विप्लव काफ्ले
भरतपुर, २१ कात्तिक
माडीस्थित सोमेश्वरगढीलाई ‘मूर्तिसहितको फूलबारी’ बनाइने भएको छ । राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला आयोजना गरी माडी नगरपालिकाले गढी क्षेत्रमा मूर्ति बनाउन लागेको हो । नेपाल ललितकता प्रज्ञा प्रतिष्ठान मूर्ति विभागसँग सम्झौता गरेको छ । ३० जना मूर्तिकारले १८ दिनसम्म मूर्ति कुद्ने छन् ।

उपमेयर ताराकुमारी काजी महतोले प्राकृतिक ढुंगामै कुदेर मूर्ति तयार पारिने बताइन् । “पर्यटकलाई आकर्षित गर्ने गरी मूर्ति बन्नेछन्”, उनले भनिन्, “गढीको ऐतिहासिक, धार्मिक र सांस्कृति महत्व उजागर हुनेछन् ।” नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले सूचीकृत १ सय गन्तव्यमध्ये सोमेश्वरगढी पनि एक हो । नेपाल–भारत सीमानाको सबैभन्दा अग्लो शिखरमा गढी पर्छ । गढीमा नेपाल भारतको २४५ नम्बर सीमा स्तम्भ छ ।
यही २३ गतेदेखि मूर्ति कार्यशाला सुरु हुनेछ । प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले गढीलाई मूर्तिसहितको फूलबारीका रुपमा विकास गरिने बताए । “फेदीदेखि गढी जाने छेउछेउमा मूर्तिहरु बनाइनेछ”, उनले भने, “मूर्ति नजिकै आकर्षक फूलबारी तयार पारिनेछ, ‘सेल्फी’ फोटो लिने ठाउँहरु बन्नेछन् ।”
उनका अनुसार करिब डेढ किमी दूरीभित्रै ३० मूर्ति तयार हुनेछन् । मूर्तिकार दिनेश्वर महतोले अन्तर्राष्ट्रियस्तरका कार्यशालामा सहभागी हँुदै आएका अधिकांश मूर्तिकार सहभागी हुने जानकारी दिए । “स्थलगत अध्ययन गरेका छौँ, ढुंगाहरु पहिचान गरिसकेका छौँ”, उनले भने, “गढीलाई पर्यटक लोभ्याउने केन्द्रका रुपमा विकास हुने अपेक्षा लिएका छौँ ।”
उनका अनुसार चितवनका ७ मूर्तिकार कार्यशालामा सहभागी हुनेछन् । माडी पर्यटन समितिका अध्यक्ष तथा ३ का वडाध्यक्ष पुरन महतोले सोमेश्वरगढी माडीकै प्रमुख गन्तव्यका रुपमा विकासको प्रक्रियामा रहेको बताए । “गढीबाट माडी, भारतका फाँटहरु नियाल्न सकिन्छ”, उनले भने, “प्रकृतिमा रमाउँदै ट्रेकिङ गर्न पाइनेछ, आवश्यक पूर्वाधार बन्दैछन् ।” माडी खेलकुद तथा सांस्कृतिक समिति अध्यक्ष तथा ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले गढीमा पर्यटन गतिविधि बढ्न थालेको बताए । कार्यशालाका लागि २५ लाख बजेट विनियोजन गरिएको छ ।
गढीमा २ करोड बढी
सोमेश्वर गढी तत्कालीन पाल्पाका राजा मुकुन्दसेनले अंग्रेजबाट बचाउन निर्माण गरेको इतिहास भेटिन्छ । गढीमा पुग्न विगतमा करिब दुई घण्टा ३० मिनेट पैदल हिड्नुपर्ने अवस्था थियो । हाल फेदीदेखि करिब ३ किमी उकालो मोटर बाटो निर्माण भएपछि ३० मिनेट पैदलबाटै गढी पुग्ने वातावरण बनेको छ । गढीलाई खुला मूर्ति संग्रहालयका रुपमा विकास गरिँदै छ ।
“यो वर्ष गढीमा करिब २ करोड बढी लगानी हुँदैछ”, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भने, “पर्यटन पूर्वाधारका काम द्रुत गतिमा बनाइँदैछ ।” उकालो मोटर बाटोमा ढल बनाउने, पाहुना घर थप्ने, सोमेश्वर कालिका मन्दिर नजिकै सिंढी बनाउने, आकर्षक गेटलगायतका पूर्वाधार बन्ने क्रममा रहेको बताए । नगरपालिकाका प्रवक्ता तथा ९ का वडाध्यक्ष शिवहरि सुवेदीले २ करोड ७५ लाख बराबरका गढीमा पर्यटन पूर्वाधारका लागि राष्ट्रिय योजना आयोग, प्रदेश योजना मन्त्रालयमा प्रस्ताव गरिएको बताए ।
गत वर्षसम्म करिब ३ करोड बढी लगानी भइसकेको बताए । मगुइदेखि चिसापानी जाने करिब ३ किमी उकालो मोटर बाटो, घोलघर, ५ वटा पाहुना घर, स्वीमिङ पुल, पार्किङ नजिकै फूलबारी बनाउनेलगायत काम भएका छन् । गतवर्ष स्वीकृत सोमेश्वरगढी गुरुयोजनामा करिब ९० करोड बराबरका पर्यटन पूर्वाधार बनाउने लक्ष्य छ । ५ वर्षभित्र करिब २२ करोड बराबरको पूर्वाधार बनिसक्ने लक्ष्य निर्धारण गरिएको छ । माडीमा पर्यटकीय गन्तव्यलाई लक्षित गरेर होमस्टे, रिसोर्ट, सडक पूर्वाधार बनाउने काम तीव्र बनेको छ ।





