२१ कात्तिक ।
कविडाँडा साहित्य समाज चितवनले हरेक वर्ष प्रदान गर्ने कविडाँडा साहित्य सम्मान अन्तर्गतका विभिन्न सम्मान तथा पुरस्कारहरु सार्वजनिक गरेको छ । जसअन्तर्गत कविडाँडा साहित्य सम्मान एवम् देव–खीना स्मृति पुरस्कार–२०७६ साहित्यकार इन्द्र रेग्मीलाई दिने भएको छ ।

यसैगरि वर्षका उत्कृष्ट पुस्तकका रूपमा दुईवटा पुस्तकलाई पुरस्कृत गर्ने घोषणा गरेको छ । जसअन्तर्गत कविडाँडा अविनाशी उत्कृष्ट कृति पुरस्कार २०७५ आख्यानकार भूपिनको उपन्यास ‘मैदारो’ र कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०७५ महेश थापाको कथा सङ्ग्रह ‘मरिचिका’ लाई प्रदान गर्ने भएको छ ।

समाजले आह्वान गरेको कथा प्रतियोगिता २०७६ का उत्कृष्ट कथाको सूची पनि सार्वजनिक गरेको छ । वर्णानुक्रमअनुसार सार्वजनिक गरिएको कथासूचीमा इन्द्रबहादुर भण्डारी (बाँके) को ‘जमिल खाँको मिसन प्रस्ताव’, गायत्रीकुमार चापागाईं (मोरङ) को ‘आरोहणको व्यथा’, चरित्रा शाह भण्डारी (बाँके) को ‘सम्बन्ध’, टङ्कबहादुर आलेमगर (उदयपुर) को ‘फेसबुके बाजे’, मन्दिरा मधुश्री (काठमाडौँ) को ‘कुमारी कोख’, मुना चौधरी (बाँके) को ‘समध’, पुण्यप्रसाद खरेल (झापा) को ‘घोडा’, राजेश विद्रोही (सप्तरी) को ‘भोज’, सिर्जन अविरल (चितवन) को ‘मोड’, हरिप्रसाद अधिकारी (भोजपुर) को ‘चार मन दाउरा’ र हिरा लामा (चितवन) को ‘बाजे’ कथा छन् । यिनै कथामध्येबाट प्रथम, द्वितीय र तृतीयको घोषणा गरिनेछ ।
यी सबै स्रष्टा तथा कृतिहरूलाई मंसिर ७ गते चितवनको सौराहामा हुने कार्यक्रममा पुरस्कृत एवम् सम्मान गरिने समाजका अध्यक्ष एलबी क्षेत्रीले कायाकैरनलाई बताए ।





