जो ज्योतिको उपहार दिन्छन्

मनोज लम्साल
“दाजु, म जस्ता मानिसलाई मद्धत गर्न तिमिले केही न केही गर्नुपर्छ, हो तिमीले अहिले नै केही गर्नुपर्छ”, आफ्नी प्रिय बहिनी याङ्लाले मृत्युशैयामा रुइतसामू भनेको यो अन्तिम वाक्य थियो । १८–१९ वर्ष पुग्दा नपुग्दै सन्दुकले आफ्नो परिवारका आधा मानिसलाई गुमाइसकेका थिए । उनको दाजु उनी जन्मनुअघि नै झाडापखालाले बिते । त्यसपछि उनकी ८ वर्षकी बहिनी चुन्दुक ज्वरोले बितिन् । अनि उनकी सबैभन्दा प्यारी बहिनी याङ्ला क्षयरोगले ।

समुद्री सतहदेखि तीन हजार दुई सय मिटरमाथि रहेको, उत्तरपूर्वी नेपालको ओलाङचुङगोला भन्ने गाउँमा सन्दुकको जन्म सन् १९५४ मा भएको हो । युवा अवस्थामा प्रवेश गर्दै गरेका सन्दुकले जब आफ्नै अगाडि आफ्ना परिवारका सदस्यहरु सामान्य रोगले मर्दै गरेको देखे, तब उनले अधिकांश नेपालका ग्रामीण क्षेत्रका मानिसले झै यसलाई नियतिको खेल मान्न अस्वीकार गरे ।
नेपालका स–साना केटाकेटीले सजिलै निको हुने रोगहरुबाट अकालमै मर्नुपरेको देखेर सन्दुक आक्रोशित भए । उनलाई आफ्नी बहिनी याङ्लाको अन्तिम क्षण बारम्बार याद आइरह्यो । तब उनलाई आफ्नो जीवनमा गर्नुपर्ने कामको बोध भयो । हो उनलाई डाक्टर बन्नु थियो । अनि सुरु हुन्छ कञ्चनजंघाको छेउ तमोर नदीको खोँचमा जन्मिएको एउटा युवाको संघर्षको कहानी ।

आफ्नो पहिलो सन्तानको महामारीमा परी मृत्यु भएपछि सन्दुकका बाबु सोनाम र आमा कासाङ छोरोको वरदान माग्दै दिनदिनै गाउँको गुम्बामा धाए । एक वर्षपछि नै जब उनले छोरो पाइन्, तब सबैले त्यसलाई भगवानको वरदान माने र त्यस बालकको नाम सन्दुक राखियो, जसको अर्थ हुन्थ्यो–‘आकाशको ड्रयागन’ । आगो ओकाल्ने अजङ्गको पौराणिक जीव ।

चौरीहरुका घण्टीको टिङटिङ, गुम्बजको मन्त्र वाचन र ढोलको आवाज, तमोर नदीको सुसाइ, धूपी र भोजपत्रका बोटहरुबाट आउने सिरसिर आवाजका बीच बाहिरी संसारबाट बिल्कुलै बेखबर रहेर सन्दुकको बाल्यकाल बित्यो । कोलकाता र तिब्बतको यात्रामा आफ्ना कयौं वर्षहरु बिताएका सन्दुकका बाबु सोनामलाई शिक्षाको महत्व राम्रैसँग थाहा भएको थियो । त्यसैले उनले सात वर्ष पुगेका सन्दुकलाई घरबाट टाढा दार्जिलिङको सेन्ट रोबर्ट्स स्कूलमा भर्ना गरिदिए । स्कूलका संरक्षक थिए फादर म्याके, जसले सन्दुकलाई स्कूलका उनका सुरुआती दिनमा निकै आडभारोसा दिए । स्कूले जीवनपछि उनी सन् १९७२ मा १९ वर्षको उमेरमा किङ जर्ज मेडिकल युनिभर्सिटीमा भर्ना भए । कलेजमा भर्ना भएको केही समयमा नै उनी एक लोकप्रिय र मेहनेती विद्यार्थीको रुपमा चिनिन थाले । त्यसले उनिप्रति उनको सहपाठीको आदारभाव वृद्धि गर्दै लग्यो ।

सन् १९७८ मा आफ्नो स्नातक पूरा गरी उनी वीर अस्पतालमा कनिष्ठ मेडिकल अधिकृतको रुपमा जागिरे भए । रुइतको जीवनमा महत्वपूर्ण फड्को त्यो बेला आयो, जब उनी नेत्र चिकित्सा विभागमा सामेल भएर विभागका टोलीसँग दुर्गमका शल्यक्रिया शिविरहरुमा जान थाले । सयभन्दा बढी आन्धोपन भएका मानिसहरु आफ्नो नातेदारको हात समातेर शिविरमा आएका थिए । शल्यक्रियापछि उनीहरु आफैँ ठमठम हिँडेर गएको दृश्य देख्दा उनलाई नेत्रज्योति फर्काउनु भनेको जीवनदान गर्नुसरह हो भन्ने लाग्यो ।

सानो अंग आँखाले मानिसको जीवनमा खेल्ने महत्वपूर्ण भूमिकाको बारेमा उनले प्रत्यक्ष देख्ने मौका पाए । उनलाई आफ्नो लक्ष फेला पारेको अनुभव भयो । उनले विश्व स्वास्थ्य संगठनले नेत्र चिकित्साको पोस्टग्य्राजुएट डिग्रीको लागि भारतमा दिइने छात्रवृत्ति हात पारे । त्यहाँ उनले क्षयरोगले बाँदरलाई अन्धो बनाउँछ कि बनाउँदैन भनेर शोधप्रबन्ध लेखे । इन्स्टिच्युटको माथिल्लो तल्लाको पिँजडामा २० वटा बाँदरलाई राखिएको थियो । बाँदरको रेखदेख गर्नेलाई पैसा, ह्विस्की, दामी चुरोट घूस दिएर उनले बाँदरको शल्यक्रिया गरी घण्टौँ बिताए । यसले उनलाई पछिसम्म पनि उत्कृष्ट शल्यचिकित्सक हुन मद्धत ग¥यो ।
१९८० को दशकको मध्यतिर उनी आफ्नो काम र दक्षताले नेपालमा आँखाको उत्कृष्ट डाक्टर बन्ने दिशामा तीव्रताका साथ अघि बढ्दै थिए । चिकित्सासम्बन्धी शरीर रचना विज्ञान पढाउँदा त्यहीँ अध्ययनरत नन्दा नामक केटीको प्रेममा उनी परे । लामो रस्साकस्सीबीच जातीयताको बन्धनलाई तोडेर उनीहरुको प्रेम विवाहमा परिणत भयो । विवाहपछि उनीहरु नेदरल्यान्ड र पछि अष्ट्रेलिया पुगे । अन्तरजातीय विवाहको कारण पनि उनीहरुलाई काठमाडौँमा बस्न मुस्किल भएको थियो । अष्ट्रेलियामा उनीहरु प्रतिभाशाली नेत्र चिकित्सक प्रोफेसर फ्रेड हलोजको आतिथ्यमा बसे । अष्ट्रेलियामा प्रिन्स अफ वेल्स अस्पतालको नेत्र चिकित्सा विभागमा सन्दुकले इन्ट्राअकुलर लेन्स सर्जरीको नामक चमत्कारी पद्धतिको बारेमा दक्षता हासिल गरे  ।

सन् १९८८ मा नेपाल फर्केपछि सन्दुकले इन्ट्राअकुलर विधिको प्रयोगले मोतियाविन्दुको शल्यक्रिया सुरु गरे । यो पद्धति सस्तो, छिटो र कम साइड इफेक्ट हुने र एकदमै सानो घाउ बनाएर पनि गर्न मिल्ने उत्कृष्ट उपचारको विधि थियो । तर, उनको यो चमत्कारिक कामप्रति उनकै आफ्ना सहकर्मी निकै चिढिए । उनले ग्रामीण भेगमा क्लिनिक खडा गर्न आवश्यक इन्ट्राअकुलर लेन्स र बोकी हिड्न मिल्ने माईक्रोस्कोपको बन्दोबस्त मिलाउन थाले ।

नेपाल आँखा अस्पतालका प्रमुखलगायत अन्यले उनलाई हतोत्साहित बनाउन खोजे पनि उनी आफ्नो मिसनमा लागि नै रहे । उनले आफ्नो टोलीका सदस्यहरु डा. रीता, नवीन, करुणा, विना र भागिरथसँगै रवीन्द्र श्रेष्ठ र डा. गोविन्द पौडेलको सहयोगले इन्ट्राअकुलर लेन्स विधिको प्रयोग गरी नेपालमा मोतियाविन्दुको शल्यक्रियामा शानदार सफलता हासिल गर्दै रहे ।
उनले नेपालबाहेक भुटान, तिब्बत, म्यानमार, कोरिया, इण्डोनेसियालगायत थुप्रै मुलुकका करिब एक लाख बीस हजारको नेत्रज्योति फर्काउन मद्धत गरे । उनले असहयोग बढ्दै गएपछि सन् १९९० मा सरकारी अस्पतालको जागिर छाडे र सन् १९९४ मा तिलगङ्गा आँखा प्रतिष्ठानको स्थापना गरे । यस कार्यमा उनलाई जगदीश घिमिरे, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रवीन्द्र श्रेष्ठलगायतले निरन्तर सहयोग गरे ।

तिलगङ्गा र नेपाल नेत्रज्योति संघजस्ता संस्थाले नेपालमा विगत ३० बर्षमा अन्धोपनको करिब आधा संख्या घटाएको छ । यो नतिजाका लागि रुइतलाई अष्ट्रेलियाको फ्रेड हलोज फाउन्डेसन, स्वीट्जरल्यान्डको भिजन हिमालय र अमेरिकाको हिमालयन क्यार्टयाक्ट प्रोजेक्टले सहयोग गर्दै आइरहेको छ । भुटानमा अहिले उनको सहयोगमा अस्पताल निर्माण भइरहेको छ र २०१९ मा नै यस अस्पतालको खुल्ने छ । ४५ जाना कर्मचारीले दिनको दुईसय बिरामीलाई हेर्ने गरी खुल्ने यो अस्पतालको प्रमुख संरक्षक भुटानकी मुमा रानी रहेकी छन् ।

रुइतले विकास गरेको आँखाको उपचार विधि ‘रुइतेक्टोमी’को नामले विश्वभरि फैलिएको छ  । नेपालमा अहिले जम्मा चार डलरमा लेन्सको निर्माण भइरहेको छ । खासगरी नेपालजस्तो पछौटे मुलुकमा अन्धोपन भएको मान्छेहरुको शिक्षा, स्वास्थ्य, सरसफाइलगायत उचित हेरचाह नहुने भएकाले अन्धोपनलाई एउटा अभिशाप नै मानिन्छ । त्यसैले अन्धोपन भएका मानिसहरु नारकीय जीवन बिताउन बाध्य भइरहेका हुन्छन् । यस्तो अवस्था डा. रुइतलगायतको प्रयासले सम्पूर्ण समुदाय र राष्ट्रमा नै एउटा सकारात्मक ऊर्जा र सन्देश दिएको छ ।

साच्चै उनले नेत्र चिकित्साको क्षेत्रमा चमत्कारपूर्ण कार्य नै गरेका छन् । सामान्यतया ४०–४५ मिनेट लाग्ने शल्यक्रिया उनी १० मिनेटमै सक्छन् । प्रसिद्ध हलिउड अभिनेता रिचर्ड गिअरले भने झैँ ज्योतिको उपहार दिँदै गरेका रुइतलाई देख्नु कसैले दोस्रो जीवन दिइरहेको हेर्नु झैँ हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट