधानका उपायबारे पनि जानकारी होस् भन्ने उद्देश्यले पाठ्यक्रम तयार गरिएको छ”, कोइरालाले भने ।
स्थानीय क्षेत्रमा सम्बन्धित क्षेत्रको परिचयसहितको पाठ्यक्रम तय गर्न सकिने व्यवस्था संघीय शिक्षा नीतिमै भएपनि प्रायः स्थानीय निकायहरुमा सुरु हुन सकिरहेको छैन । स्थानीय विषयको पढाइ गर्नुपर्नेमा यहाँका विद्यालयले पाठ्यक्रम नभएको भन्दै अंग्रेजी, गणित, शारीरिक शिक्षालगायत अतिरिक्त विषय पढाउँदै आएका थिए । तर, आगामी शैक्षिक सत्रबाट भने स्थानीय पाठ्यक्रमानुसार नै पढाइ सञ्चालन गर्ने तयारी भइरहेको महाशाखाका अधिकृत रुद्र शर्माले जानकारी दिए ।
स्थानीय पाठ्यक्रम निर्माण गर्न महानगरपालिकाको कार्यपालिकाले कार्यदल निर्माण गरेको थियो । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) चितवनका लेखनाथ खनालको संयोजकत्वमा बनेको कार्यदलले पाठ्यक्रमको मस्यौदालाई अन्तिमरुप दिएपछि कार्यपालिकाको बैठकले स्वीकृत गरेको थियो ।
“भरतपुर महानगरपालिकाका विद्यालयमा पढेका विद्यार्थीले जुनसुकै ठाउँमा पुगे पनि चितवनका बारेमा भन्न सकून् भन्ने मुख्य उद्देश्य हो”, कार्यदलका सदस्य सचिवसमेत रहेका शैक्षिक प्रशासन महाशाखाका शाखा अधिकृत रुद्र शर्माले भने, “पाठ्यक्रम लागू भएपछि अन्यत्रबाट यहाँ आएर पढ्नेले पनि यहाँका बारेमा बुझ्नेछन् ।” सबै स्रोत केन्द्रमा पुगेर सरोकारवाला, विषय विज्ञहरुसँग सुझाव लिइ पाठ्यक्रमको मस्यौदा तयार पारिएको उनले बताए । संघीय पाठ्यक्रमसँग नबाझिने गरी क्षेत्र र क्रम मिलाइएको उनले बताए ।
अब पाठ्यक्रमको निर्धारित क्षेत्रभित्र रहेर पाठ्यसामग्री निर्माण गर्नुपर्ने हुन्छ । पाठ्यसामग्री निर्माणका लागि महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्नेछ । त्यसपछि २०७७ वैशाखअघि शिक्षक छनोट गरेर पाठ्यसामग्री वितरण गरिसक्ने शर्माले बताए । स्थानीय विषयमा चितवनका पहिचान समावेश गरेर पाठ्यक्रम तयार पारिएको शिक्षाविज्ञ रमाकान्त सापकोटाले बताए । आगामी आर्थिक वर्षमा यी काम गर्न सके त्यसपछि थारु र चेपाङ समुदायको भाषामा पाठ्यक्रम निर्माणमा लाग्नुपर्ने उनले बताए । कम्तीमा पनि पूर्व प्राथमिक तहमा मातृभाषाको पाठ्यक्रम आवश्यक रहेको उनले बताए । अहिले देशभरमा २५ वटा मातृभाषामा पढाइ हुन्छ ।





