
लेखराम सापकोटा
भरतपुर / २६ कात्तिक
सीमामा छिमेकी भारतले आफ्नो दादागिरी सदियौंदेखी देखाइरहेको छ । जसबाट नेपालीहरूले आफ्नै भूमिमा पनि भारतीय सैनिकबाट दुर्व्यवहार झेल्दै आइरहेका छन् । भारतले हालै आफ्नो नयाँ राजनैतिक नक्सा भन्दै नेपाली भूभाग समेत समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालभर त्यसको विरोधमा प्रदर्सन भैरहेको छ । लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका भूमिमाथी गरेको यो अतिक्रमणका विरुद्ध चितवनका स्रस्टाहरू सडकमा आएर विरोध जनाएका छन् । सडक कविता आन्दोलन २०७६ नाम दिएर स्रस्टाहरूले अतिक्रमणका विरुद्ध सरकारले कुटनीतिक पहल थाल्नुपर्ने भन्दै भरतपुरको चौबिसकोठीमा जम्मा भएर कविता मार्फत खबरदारी गरेका छन् ।
सरखार
म तिम्रो पूर्वी कुनाबाट
माइला लिम्बू
एउटा मामूली गोठाला
मेरो हिम्मत त हेर
तिम्रो आलिसान दरबार अगाडि
तिमीसँगै निहुँ खोज्न आइपुगेको छु ।
कविहरू चौविसकोठीको चौतारीमा उभिएर शिर र पाखुरामा कालो पट्टि बाँधेर कविता सुन्न र सुनाउन भेला भए । कवि रन्जना लिम्बुले नेपाली भूमि अतिक्रमणका विरुद्ध सरकारले घुँडा टेक्न नहुने भाव कविता मार्फत व्यक्त गरिन् । कार्यक्रममा इन्द्र रेग्मी, प्रकाश चापागाईं, सरिता तिवारी, राजेन्द्र घायल, डा. एकनारायण पौड्याल, राजेन्द्र ढकाल, ज्ञानहरि पौडेल, सुमनराज श्रेष्ठ, राजु आचार्य दीप, इन्दिरा देवकोटा, गुराँस ठकुरी लगायतले कविता वाचन गरेका थिए । उन्मुक्त पुस्ता, प्रलेस चितवन, मन्थन चितवन र साहित्य संगम चितवनले संयुक्तरूपमा कार्यक्रम आयोजना गरेका हुन् ।





