सोमेश्वरगढीमा मूर्ति जन्मदै

विप्लव काफ्ले

भरतपुर, २७ कार्तिक

माडी सोमेश्वरगढीको फेदीमा पर्ने चिसापानी–गोलपार्कसम्मको क्षेत्रमा चहलपहल निकै छ । ढुंगा ‘कटिङ’को धुलो उड्ने गरेको छ । ‘किरिङ–किरिङ’ आवाज गुञ्जिन थालेको छ । यही क्षेत्रमा नुवाकोटका मूर्तिकार देवेन्द्रप्रसाद पाण्डे ढुंगामा घोडा जन्माउँदै छन् । गढीजाने उकालो सडकको छेउमै रहेको विशाल ढुंगासँग दिनभर उनी घुलमिल भइरहेका छन् । उनी पहिलो पटक माडी आएका हुन् । “घोडाको आकार आउँदै छ”, पाण्डेले भने, “दौडेको घोडा बनाउँदै छु, यो गढीको शान पनि हो ।” युद्धमा लड्न जादा प्रयोग हुने घोडालाई जीवन्त ढुंगामा उतार्दैछन् । “लवकुशले समातेको घोडाका रुपमा पनि चित्रण गर्न सकिनेछ”, उनले भने, “गढीलाई चिनाउन यो मूर्ति महत्वपूर्ण हुनेछ ।”

४ वर्ष चीनमा मूर्तिकला विषयमा पढेर स्वदेश फर्केका पाण्डे गढीमा रमाएका छन् । ५ फिट अग्लो मूर्ति तयार पार्दैछन् । ‘ग्रयाण्डर’, छिनो, ‘ह्यम्मर’ ले ढुंगा काट्ने, कुदने गरेका छन् । पाण्डे सानामा चित्र कोर्दे । एसएलसी दिएपछि मूर्ति बनाउन थाले । चीनमा पढ्ने शिलशिलामा ८ मीटर लामो घोडाको मूर्ति बनाएका थिए । ह्म्मरले पिटेर सो मूर्ति बनाएका थिए । उनको यो पहिलो कार्यशाला हो । “गढीको प्राकृतिक सौन्दर्यता, मनमोहक छ”, उनले भने, “गढीमा आउने पर्यटक अब रमाउन पाउँनेछन् ।” पोखरामा बुद्ध दर्शनमा ‘सिलिकन मास्क’ को रोर्बटमा आर्ट गरेका थिए । लुम्बिनीको बुद्धग्राममा ‘सिलिकन मास्क’ बनाउनेछन् । सामूहिक रुपमा बुद्धको जीवनीमा आधरित स्वचालित रोबर्टमा कला देखाउनेछन् ।

(फोटोः सोमेश्वरगढीमा ढुंगामा मूर्ति कुद्न व्यस्त मूर्तिकार लालकाजी लामा)

माडी–४ सिधुवाका मूर्तिकार दिनेश्वर महतोले ‘शालीग्राम’ तयार पार्दैछन् । विष्णुचक्र सहितको धार्मिक महत्व बोकेको मूर्ति तयार पार्दैछन् । “सोमेश्वर पर्वत शालिग्रामको पहाड पनि हो”, महतोले भने, “मूर्ति हेरेपछि शालिग्रामको महत्व बुझाउन सहज हुनेछ ।” उनले गत पुसमा १९ दिन लगाएर कालिको मूर्ति बनाएका थिए । ठुला आँखा, जिब्रो निकालेको विशाल मूर्तिनै गढीको पहिलो मानव निर्मित मूर्ति हो । महतो ७ वर्षदेखि मूर्ति बनाउदै आएका छन् । मूर्तिकलामा स्नतकोत्तर गरेका दिनेश्व्र ढुंगा, मेटल, काठ, फाइबरका मूर्ति बनाउन सीपालु छन् । “गढीलाई घुम्न योग्य बनाउन मूर्तिहरुले सघाउनेछन्”, उनी भन्छन्, “मूर्तिहेर्दै गढी जाने वातावरण हुनेछ, पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।”

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले शिव पार्वतीको प्रेम झल्कने मूर्ति कुदिरहेका छन् । “यो मूर्तिले गढीको धार्मिक महत्व दर्शाउनेछ”, उनी भन्छन्, “प्रेमको अर्थ बुझाउनेछ ।” उनले ८ फिट अग्लो ढुंगा फोडेर मूर्ति बनाउदैछन् । “यहीका चट्टानलाई मूर्तिमा ढाल्दै छौँ”, उनले भने, “मिहेनत बढी गर्नुछ, २–३ दिनमा आकार आउनेछ।” उनी २० वर्षदेखि मूर्ति बनाउदै आएका छन् । अन्र्तराष्ट्रियस्तरका कार्यशालामा सहभागि भएको अनुभव समेत छ । भरतपुरको रानीपोखरीमा उनी सहितको समूहले मूर्ति बनाएको थियो । इटहरीको तालतलैया, बुटबलको हिलपार्क, किर्तिपुर लगायत ठाउँका पर्यटकीय गन्तव्यलाई चिनाउने गरी मूर्ति बनाउने काममा अगुवाई गर्दै आएका थिए । “मूर्तिहरुले पर्यटकको ध्यान तान्नेछ”, उनी भन्छन्, “गढीमा विदेशी पर्यटक आउने वातावरण बनोस् भन्ने चाहना छ ।”

माडी नगरपालिकाको पर्यटन समितिले गत बैशाख २५ देखि जेठ २ गतेसम्म आयोजना गरेको ‘कला कार्यशाला’ गरेको थियो । सोही क्रममा देशका विभिन्न जिल्लाका चित्रकार, मूर्तिकारहरुले गढीको अवलोकन गरेका थिए । “गढी चिनाउन मूर्तिको खाँचो देख्यौँ”,  ललितकला  प्रतिष्ठान नेपाल चितवनका अध्यक्ष दामोदर बरालले भने, “गढी चिनाउने उपायको खोजीमै रहेको नगरपालिका सकारात्मक बन्यो, फलस्वरुप मूर्तिहरु तयार गर्ने वातावरण बन्यो ।” नगरपालिका र प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागको आयोजनमा २३ गतेबाट १८ दिने राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला भइरहेको छ ।

३० जना मूर्तिकार सहभागि छन् । चिसापानी क्षेत्रमा रहेका दुई अस्थायी टहरामा मूर्तिकार बस्दै आएका छन् । सोलार र जेनेरेटर मार्फत बिजुली व्यवस्थापन गरिएको छ । माडी नगर पर्यटन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पुरन महतोले धार्मिक महत्व दर्शाउने धेरै मूर्तिहरु बन्ने क्रममा रहेको बताए । “शालिग्राम पार्क नजिक करिव एक दर्जन धार्मिक मूर्तिहरु बन्नेछन्”, उनले भने, “मानवीय संवेदना, राष्ट्रियता र ऐतिहासिक महत्व झल्काउने मूर्ति तयार हुनेछन् ।”

सोमेश्वरगढीमा नेपाल–भारतको ४५ नम्बर सीमा स्तम्भ छ । सोमेश्वरगढी नेपाल भ्रमण वर्ष २०२० का सूचिकृत १ सय गन्तव्यमध्ये एक हो । “मूर्तिको खुल्ला संग्राहलय बनाउन खोजेका हौँ”, उनले भने, “गढी घुम्न आउने पर्यटक मूर्ति हेरेर रमाउनेछन् ।” नगरपालिकाले गढीको गुरुयोजना समेत तयार पारेको छ । करिव ९० करोड लगानी भएमा सबै पूर्वाधार तयार पार्न सकिने गुरुयोजनाको निष्कर्ष छ । माडी नगरपालिका सूचना अधिकारी प्रविण भण्डारीले चिसापानीदेखि गोलपार्क क्षेत्रको मध्यभागमा शालिग्राम पार्क निर्माण गर्ने योजना रहेको बताए । उनले गोलपार्कमा राष्ट्रियता झल्काउने मूर्ति सहितको आकर्षक पार्क बनाउने काम भइरहेको जानकारी दिए । सोमेश्वर गढी तत्कालीन पाल्पाका राजा मुकुन्दसेनले अंग्रेजबाट बचाउन निर्माण गरेको इतिहास भेटिन्छ । मेयर ठाकुरप्रसाद ढकालले माडीको मुख्य पर्यटकीय गन्तव्यका रुपमा सोमेश्वरगढीमा पर्यटन पूर्वाधार विकास गरिने बताए । “तीनै तहका सरकारको चासो र लगानी बढेको छ”, उनले भने, “चितवनकै गहनाको गन्तव्य बन्नेछ ।” उनले गढीको गुरुयोजना अनुसारका योजना कार्यान्वयन गर्न बजेट माग भइरहेको बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट