एकदेव अधिकारीका केही लघुकथाहरू

१. गाँस, बास र कपास

सामान्य लाज ढाक्ने पहिरनमा बैशाखी टेक्दै ऊ त्यहाँ आइपुग्यो ।

उसका आँखाहरू उसको अगाडि राखिएको कन्टेनरमा थियो । सायद ऊ कुनै चिजको प्रतीक्षामा थियो । उसको पिठ्युँको थोत्रो बोराभित्र सायद अनन्त कथाहरू लुकेका थिए ।

एकैछिनमा होटेलबाट फोहरको डुंगुर लिएर एउटा भ्यान आयो र कन्टेनरमा फोहोर फ्याँकेर गयो । ऊ विस्तारै त्यही फोहोरको डुंगुरबाट सग्ला खानेकुराहरूको टुक्राहरू खोज्दै एउटा प्लास्टिकको झोलामा राख्दै गयो ।

भुस्याहाहरूले तीन तिरबाट झम्टे, बैशाखीको सहाराले आफ्नो तथा झोलामा जम्मा गरेको खानेकुराको बचाउ गरÞ्यो । त्यही क्रममा कैयन् पटक चिथोरियो, थेचारियो तर उसको सहारा बैशाखीले साँच्चै नै उसलाई भरथेग ग¥यो ।

पलास्टिकको खानेकुरा हेरेर मुसुक्क हाँस्यो र आफ्नो सारंगी जस्तो भोको पेट मुसा¥यो । उसको कटेरोमा उसको प्रतीक्षामा बसीरहेकी जुनेली र एक जोडी भन्टाङ–भुन्टुङलाई सम्झँदै ऊ मक्ख प¥यो–“आज त सबैलाई पेट भरी खान पुग्छ ।”

यसो निक्लन के आँटेको थियो महानगरको गाडी नजिकै आएर घ्याच्च रोकियो । “ओइ त्यो पागललाई समात !” उसले सुनेको मात्र के थियो दुईओटा भुस्तिघ्रेहरू गाडीबाट निस्केर उसलाई दुवैतर्फबाट च्याप्प समाते ।

अनि अर्कोचाहिँ आएर उसको थोत्रो बोरा र त्यो पलास्टिकको झोला खोसे र कन्टेनरमा फ्याँकिदिए अनि त्यो कन्टेनर उठाएर गाडीमा राखे । ऊ जाँदै गरेको गाडीलाई हेरिरह्यो । ऊ गाडीको पछाडि लेखिएको अक्षर पढ्न त सक्तैनथ्यो । तर, उसले धेरै पटक सुनेको थियो–“महानगरको नारा–सबैलाई गाँस, बास र कपास ।”

२. वार्षिक खेलकुद

अल्छी गरेर ओछ्यानमै पल्टिरहेको विवेक यसो उठेर भित्तामा दौडिरहेको माउसुलीतिर आँखा दौडायो । एकछिन हेरिरह्यो । माउसुली कहिले भित्ते पात्रोको छेल पथ्र्यो, कहिले बाहिर निक्लन्थ्यो ।

भित्तेपात्रोभित्र माउसुली दौडँदा किन्द्रङ्ग आवाज आयो । विस्तारै उठ्यो र भित्तेपात्रो भएतिर गयो । पात्रो उठायो । पात्रोको पछाडि सुनौलो रङको मेडल रातो रिबनमा झुण्डिरहेको थियो । “वार्षिक टेबलटेनिस प्रतियोगितामा प्रथम’ गोलाकारमा मिलाएर राम्रा अक्षरले लेखिएको मेडल हेर्दै उसको मन भूतकालतिर बत्तियो ।

निकै उत्साहसाथ टेबलटेनिस प्रतियोगितामा भाग लिएको थियो उसले । आफू सातौँ कक्षामा हुँदैमा उसले आफूभन्दा तीन वर्ष सिनियर दश कक्षामा पढ्ने दिनेशलाई सोझो सेटमा हराएर प्रथम भएको थियो । उसको खुसीको सिमाना थिएन । बुबाले बधाई दिनुहोला, स्याबासी दिनुहोला, यस्तै कति कल्पना बुन्दै, अत्यन्तै खुसी हुँदै उसले बुबालाई मेडल देखाएको थियो । “के–के न गरिस् । पढ्ला र राम्रो नम्बर ल्याएर परीक्षा उत्तीर्ण होला भनेर स्कूल पठाएको छोरो टेबलटेनिसको मेडल ल्याएर ठूलो काम गरिस् ।” बुबाको यो वाक्य उसको मनमा गड्यो ।

आठ कक्षाको वार्षिक खेलकुद कार्यक्रममा उसले बुबाको वाक्य झल्झली सम्झियो र अघिल्लो वर्षको विजेता दोस्रो राउण्ड पनि प्रवेश नगरिकन पहिलो राउण्डमै पराजित भयो । “होइन स्कूल जाने होइन, किन अलङ्टलङ् गरिराख्या ?” आमाको यो वाक्यले ऊ झसंग हुँदै वर्तमानतिर फर्कियो । भित्ताको माउसुली छततिर पुगिसकेको थियो ।

“स्कूलमा वार्षिक खेलकुद छ । यसपालि मैले भाग लिएको छैन, त्यसैले स्कूल जानु पर्दैन”, यसो भन्दै ऊ कोठाबाट बाहिरियो ।

३. झण्डा

धेरै दिनदेखि लघुकथा कुनो तथा मझेरीमा उपस्थिति जनाउन सकेको थिइनँ, त्यसैले आज एउटा कथा लेखेर पोष्ट गर्ने बिचारले कम्प्युटर सुरू गरेँ, कथाको विषयवस्तु सोच्दै थिएँ कि ढोकाको कलबेल बज्यो ।

बाहिर निस्केँ, जुझारू पार्टीका नेता, उम्मेदवार तथा कार्यकर्ताहरू स्वागत गर्न बसेका रहेछन् । दश औँलाका समूहहरू अचानक एक हुँदै गए । “अधिकारीजी नमस्कार ।” मैले केही भन्न नपाउँदै अबिरले छोपिएको अनुहार अघि सार्दै उम्मेदवार मित्र अघि सरे ।

“हजुरको साहित्यप्रतिको अभिरूची मलाइ राम्ररी थाहा छ । म पनि धेर थोर साहित्यमा समय दिने गरेको छु, त्यहि अपनत्वको कारणले म हजुरकहाँ पनि आएको हुँ । यसपालि हामीलाई सम्झनुहोला ।”

वरिपरिका सबै घरहरूमा हाम्रा प्रतिद्वन्द्वीहरूको झण्डा राखीएको रहेछ । “हजुरको घरमा चाहिँ यो राखिदिनुहोला”, मेरो हात तानेर झण्डा राखिदिँदै पार्टीका स्थानीय कार्यकर्ताले भने ।

“हामीलाई यहाँप्रति पूर्ण विश्वास छ । हवस् त हामी आज यो क्षेत्रको घरदैलो कार्यक्रम भ्याउनुपर्ने छ”, भन्दै गरमजोशका साथ हात मिलाउँदै सबै फर्के ।

भित्र पसेँ र फेरि कम्प्युटरको अगाडि बसेको मात्र के थिएँ कलबेल फेरि बज्यो । बाहिर हेर्दा देशको सबैभन्दा पुरानो पार्टीका उम्मेदवारहरू र कार्यकर्ता त्यही शैलीमा उभिएका रहेछन् ।

“नमस्कार बाबु” उम्मेदवार अघि सरे । “बुबा कता हुनुहुन्छ कुन्नि ।” बुबाले त मलाई राम्ररी चिन्नुहुन्छ । अनि बाबु पनि मेरी छोरीको सहपाठी हुनुहुँदो रहेछ । छोरीले बेला–बेलामा कुरा गर्छे । यसपालिचाहिँ हामीलाई सम्झनुहोला ।”

“घरमा झण्डा राख्नुभएको रहेनछ । मलाई पक्का थाहा छ, त्यो ठाउँ हाम्रै झण्डाको लागि हो ।” हातमा झण्डा राखिदिँदै कार्यकर्तालगायत सबै विदा भए ।

भित्र फर्केँ अघि झण्डा राखेको ठाउँमा त्यो झण्डा पनि राखेर फेरि कम्प्युटरमा बसेँ । विषयवस्तु फुरे झैँ भान भयो लेख्न लागेको मात्र के थिएँ फेरी कलबेल बज्यो । बाहिर अर्को ठूलो पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरू त्यसरी नै उभिएका थिए ।
“हजुर पनि यसो निस्कने हैन त हामीसँग”, उम्मेदवारले सम्बन्ध जोडे, “हजुर हाम्रो सम्बन्धलाई यसपालि त अझ गाढा बनाउनु पर्छ ।”

“घरमाथि यो झण्डा है त ।” कार्यकर्ताले झण्डा हातमा राखिदिए र केही भन्न नपाउँदै सबै फर्के । भित्र पसेँ र सबै झण्डाहरू नियालेँ । केही बेरपछि दराज भित्रबाट सूर्य चन्द्र अंकित राष्ट्रिय झण्डा निकालेर भ¥याङ चढेँ ।

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट