
विप्लव काफ्ले
भरतपुर, ९ फागुन
चितवनका पानी उद्योग स्तरोन्नति अभियानमा लागेका छन् । स्वचालित मेसिन जडान नगर्ने उद्योगलाई पटक–पटक बन्द र जडान गर्न आग्रह गरेपछि उद्योगले लगानी थप गरेका छन् ।
हाते प्रविधिको भरमा पानी भर्दै आएका १० उद्योगलाई भदौ ७ गते जिल्ला प्रशासन कार्यालय चितवनको अनुगमन टोलीले शिल गरेको थियो । मापदण्ड पूरा गर्न असोज २५ गतेसम्मको म्याद दिएर सञ्चालन गर्न अनुमति दिइएको थियो ।
प्रमुख जिल्ला अधिकारी, क्षेत्रीय खाद्य प्रविधि कार्यालय हेटौंडाका प्रमुखसहितको बैठकले भदौ १० गते मापदण्ड पूरा नगरेसम्म चलाउन नदिने निर्णय गरेपनि प्रशासनमा सरोकारवाला पक्षबीचको समझदारी बनेपछि भोलिपल्टैबाट सञ्चालनमा आएका थिए । गतवर्षको चैतभित्र स्वचालित मेसिन जडान गरिसक्नुपर्ने भन्दै प्रशासनले निर्देशन दिएको थियो ।
अनुगमन बढ्न थालेपछि व्यवसायीले उद्योगको स्तरोन्नति गरेका हुन् । भरतपुर–४, लंकूमा रहेको चितवन वाटर इन्ड्रष्टिजको ‘अक्वा डाइट प्लस’ का सञ्चालक कमला सापकोटाले ३० लाख थप लगानी गरेर उद्योग विस्तार गरिएको बताइन् ।
‘स्वचालित मेसिन राखियो, । तर ‘टेक्निसियन’ पाउनै गाह्रो भयो”, उनले भनिन्, “२ महिनाको अवधि दिएर नयाँ मेसिन राख भन्दा साना उद्योग धरासयी उन्मुख हुँदा रहेछन्, राज्यले पनि प्राविधिक सहयोग गर्नुपर्छ ।” उनले १ वर्ष पहिले पुरानो उद्योग किनेकी हुन् । हाते प्रविधिबाट चल्दै आएको उद्योगमा अहिले नयाँ मेसिन जडान भएपछि कामदार पनि उत्साहित भएर सिक्न थालेका छन् ।
भरतपुर–३ मा रहेको लिप्टन सफ्ट ड्रिङ्कले करिब ११ वर्षपछि स्वचालित मेसिन भित्राएको छ । लिप्टनका सञ्चालक ईश्वरकुमार श्रेष्ठले स्वचालित मेसिन जडान गर्दा धेरै लगानी भएको बताए । “उत्पादन क्षमता नै बढेको छ, धेरैले रोजगारी पाउने वातावरण बनेको छ”, उनले भने, “प्रतिघण्टा ५ सय कार्टुन बोटल पानी तयार हुन्छ, विगतमा मुस्किलले दिनमा ४ सय कार्टुन उत्पादन हुन्थ्यो ।” स्वचालित मेसिन जडान भएसँगै उद्योगलाई मापदण्डअनुसारको बनाउन सजकता अपनाइएको बताए । उनका अनुसार हालसम्म साढे २ करोड लगानी भइसकेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका खाद्य निरीक्षक प्रदीप काफ्लेले पानी उद्योगमा सुधारका संकेतहरु देखापरेको बताए । “बुधबारको अनुगमनले सुधारका संकेत देखाएको छ”, उनले भने, “स्वचालित मेसिन भित्रााउन नसक्ने केही उद्योग बन्द भएका छन्, नयाँ मेसिनबाट हुने उत्पादनको परीक्षण चरणमा पनि भेटिए, यो राम्रो पक्ष हो ।”
उनले प्रदूषित पानीले रोगको संक्रमण फैलने भएकाले निर्देशिका कार्यान्वयनमा सक्रियता देखाइएको बताए । चितवनमा १६ वटा पानी उद्योग रहेको अभिलेख डिभिजन कार्यालयमा छ । यीमध्ये अधिकांशले स्वचालित मेसिनबाट पानी उत्पादन गर्न थालेका छन् । स्वचालित मेसिन जडान भए नभएकोबारेमा अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ ।
गतवर्षको असोज २६ गते सरकारले निर्देशिका जारी गरेको थियो । चैतभित्र सबै पानी उद्योगले स्वचालित मेसीन नराखे बन्द गर्ने प्रावधान ल्याएको थियो । स्वचालित मेसिनबाट बोतल सफा गर्ने, पानी भर्ने, बिर्को लगाउने र लेबलिङको काम हुनुपर्ने व्यवस्था गरिएको थियो । सरसफाइमा ध्यान दिनुपर्ने, प्रत्येक ४ महिनामा कम्तिमा एकपटक पानीको गुणस्तर मापन गर्नुपर्ने, प्रयोगशाला निर्माण गर्नुपर्ने, सुरक्षण शिल गरेको हुनुपर्ने, अनुज्ञापत्र लिनुपर्नेलगायतका विषय निर्देशिकामा उल्लेखित छन् ।
२ पानी उद्योगमा शिल
मापदण्डविपरीत सञ्चालनमा आएको भन्दै चितवनका २ पानी उद्योगलाई शिल गरिएको छ । भरतपुर–११ को डिसिएम मिनरल वाटर (प्योर ड्रप) र भरतपुर–१० को अक्वा गोर्खा उद्योग बन्द गरिएको छ । बुधबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको अनुगमन टोलीले बन्द गराएको हो ।
कार्यालयका प्रमुख बिक्की राउतले ७ पानी उद्योग अनुगमनका क्रममा २ वटा बन्द गरिएको जानकारी दिए । “यी दुईमा स्वचालित मेसिन जडान भएको पाइएन, सरसफाइमा पनि ध्यान नदिएको पाइयो”, उनले भने, “स्वचालित मेसिन जडान प्रक्रिया नबढाएसम्म उत्पादन तथा बिक्रि वितरण नगर्न निर्देशन दिएका छौँ ।” स्वचालित मेसिन जडान भएका ५ उद्योगलाई प्रशोधन पानीको भण्डारण, प्याकेजिङ, सामग्रीको भण्डारण, पूर्वप्रशोधन, प्रयोगशाला व्यवस्थापनमा ध्यान दिन सुझाएको बताए ।
जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन फोकल पर्सन महेशराज पौडेलले उद्योगले उपभोक्ताको स्वास्थ्यलाई हानी पु¥याउने गरी उत्पादन गर्ने उद्योग बन्द गरिने बताए । “ऐन, नियम, मापदण्ड सबैले पालना गर्नुपर्छ”, उनले भने, “रोगको संक्रमण नफैलियोस् नै भनेर पानी उद्योग पहिलो प्राथमिकतामा पारेका हौँ ।” मिनरल पानीका बोटल उत्पादन गर्न स्वचालित मेसीन राख्न नसकेपछि नेक्सस, अमृत र ओमशान्तीले जार पानी उत्पादन गर्न थालेका छन् ।





