सीमा अतिक्रमण सहन्नौं ः मन्त्री नेपाल
विप्लव काफ्ले
माडी, ११ मंसिर
सोमेश्वरगढी क्षेत्र नेपाल–भारतको ४५ नम्बर सीमा स्तम्भ रहेको क्षेत्र हो । अंग्रेजसँग लड्न यो गढी प्रयोग भएको इतिहास पाइन्छ । तर, केही वर्ष पहिलेसम्म स्थानीय पहलमा बनेको सोमेश्वर मन्दिरमा पूजा गर्न नदिन भारतीय सुरक्षाबलले हस्तक्षेप गर्ने गर्थे । अब भारतीय हस्तक्षेप हट्ने वातावरण तयार भएको छ ।
माडी नगरपालिका र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागको संयुक्त आयोजनामा १८ दिने कला कार्यशालामा ५० भन्दा बढी आकर्षक मूर्ति बनेका छन् । सबै मूर्तिमा नेपाल लेखिएका छन् । “गढी क्षेत्रमा सीमा मिचिने अवस्था अन्त्य भएको छ”, माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले भने, “सबै मूर्तिमा नेपाल कुँदेर लेखिएको छ, अब सीमा मिचिए पनि स्थानीय नै जाग्नेछन् ।” उनका अनुसार दशगजा क्षेत्रबाट यता करिब ३ सय मिटर बाहिर मूर्तिहरु बनाइएको हो ।

“मूर्तिले राष्ट्रियता, धार्मिक महत्व र इतिहासलाई जीवन्त बनाउनेछन्”, उनले भने, “गढी अब सबैका लागि खुला संग्रहालय हुनेछ ।” उनले गढीलाई मूर्तिको फूलबारीका रुपमा चिनाइने बताए । “हरेक मूर्तिबारे जानकारीसमेत लेखिएका ‘मेटल बोर्ड’ राखिनेछ”, उनले भने, “अब रमाउँदै गढीमा जाने वातावरण बनेको छ ।” तत्कालीन राणादरबारमा भारतीय एसएसबी फोर्स बसेपनि त्यो दरबार नेपालकै भएको प्रमाण भेटिएकाले राजदूतलाई छलफलका लागि आग्रह गरिसकिएको बताए ।
सोमेश्वरगढी चुरेपर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरामा छ । यो टाकुरा समुन्द्री सतहबाट ९ सय ९७ मिटर उचाइमा छ । यो गढीमा अभिमान सिंह बस्नेतको नेतृत्वमा अंग्रेजसँग युद्ध लडेको इतिहासमा उल्लेख छ । “अन्य गन्तव्यभन्दा बढी ध्यान गढीमा दिएका छौँ”, उनले भने, “माडीकै मुख्य पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदैछ ।”
गढीमा चैते दशैंमा विशेष मेला लाग्ने गर्छ । चिसापानी–गोलपार्कसम्म करिब डेढ किलोमिटर क्षेत्रमा त्यहींकै ढुंगा कुँदेर विशाल मूर्ति बनेका छन् । सुरुमा काली मूर्ति र अन्तिममा नेपाल झण्डा अंकित मूर्ति देख्न सकिन्छ । प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले गढी कलाको केन्द्रका रुपमा विकास भएको बताए । कार्यशालाको मंगलबार समापन गर्दै मन्त्री नेपालले भने, “मनै लोभ्याउने मूर्तिहरु बनेका छन्, कलाको केन्द्र बनेको अनुभव भयो, यहाँको सिकाइ अन्यत्रपनि विस्तार गर्नुपर्छ ।” उनले पुर्खाले रगत बगाएर, बलिदानी दिएर स्थापित गरेका सीमाना रक्षा गरिने बताए । “सीमाना जोगाउनुपर्छ, जोगिनुपर्छ”, उनले भने, “कुनैपनि जमिन अतिक्रमण गरेको सह्य हुदैन ।”
उनले सोमेश्वरगढीमा पर्यटन पूर्वाधार विकास र सीमा संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले माडीलाई पर्यटक बढी भित्रिने नगरका रुपमा विकास गर्न योजनाबारे छलफल भइरहेको जानकारी दिए । मूर्तिकार दिनेश्वर महतोले बनाएको नेपाल झण्डाको आकृतिको विशाल मूर्तिले धेरैको मन तानेको छ । सगरमाथको आकृतिसहित नेपाल लेखिएको विशाल ढुंगा कँुदेर नेपालको झण्डा बनाइएको छ । झण्डाको छेउमा मुठ्ठी पारेको हात पनि छ । “देश जोगाउन जुटौँ, एक्यवद्ध बनौँ भन्ने सन्देश दिन खोजेको हो”, मूर्तिकार महतोले भने, “सीमा जोगाउने दायीत्य हरेक नेपालीको हो भनेर मूर्तिले सम्झाउनेछ ।”
गढीमा बाघ, हात्ती, घोडा, ऋषि, शालिग्राम, देविदेवताका मूर्ति, सुन्दर नारीलगायत मूर्ति बनेका छन् । प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले सीमा अब नमिचिने तर्क गरे । “सबै मूर्तिले नेपाल बोलिरहने छन्”, उनी भन्छन्, “अब सीमा मिचिने छैन, सीमा तलमाथि भएमा जनता उठ्ने छन्, मूर्तिले जगाउने छन् ।” उनले देशका धेरै ठाउँबाट आएका मूर्तिकारले मूर्तिहरु बनाएकाले नेपाली मूर्तिकलाबारे गहन अध्ययन गर्ने क्षेत्र समेत गढी हुने बताए । सोमेश्वरगढी नेपाल भ्रमण वर्ष २०२० का लागि सूचिकृत १ सय गन्तव्य मध्ये एक हो । गढी जाने उकालो गोरेटो बाटोलाई मोटरबाटो बनाइएको छ । करिव ३ किमि मोटरबाटो बनेको छ । सिढी, रेलिङ राखिएको छ । अब ३० मिनेट हिडेरै गढी पुग्न सकिनेछ ।





