लेखराम सापकोटा
रामपुर क्याम्पसमा अध्ययनरत झापाका प्रनिश अधिकारी ‘चरनदास चोर’ नाटक प्रिमियर हुने खबर सामाजिक सञ्जालमा देखेपछि अरु चारजना साथीहरूको टिम बनाएर बिहीबार अपराह्न नारायणी कला मन्दिरमा आए । नाटक हेरेर निस्केपछि उनले सबै कलाकारको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिए । बदमास चोरको मुख्य भूमिका रहेको नाटकमा चोर र पुलिसको अभिनय आफूलाई राम्रो लागेको अधिकारीले बताए ।
नाटकलाई भारतीय नाटककार हबिब तनबीरले लेखेका हुन् । यसलाई आशान्त शर्माले नेपालीमा अनुवाद गरे । मण्डला थिएटर नेपालको सहकार्यमा नारायणी कला मन्दिरको प्रस्तुति रहेको चरनदास चोर नाटकलाई विकास जोशीले निर्देशन गरेका हुन् । सबै तयारीपछि बिहीबार यसको प्रिमियर गरिएको हो । नाटक हेर्न नारायणी कला मन्दिरका अधिकांश पूर्वअध्यक्षहरू, शिक्षक, साहित्यकार, पत्रकारसहित थुप्रै दर्शकको उपस्थिति थियो ।

चरनदास चोर शास्त्रीय लोककथामा आधारित नाटक हो । नाटकले एक क्षुद्र चोरको अशान्त जीवनयात्रालाई चित्रण गरेको छ । कहिल्यै झुट नबोल्ने प्रतिज्ञा गरेको चरनदास महारानीको प्रेम प्रस्तावलाई स्वीकार नगर्दा ज्यानको बाजी लगाउन पुग्छ । नाटकमा सत्यको अस्तित्वलाई असम्भव देखाइएको छ ।
नाटक हेर्न गैंडाकोटबाट आएका तेजेन्द्र रानाले नाटकको कथा अधुरो लागेको टिप्पणी गरे । तर, कलाकारको अभिनयबाट भने सन्तुष्ट भएको उनले बताए । स्वामीको भूमिकामा देखिएका मुकुन्द खलपात्रको अभिनयबाट आफू प्रभावित भएको रानाले बताए ।

नाटकमा विष्णुमाया विश्वकर्मा, गोविन्द अधिकारी, मुकुन्द खलपात्र, पवन श्रेष्ठ, सुमन गहतराज, सुनिल ढुंगाना, अञ्जन थपलिया, विवेक तिवारी, कृपा अधिकारी, कुशल घिमिरे, निशु मगर, सलिना वाग्ले, सुमित आचार्य, विकास रसाइली र विकास ढकालले अभिनय गरेका छन् ।
नाटकलाई अब काठमाडौंमा मञ्चन गरिनेछ । पोखरा र इलामसहित मुलुकका अन्य भागमा पनि यसको प्रदर्शन गरिने योजना निर्माण पक्षले बनाएको छ । चितवनमा अब पुसको अन्तिम साता मात्रै प्रदर्शन गरिने नारायणी कला मन्दिरका अध्यक्ष अमर प्रधानले कायाकैरनलाई बताए ।





