गुड फ्राइडे
विप्लव काफ्ले
भरतपुर, २९ कार्तिक
एक खुट्टाले नाचेर चर्चामा आएकी सीता सुवेदी भरतपुर–२७ मेघौलीकी हुन् । उनी शास्त्रिय विधाको कत्थक नाचमा अब्बल छिन् । १२ वर्षको उमेरमै ‘बोन म्यारो क्यान्सर’ का कारण देब्रे खुट्टा काटिएको थियो । २०५७ सालमा खुट्टा काट्ने अघिल्लो दिनसम्म उनी एफएममा गीत बजाएर घण्टाँै नाचेकी थिइन् । “अब कहिल्यै नाच्न पाउँदिन जस्तो लाग्थ्यो”, सीता विगत सम्झिन्छिन्, “नाच्ने रहरनै मेटिने डर थियो, तर हिम्मत हारिन ।”

स्कुलमा हुने साँस्कृतिक कार्यक्रम कहिल्यै छुटाइनन् । गायन, नृत्य, कविता लेखन, दौड प्रतियोगिता रुचिका विषय थिए । तर, कक्षा ७ मा क्यान्सरका कारण खुट्टा गुमाउनु परेपछि उनका रुचिमा कालो बादल आइलागे । उनले ८ कक्षाको परीक्षा घरमै बसेर दिइन् । तर, कहिल्यै हिम्मत हारिनन् । जानकी मावि घरबाट करिव १५ मिनेटको दुरीमा थियो । सधै साइकलमा स्कुल जाने सिता बैशाखीको सहाराले २ वर्षपछि स्कुल पुग्दा सबै अचम्मित भएर हेर्थे ।
एसएलसीमा पनि राम्रै नतिजा ल्याइन् । बुबा–आमाले पढ्न नजाउँ भनेपनि पढाईमा नतिजा राम्रो ल्याएको देखेपछि खुशीका आँशु झारे । उनी भरतपुरको वीरेन्द्र क्याम्पसमा पढ्न आइन् । कलेज जादा–आउँदा कृत्रिम खुट्टा राख्थिन् । कोठामा आएपछि फुकाल्थिन् । उपचारमा निकै खर्च भएको थियो । कम्प्युटर, भाषको कक्षा समेत लिइन् । पाटन क्याम्पसमा पढ्दै गर्दा बिहान बेलुका ‘टिकेटिङ’ को जागिर खाइन् । तलब सुविधा राम्रो हुन थालेपछि भाइबहिनीलाई पनि काठ्माण्डौमा पढाउन लगिन् । करिव ८ वर्ष जागिरे बनिन् । उनले नेपाली विषयमा पाटन संयुक्तबाट स्नातकोत्तर र पद्मकन्या क्याम्पसबाट संगित विषयमा स्नातक गरिन् । उनले नेपाली र संगीत विषयमा कलेज ‘टप’ गरिन् । भाइ पढाइ सकेर विदेशिएपछि ‘सीता’ लाई पढाईमा सघाउने वचन दिए । “चाहिदा भाइको सहयोग लिन्छु, अरुबेला आफ्नै कमाइले पढाई खर्च जुटाएकी छु”, उनले भनिन्, “इच्छा शक्ति भए असम्भव केही छैन ।” उनी कलानीधि इन्दिरा संगित महाविद्यालयमा नृत्य विधामा स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत छिन् ।

कत्थक नृत्य ‘लाइभ म्यूजिकको डान्स’ हो । लगातार कथाको भाव बुझाउन आधा घण्टा बढी नाच्नुपर्छ । तर, सीताले कहिल्यै हरेश खाइनन् । दुबै खुट्टाको चाल कत्थक नृत्यमा चाहिन्छ । यही कारणले एक खुट्टाले नाच्दा नियम उल्लंघन गरेको आरोप पनि भए । “एक खुट्टाले पनि चाल देखाउन सकिन्छ”, उनी भन्छिन्, “कत्थक नाच सहज छैन, तर यही विधामै रमाएकी छु ।” हालसम्म करिव एक सय बढी ‘स्टेज’ मा आफ्नो नाच प्रस्तुत गरिसकेकी छन् ।
हेमराज आश्रमको यही वर्षको देउसी भैलो गीतमा उनको अभिनय छ । ‘सम्झनाको पल’, ‘तिम्रो नजरको दोषि’, ‘नेपालको छोरी’ लगायतका गीत निकालेकी छन् । जीवन दर्शन सम्बन्धि गीत रेकर्ड गरिसकेकी छिन् । उनी देशका विभिन्न मेला, महोत्सवमा व्यस्त हुने गरेकी छन् । विगत ४ वर्षदेखि नृत्यलाई व्यवसायीकता दिन सक्रिय हुन थालेकी छन् । २७ गते १५ देशका अपाङगता भएका व्यक्तिको सहभागितामा कोरियामा आयोजित बृहत सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउन पुगेकी छन् ।
नेपालको तर्फबाट कला र संस्कृतिमा सबैको पहुँचका अध्यक्ष शुशिल फुयाँल, कार्यक्रम कोअर्डिनेटर अनिल भण्डारी, श्यामबाबु आचार्य, राजु दाहाल समेत सहभागि छन् । सीता र गायक अजय अधिकारीले नेपालको प्रतिनिधित्व गर्दै विशेष प्रस्तुती देखाउनेछन् । “भविष्यमा ‘डान्स’ सिकाउने योजना छ”, सीता भन्छिन्, “हिम्मत हार्नुहुदैन, इच्छाशक्ति बलियो भएमा निराश हुनुपर्दैन ।” उनी अपाङगता भएकालाई उत्प्रेरणा दिने काममा सक्रिय हुदै आएकी छन् । यही कार्तिक २३ गते ज्योतिनगरमा आयोजित ‘मस्तिष्क पक्षघात सचेतना एवम् सांगितिक कार्यक्रम’ मा समेत सहभागि थिइन् । कार्तिक २१ गते नारायणी महोत्सवमा आफ्नो कला देखाएकी थिइन् । सीताको संघर्षको कथाले धेरैलाई उत्प्रेरित गर्नेगर्छ । उनी बैशाखी वा कृत्रिम खुट्टाको साहरामै सँघर्षरत छिन् ।





