जनावरबाट सधैं पीडामा माडीबासी:‘अनसन’ को तयारीमा मेयर

विप्लव काफ्ले
भरतपुर, २ मंसीर

माडी–१, बरुवामा प्लाष्टिक पसल गर्दै आएका ६५ वर्षीय बाबुराम पौडेल र ३५ वर्षीय छोरा राजुले जंगली हात्तीका कारण ज्यान गुमाए । पसलका लागि कुचो र तिल लिन ठोरी जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जको अमुवा पोष्ट नजिकै शनिबार हात्तीले आक्रमण गरेको हो ।

निकुञ्जको सुविधा प्राप्त बाटो किनारमै उनीहरुले ज्यान गुमाए । राजुका ६ वर्षीय छोरा र ३ महिनाकी छोरी छन् । रोजगारीका लागि विदेशिएका राजु केही वर्ष पहिले नेपाल फर्केर बुबाको व्यवसायलाई विस्तार गरेका थिए ।

असोज ११ गते राति घर नजिकैको गोठमा जाने क्रममा हात्तीले हानेर माडी–१, द्रोपतिनगरकी ६२ वर्षीया पञ्चमाया तामाङले ज्यान लियो । गतवर्ष कात्तिक २ गते खेतमा धान कुर्न जाने क्रममा माडी–३ का रवि चौधरीले ज्यान गुमाए । गतवर्षको मंसिर १२ गते घाँस काट्ने क्रममा माडी–९ का कृष्णकली जैसी, सुशीला गौतम भण्डारीले ज्यान गुमाए ।

२०७४ माघ २१ गते गैंडाले आक्रमण गर्दा माडी–१ मा प्रेमप्रसाद ढुंगेलले ज्यान गुमाए । २०७३ पुस २९ गते घरमै हात्तीले हानेर अयोध्यापुरीका सागर विकले ज्यान लियो । २०७३ असार ३१ गते माडी–८ का जलवी पावेले ज्यान गुमाए । २०७२ सालमा अनिता थापा मगरले ज्यान गुमाइन् । माडीका गतवर्ष १२ जना, २०७४–७५ मा १३, २०७३–७४ मा , २०७२–७३ मा ९ जना घाइते भएका छन् ।

“२० वर्षको अवधिमा ६७ जना बढीले ज्यान गुमाएका छन्”, माडीका मेयर ठाकुरप्रसाद ढकाल भन्छन्, “जंगली जनावरले माडीमा क्षति नपु¥याएको वर्षै छैन ।” उनी वर्सेनि माडीमा जंगली जनावरले क्षति पु¥याउन थालेपछि दीगो समाधानका लागि पहल गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने तयारीमा छन् । हात्ती, गंैडाले मान्छे मार्ने, जंगली जनावरले बाली, पशुधनमा क्षति पु¥याउँदै आएका छन् ।

माडीका स्थानीय वर्सेनि यस्ता पीडा भोग्न बाध्य छन् । “न्यूनीकरण गर्ने प्रयास राज्यतहबाट हुन सकेको छैन”, उनले भने, “हामीले पहल गरेका छौँ, बेवास्ता भए आमरण अनसनै बस्छु ।” गत माघ १६ गतेदेखि अनसन बस्ने घोषण गरेका मेयरले प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री प्रचण्डले आश्वासन दिएपछि अनसन स्थगित गरेका थिए । “फेरि ध्यानाकर्षण गराउनेछु, केही महत्वका पूर्वाधार प्रस्ताव गर्नेछौँ, ऐन संसोधन माडी हितअनुसारको हुनुपर्ने आवाज छाडेका छैनौँ”, मेयर ढकालले भने, “माडी ‘निकुञ्जको जेल’ होइन ।”

उनका अनुसार रिउ करिडोरअन्तर्गतको बगई–वनकट्टासम्म उच्चस्तरीय ड्यामसहितको परियोजनाका लागि बजेट माग भइरहेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागले तयार पारेको डीपीआरले करिब १ अर्ब ४९ करोड बराबरको लागत लाग्ने निष्कर्ष निकालेको उनी बताउँछन् । “डीपीआर गरेको फाइल भेटिएको छ, पटक–पटक यो बहुवर्षीय परियोजनालाई बजेट मागिरहेका छौँ”, उनी भन्छन्, “यो परियोजना बनेमा जंगली जनावर वस्ती पस्न कमी हुनेछ ।”

निकुञ्ज किनारको रिउ खोलाको बस्तीतर्फ ५ फिट अग्लो कंक्रिट वालसहितको ड्याम, त्यसमा २० मिटर फराकिलो बाटो बनाउन सकिनेछ । “बगर पनि उत्पादनमूलक काममा प्रयोग हुनेछ, त्रास पनि हट्नेछ”, उनी भन्छन्, “करिब २३ किमी ड्याम बनेमा माडीले केही राहत पाउनेछ ।” माडी पूर्वप्रधानमन्त्री प्रचण्डको चुनावी क्षेत्रसमेत हो । “दुबै अध्यक्ष सकारात्मक हुुनुहुन्छ, तर बजेट परेको छैन”, उनी भन्छन्, “अब फेरि सम्झाउनेछौँ ।”

उनले निकुञ्जसँग जोडिएका खोलाका दुवैतर्फ अग्लो लञ्चिङसहितको जाली र ड्याम राख्ने, सामुदायिक वनमा कंक्रिट वालसहितको मेसजाली राख्ने, अधिकांश खोला किनारमा सोलार फेन्स राख्ने कामका लागि बजेट अभाव देखिएको बताउँछन् । “चारैतिर जंगलले घेरिएको छ, बस्ती सुरक्षाका लागि विशेष योजनाको खाँचो छन्”, उनी भन्छन्, “माडीका सबै बस्ती सुरक्षित बनाउन प्रतिबद्ध छौँ ।”

उनले रिउ खोलासँग जोडिएका ६ खोलामा ‘स्प्रिङसहितको ढोका’ राख्ने योजना माग भइरहेको बताए । “ठूलो पानी आउँदा आफैं ढोका खुल्नेछन्, अरुबेला बन्द हुन्छन्”, उनले भने, “खोला हुँदै बस्ती छिर्ने गैंडा, हात्ती नियन्त्रण हुने अपेक्षा छ ।” उनले विद्युतीकरणलाई पूर्णता दिन सके सबै वस्ती उज्यालो हुने र जंगली जनावरबाट बच्न समेत सजिलो हुने बताउँछन् । “केन्द्र, प्रदेश सरकारसँग पहल भइरहेको छ”, उनले भने, “सबै खोलामा तटबन्धन, चारैतिर कंक्रिट वाल भएमा माडी सुरक्षित बन्छ ।”

पीडितले राहत पाएनन्

शनिबार निकुञ्जको अमुवा पोष्ट नजिकै ज्यान गुमाएका बाबु–छोराका परिवारले राहत पाएका छैनन् । जंगली जनावरले ज्यान लिएमा प्रतिपरिवारलाई १० लाख रुपैयाँ दिने व्यवस्था छ । तर, निकुञ्जले आलटाल गरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा निकुञ्ज वा आरक्षभित्र कसैको मृत्यु भएमा वा हानी नोक्सानी भएमा कसैलाई चोटपोटक लागेमा सरकार क्षतिपूर्तिका लागि जिम्मेवार नहुने उल्लेख छ ।

यस्तै चितवन राष्ट्रिय निकुञ्ज नियमावली २०३० मा प्रवेशपत्र लिइ वा नलिई निकुञ्जभित्र प्रवेश गर्ने व्यक्तिलाई हानीनोक्सानी भएमा जिम्मेवार नहुने उल्लेख छ । यही प्रावधानलाई टेकेर निकुञ्ज उम्कने प्रयास गरेको छ । “सुविधाप्राप्त बाटोमै हात्तीले ज्यान लिएको हो, अनुमति दिएकाले क्षतिपूर्ति दिदैनौँ भन्न मिल्दैन”, मेयर ढकालले भने, “१०–१० लाख क्षतिपूर्ति दिलाउन आवश्यक काम पूरा भइसकेको छ, छिटै पीडित परिवारले पाउनेछन् ।”

उनले मृतकका परिवारलाई क्रिया खर्च नगरपालिकाले उपलब्ध गराउने बताए । उनले मृतक पौडेलका दुबै छोरीको नाममा ५–५ लाख बराबरको खाता खोलिदिएर पढ्ने वातावरण बनाउने बताए । पाँचपाण्डव उपभोक्ता समितिका अध्यक्ष नारायणदत्त सापकोटाले सुविधाप्राप्त बाटोमा ज्यान गएको पहिलो घटना भएकाले विशेष घटना मानेर पीडित परिवारलाई राहत दिनुपर्ने बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट