राजेश घिमिरे
मेघौली, १९ कात्तिक
चितवनको मेघौली पश्चिम क्षेत्रतर्फ प्रदेश नम्बर ३ कै सबैभन्दा छेउको गाउँ हो । जिल्ला सदरमुकाम भरतपुरबाट करिब २५ किलोमिटर पश्चिममा रहेको यो ठाउँ विकासका दृष्टिले पछि छ । कृषि र पर्यटनमा आधारित जीवनस्तर भएका स्थानीयका बालबालिका पढ्ने यहाँको साझापुर माध्यामिक विद्यालयको शैक्षिक स्तर पनि औषत हो । तर गत वर्ष नेपाल सरकारले ल्याएको एक प्रदेश एक स्मार्ट विद्यालय अवधारणामा परेपछि भने यस विद्यालयमा प्रगतिका थुप्रै संकेतहरु देखिएका छन् ।

पाँच महिना अघिसम्म शिक्षकले बोलेका र सेतोपाटीमा लेखाएका कुरालाई पढाई मान्ने यहाँका विद्यार्थी अहिले कम्प्युटरको माध्यमबाट पढ्छन् । कक्षा ७ देखि १२ सम्म पढाइ हुने कोठाहरुमा प्रोजेक्टर जोडिएका छन् । विद्यालयमा तीब्र गतिको इन्टरनेट जोडिएको छ । यसको माध्यमबाट प्रोजेक्टरमा सम्बन्धित भिडियो, अडियो, तस्वीर, लेखहरु प्रस्तुत गर्दै शिक्षकले विद्यार्थीहरुलाई पढाउने गर्दछन् ।

“पहिले सरहरुले भनेका कुरा सुन्ने, टिप्ने घोक्ने गर्नुपर्दथ्यो । तर अहिले कम्प्युटरबाट पढाइ हुँदा सरहरुले विभिन्न स्रोतहरुबाट भिडियो, तस्वीरहरु खोजेर हामीलाई देखाउनुहुन्छ । यसले हामीलाई सिकाएका कुरा सम्झन सहज भएको छ”, कक्षा दशमा अध्ययनरत विद्यार्थी दीपीका चौधरीले भनिन् । विद्यालय स्मार्ट बनेपछि शिक्षकहरुले पनि मेहनत बढी गर्नुपर्ने भएकाले त्यही अनुसारको शिक्षा पाएको अनुभुती उनले गरेकी छन् । “विद्यालय स्मार्ट बनेपछि शिक्षक स्मार्ट, अनि विद्यार्थी झनै स्मार्ट”, चौधरी भन्छिन्, “सरकारले त विद्यालयलाई स्मार्ट बनायो अब हामीले यसको उपयोग गर्दै देश र विश्वलाई नै देखाउनुपर्छ ।” कक्षा नौ की इन्दिरा रिजालले लेखा, अंग्रेजी, नेपाली, स्वास्थ्य, विज्ञानलगायतको विषयको पढाइमा अहिले निकै सजिलो भएको सुनाइन् ।

गत बैशाखमा सम्झौता भएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यालयलाई स्मार्ट बनाउन ६० थान कम्प्युटर, १२ थान स्मार्ट बोर्ड, १६ थान सीसीटीभी क्यामेरा, १४ थान प्रोजेक्टर तथा १४ थान साउण्ड सिस्टम उपलब्ध गराएको थियो । विद्यालयमा अन्यस्रोतबाट प्राप्त भएको १२ वटासमेत गरेर अहिले ७२ वटा कम्प्युटर छन् । सबै कक्षामा एक/एक थान कम्प्युटर, प्रोजेक्टर, सीसीटीभी क्यामेरा र साउण्ड सिस्टम राखिएका छन् ।

बाँकी कम्प्युटरलाई दुईवटा ल्याब बनाएर राखिएको छ । दुबै ल्याबमा २४/२४ वटा कम्प्युटर, स्मार्ट बोर्ड राखिएका छन् । यहाँ विद्यार्थीहरुलाई कम्प्युटर सिकाउने देखि कुनै विषयमा महत्वपूर्ण सामग्री देखाउनुपर्दा एकै ठाउँमा राखेर देखाइन्छ । कम्प्युटर ल्याबमा विद्यार्थीहरुलाई चेलीवेटी बेचविखन सम्बन्धी वृत्तचित्र देखाइरहेका विद्यालयका सामाजिक विषयका शिक्षक अर्जुन विकले भने, “नेपालका चेलीहरु कसरी बेचिन्छन् भन्ने बारेमा जतिव्याख्या गरेपनि बुझाउन नसकेको कुरा भिडियो देखाउँदा विद्यार्थीले सहजै बुझ्ने गरेका छन् ।” यो विधिबाट पढाउँदा विद्यार्थीको ध्यान केन्द्रित हुने भएकाले शिक्षकहरुले सोचेको भन्दा धेरै प्रगति भइरहेको उनले बताए ।

सीसीटीभी क्यामराले पनि पढाइमा सुधार ल्याउनुका साथै विद्यार्थीलाई अनुशासित बनाएको छ । प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुले नियमितरुपमा कार्यालयमा बसेर सीसीटीभी क्यामराबाट विद्यार्थी, शिक्षक र पढाइ बारे निगरानी गर्ने भएकाले सबैलाई अनुशासनमा बस्न बाध्य बनाएको छ ।

विद्यालयलाई स्मार्ट बनाउन मन्त्रालयले ८३ लाख रुपैयाँ बराबरको सामग्री दिएको विद्यालयका प्रधानाध्यापक तेजेन्द्रप्रसाद भुषालले बताए । ती सबै सामग्रीको जडान पनि मन्त्रालयले नै गरिदिएको थियो । यस बाहेक आवश्यक फर्निचर तथा व्यवस्थापनका लागि विद्यालयले आन्तरिक स्रोतबाट सात लाख रुपैयाँ खर्च गरेको भुषालले बताए । समयक्रम सँगै शिक्षणमा सूचना प्रविधिको प्रयोग अनिवार्य बनेको भन्दै प्रधानाध्यापक भुषालले परम्परागत प्रणालीलाई त्याग्दै शिक्षामा प्रतिष्पर्धी बन्न विद्यालय अग्रसर भएको बताए । स्मार्ट विद्यालय बनेसँगै विद्यार्थीहरुको आकर्षण, रुची बढेको भन्दै उनले सिकाइमा पनि सहज भएको बताए ।

“सुरुआती दिनमा हामी सूचना प्रविधिसँग राम्रोसँग अभ्यस्त थिएनौं, हामीलाई काम गर्न केही गाह्रो पनि भयो”, भुषालले भने, “पछि मन्त्रालयले पनि शिक्षकहरुलाई तालिम प्रदान ग¥यो । विद्यालयकै कम्प्युटर शिक्षकले पनि अन्य शिक्षकहरुलाई सामग्रीको प्रयोगबारे सिकाउनुभयो ।” अहिले सबै शिक्षकहरु प्रविधिमा दक्ष भएको भन्दै उनले विद्यार्थीहरु पनि सूचना प्रविधिसँग अभ्यस्त हुन थालेको बताए । “प्रविधिका कतिपय विषयमा शिक्षकलाई भन्दा विद्यार्थीहरुलाई छिटो र धेरै जानकारी हुने रहेछ”, प्रअ भुषालले सुनाए, “त्यसैले पनि हामीले शिक्षकलाई अझ बढी स्मार्ट बनाउने प्रयास गरिरहेका छौं ।”

मेघौलीमा साझापुर माविबाट दुई किलोमिटर पर जानकी मावि र तीन किलोमिटर पर सरस्वती मावि छन् । साविकको मेघौली गाविसमा तीन वटा संस्थागत विद्यालयहरु पनि छन् । “विद्यालय स्मार्ट बनेपछि यहाँको शैक्षिक गुणस्तरबारे जानकारी पाएका अभिभावकहरु निकै उत्साहित भएको पाएका छौं”, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालमायाँ अधिकारीले भनिन्, “बोर्डिङ स्कूलबाट निकालेर सरकारी स्कूलमा विद्यार्थी भर्नागर्ने क्रम यसै वर्षबाट सुरु भइसकेको छ ।”

अध्यक्ष अधिकारीका अनुसार विद्यालयले कक्षा १० सम्मका विद्यार्थीहरुबाट कुनै पनि शीर्षकमा शुल्क लिँदैन । उच्च माविका विद्यार्थीहरुबाट लिइने शुल्क, विद्यालयको जग्गा भाडामा लागाएर आएको रकम र चन्दाबाट विद्यालयले निजी स्रोतका ५ जना शिक्षकहरु पनि राखेको उनले बताइन् । आगामि दिनमा सूचना प्रविधिका सामग्रीहरु मर्मत सम्भारका लागि मर्मत सम्भार कोष खडा गर्ने लक्ष्य विद्यालयको छ । “यसो गर्न सकेमा विद्यालयलाई प्राप्त भएका सामग्रीहरुको प्रयोगलाई दीर्घकालीन बनाउन सकिन्छ”, विद्यालयका सल्लाहकार श्याम अधिकारीले भने, “विद्यालयलाई प्रतिष्पर्धी बनाउन सबै जागरुक बनेर अघि बढ्दैछौं ।”

यस विद्यालयमा माध्यामिक तहका ६, निम्न माध्यामिक तहका ४ र प्राथमिक तहका ७ जना शिक्षकहरुको दरबन्दी छ । दुई जना कर्मचारीहरु पनि सरकारी दरबन्दीमै छन् । विद्यालयले नयाँ पाठ्यक्रम लागू भएसँगै कम्प्युटर विषयलाई अनिवार्य विषयको रुपमा राख्ने तयारी गरेको छ । २०११ सालमा स्थापना भएको यस विद्यालयमा अहिले ५ सय ९ जना विद्यार्थी अध्ययन गर्दछन् । विद्यालयले २०५९ सालमा माध्यामिक तहको स्वीकृति पाएको थियो । विद्यालयले अब छिट्टै औपचारिक कार्यक्रम गरी ‘स्मार्ट विद्यालय’ घोषणा गर्ने तयारी गरेको छ ।


…..





