चितवनको रामपुर क्याम्पसमा हरेक वर्ष प्रेम छताछुल्ल हुन्छ । भ्यालेन्टाइन्स डे अर्थात प्रणय दिवसको अवसर पारेर यहाँ प्रेमपत्र लेखन प्रतियोगिता गरिन्छ । यसपालि पनि १४ फेब्रुअरीमा यो प्रतियोगिता गरियाो । गण्डकी विद्यार्थी समाज र शुभारम्भ साहित्य समाजले गरेको प्रतियोगितामा १९ प्रतियोगीले प्रेमभावले भरिएको प्रेमपत्र वाचन गरेर सुनाएकामा सर्वोत्कृष्ट तीनलाई पुरस्कृत गरियो । तीनै टप थ्री प्रेमपत्र फागुन ४ गतेको कायाकैरन दैनिकमा प्रकाशित छन् । उक्त सामग्री यहाँ साभार गरिएका छन् :
(पहिलो स्थान हासिल गरेको सृष्टि अधिकारीको प्रेमपत्र)
ए मेरो हजुर,
खै कताबाट सुरु गरुँ ? लेखुँ त म के लेखुँ ? सायद तिमीलाई सबै थाहा नै छ । तर, थाहा पाएर पनि अञ्जान बन्ने तिम्रो बानी छ । सोचेकी थिएँ, कुनै दिन भेटेर नै सबै भनिदिन्छु । तर, सधैं हुने हाम्रो भेटमा सायद मनका कुरा मनमा नै रहला । सायद भेटेर पनि भेट नहोला । तिमी सधैं भन्थ्यौ नि केही भन्नु छ भने लेख । हुन त लेखक होइन म राम्रो लेख्नलाई । तर, हो आज केही भन्नु छ ।
लगभग १० बजेको समय रुम नम्बर ३०१, हाम्रो कक्षा कोठा र हाम्रो पहिलो भेट । सम्झना छ मलाई, त्यो पहिलो भेट, जब पनि सम्झिन्छु, तब हाँसो लागेर आउँछ । नराम्रो त केही गरेको थिएनौ तिमीले । तर, पनि खोइ मलाई तिमी राम्रो लाग्दैन थियो । ‘कस्तो नराम्रो मान्छे’ सायद यही भन्थें साथीभाइको माझमा । तर, हिजोको नराम्रो मान्छे, आज यति राम्रो लाग्ला, सम्झिंदा पनि हाँसो लागेर आउँछ ।
जब भेट्यौं, तब झगडा मात्र ग¥यौं । मलाई याद छैन त्यो समय, जब हामी एकअर्कासँग राम्ररी बोल्यौं । सानो कुरामा उडाउन तिमीलाई आउँथ्यो र कराउन मलाई आउँथ्यो । सधैं भन्ने गर्थें, अब यो मान्छेसँग कहिल्यै भेट नहोस् । तर, नहोस् भन्दाभन्दै आखिर समयले त्यही मान्छेसँग नजिक लिएर आयो । झुक्किएर आएको फ्रेन्ड रिक्वेस्ट डिलिट गर्छु भन्दाभन्दै कन्फर्म भएको त्यो पल सोचेकी थिएँ, भैहाल्यो केचाहिं गर्नु छ र ? तर, ‘सञ्चै छौ ?’ बाट सुरु भएको सामान्य साथी तिमी आज जीवनका हरेक कुरा बाँड्ने नजिकको साथी हौ तिमी ।
हुन त फेसबुक धेरै नचलाउने मान्छे म, तिम्रो एउटा म्यासेजको लागि घण्टौंसम्म पर्खन्थें । तिम्रो एउटा गूड मर्निङले पूरा दिन नै गूड हुन्थ्यो । समयमा नै सुत्नुपर्छ भन्ने मान्छे म, तिमीसँग कुरा गर्दाको रात कति चाँडै बित्थ्यो, थाहा नै पाउँदिन थिएँ म । तिमीसामु हुँदा मन अचानक आत्तिन्थ्यो, अब के बोल्ने होला, यताउति सोच्न थाल्थ्यो । अनि पछि फेरि सोच्दथें, हिजो झगडा गर्दा त केही भएन, आज त्यही चिनेको मान्छेसँग बोल्न किन यति डर ! सँगै भएर पनि टाढा बस्नुपर्दा लाग्थ्यो, एकपल्ट यता पनि हेरिदिए हुन्थ्यो । तर, फेरि झुक्किएर आँखा जुधेको समय यिनै आँखाले तिमीसँग लुकामारी खेल्दथ्यो ।
हुन त मनमा धेरै कुराहरू खेल्दथे, ऐनासामु तिमीलाई सम्झी एक्लै बोल्दथें । तर, तिमीसामु आउँदा सायद शब्दहरु फुट्नै गाह्रो पर्दथ्यो । अचम्म लाग्थ्यो, फेसबुकमा त्यति धेरै कुरा गर्न आउने । तर, अगाडि पर्दा केही बोल्नै नआउने । साथीहरू जिस्किएर भन्थे, ‘पागल भइस् क्या हो ?’ कोही भन्थे, ‘बिर्सिदे त्यसलाई ।’ अनि सोच्दथें बिर्सिनु नै थियो भने किन भयो फेरि भेट ? तर, समयले उसैसँग गरायो फेरि भेट । यदि एकतर्फी माया पागलपन हो भने, हो त्यो पागलपन स्वीकार छ मलाई, आनन्दित छ मेरो मन ।
तिम्रा स–साना कुराहरू सम्झिन मलाई राम्रो लाग्छ । स–साना कुराहरूलाई लिएर तिमीसँग झगडा गर्न रमाइलो लाग्छ । अनि फेरि त्यही झगडाको बहानामा तिमीलाई ‘सरी’ भनी फकाउन मन लाग्छ । विना कुरामा उडाउने तिम्रो बानी र कुरै नबुझिकन कराउने मेरो बानी सायद यस्तै छौं हामी । तिमीलाई कराउँदा–कराउँदा बल्लतल्ल पठाएको तिमीले आफ्नो त्यो पहिलो लेख सायद कतिचोटी पढें थाहै छैन मलाई । काम नभएको समय फेसबुकका तिम्रा ती फोटोहरु कतिचोटि हेरें थाहा छैन मलाई । तिमीसँग कुरा नहुँदाको समय, पुराना मेसेजहरु पढी एक्लै कति हाँसे, थाहा छैन मलाई । सायद हुँदैन हामीबीच सधैं कुरा । त्यसैले पनि होला आउँदैन तिम्रो सम्झना सधैं मलाई ।
तिमी याद आउँछौ त तब आउँछौ, जब केही खुसीका कुराहरू बाँड्नु छ तिमीसँग । तिमी याद आउँछौ त तब आउँछौ, जब आफ्नो लेख सकी पहिलो पाठकका रूपमा तिमीलाई सम्झिन्छु । तिमी याद आउँछौ त तब आउँछौ, जब केही नयाँ सुरु गर्नुअघि साथीको रूपमा साथ दिन तिमी हुन्छौ । र, तिमी याद आउँछौ त तब आउँछौ, जब मनमा पीडा हुन्छ, आँसु झार्न मन लाग्छ र रुनका लागि तिम्रो काँध चाहिन्छ ।
यतिका समय बित्यो र अझ पनि थाहा छैन मलाई, त्यो मनमा मेरो लागि के छ ? कहिले लाग्छ सायद केही छ र कहिले लाग्छ किन केही हुनु छ र ? कहिले सोच्थें साथी मात्र त हो नि ! र, कहिले सोच्थें किन हरेक सुख दुःखमा सम्झनाका रूपमा उही आउँछ । आफ्नो पीडामा सायद आँसु झर्थे । तर, उसको दुःखमा खै किन रुन्थ्यो यो मन ? आफ्नो जन्मदिन सायद त्यति खास लाग्दैन । तर, उसको जन्मदिन आउनु एक महिना अघिबाट कुरिरहन्थें म । गर्छु भनेर गरेको होइन, लगाउँछु भनेर लगाएको पनि होइन । तर, खै थाहै नपाइकन हिजोभन्दा आज नजिकको मान्छे बन्न पुग्यो ।
तिम्रो जीवनमा सायद बितेको पाना हुँ म । तर, मेरो जीवनमा सधैं याद बनी आउने मीठो सम्झना हौ तिमी । थाहा छ धेरै बोल्छु, धेरै कराउँछु, सायद विना कुरामा झगडा मात्र गर्छु । तर, जे छु, जस्तो छु, तिम्रोसामु छु । त्यसैले त होला, तिमीसँग नजिक छु ।
मलाई अझै पनि थाहा छैन, त्यो मनमा मेरो लागि के छ ? तर, आशा छ, कुनै दिन कुनै समय कुनै पल मेरो लागि माया अवश्य पलाउने छ । मलाई थाहा छ, तिमीलाई भावना व्यक्त गर्न आउँदैन । त्यसैले भनिहाल पनि भन्दिन । तर, त्यति ढिला पनि नगरिहाल्नु, फेरि तिमी भनौला र म सायद कतै हराइसकुँला ।
उही तिम्रो धेरै बोल्ने मान्छे
सृष्टि अधिकारी
,,,,,,,,,,,,,,,,,,,,,,,
दोस्रो स्थान हासिल गरेको रेनुका पौडेलको प्रेमपत्र
प्रिय,
प्रेमका प्रतीक ती मुनामदन, हीरराँझा, लैलामझ्नु, रोमियो जुलियटको अझै बखान गर्छन् दुनियाँले । किनकि ती त केवल पात्र मात्र हुन् । एक लेखकका कल्पना मात्र हुन् । कुनै मस्तिष्कको चित्रार्थ मात्र हुन् । वास्तविक जीवनका प्रेमीहरु त कहिँकतै गुमनाम छन् । आफ्नो प्रेमको बारेमा समाजले थाहा पाउला कि भनेर कहिँकतै चुपचाप छन् ।
दुनियाँका साँचा प्रेमीहरु त केवल आकाशले देखेको छ । तिनलाई स्पर्श त केवल धर्तीले गरेको छ । तिनका प्रेमका भाका त केवल नदीले जानेको छ । तिनको सम्बन्धको मजबुती त बस् चट्टानले मानेको छ ।
तिनको सामीप्यताको राप त केवल अग्निले तापको छ । तिनको मिलनको शीतलता त केवल चन्द्रमाले मापेको छ । तिनका भावनाको सुगन्ध त केवल पवनले थामेको छ । तिनका गाम्भीर्यको गहिराइ त केवल सगरमाथाले नापेको छ । यस्तै थियो हाम्रो प्रेम कहानी केवल आकाशले देखेको, भावीले होइन आफैले लेखेको !
मैले कहिल्यै सोचेकी थिइन, मेसेञ्जर र इमेलको जमानामा म कसैलाई पत्र लेख्छु भनेर ! प्रेमलाई केवल आकर्षण भन्ने म उसैमा कुनै दिन ईश्वर देख्छु भनेर ! सोच्थें पनि कसरी ? तिमीलाई भेटेकी जो थिइन मैले, प्रेमरुपी समुद्रमा पाइला जो टेकेकी थिइन मैले ।
मलाई सधैं याद आइरहनेछ, एसएलसी परीक्षाको पाँच दिनअघि तिमीले दिएको त्यो पहिलो पत्र । प्रेमपत्र होइन मित्रतापत्र । मैले तिमीलाई कहिल्यै बताउनै सकिन । मैले त्यो पत्र सबैसंग लुकाएर बाथरुममा पढेकी थिएँ भनेर । नलुकाउनु पनि कसरी तिमीले कसैलाई पनि नदेखाउ जो भनेका थियौ । तिमीले कहिल्यै जान्नै चाहेनौ कि त्यो पत्र पढेर म कति रोएकी थिएँ ।केही आँसु पश्चात्तापका थिए ।
पश्चात्ताप यो कुराको कि सबैभन्दा बढी सहयोग गर्नुपर्ने बेलामा म नै तिमीसँग रिसाएर बसिदिएँ । केही आँसु खुसीका थिए, खुसी यो कुराको कि अन्तिममै भएपनि मैले यो जान्ने अवसर पाएँ कि तिम्रो जीवनमा मेरो पनि एउटा अस्तित्व रहेछ ! अनि केही आँसु दुःखका थिए । दुःख यो कुराको कि जब मित्रताको बन्धन कसिन आट्यो तब समयले नेटो काट्नै आँटेको थियो । मैले तिमीलाई त्यो पत्र दिनै सकिन जुन मैले तिम्रो जवाफमा लेखेकी थिएँ । दिन्थे पनि कसरी, तिम्रो मित्र त्यति साहसिली कहाँ थिई ?
म कहिल्यै भुल्न सक्दिन नयाँ बानेश्वरको त्यो सडक, त्यो पूर्ण चन्द्रमा, त्यो उज्यालो रात अनि हामी दुईको त्यो साथ । हामी हिंडी त सँगै रहेका थियौं । तर, हाम्रो गन्तव्य फरक थियो । अनि गन्तव्य एक पार्ने लक्ष्यले तिमीले मेरो सामु राख्यौ पहिलो प्रेम प्रस्ताव ! आफ्नो जवाफ कहाँ भुल्न सक्छु र म ? आफ्नो गल्ती कहाँ भुल्न सक्छु र म ? भनेकी थिएँ, “यो त केवल मप्रतिको तिम्रो आकर्षण हो । यो त बस् दुई दिने माया हो, जुन तिमी आज मसँग गर्छौ, हिजो कोही अरुसँग गथ्र्यौ र सायद भोलि कोही अरु नै सँग गर्नेछौ । मलाई यस्तो प्रेमको कुरामा विश्वास नै लाग्दैन । भविष्यमा तिमीले पनि यो कुरा अवश्य थाहा पाउनेछौ । यी सबै एउटा भ्रम मात्र हो । बस् मप्रतिको तिम्रो आकर्षण मात्र !”
त्यसपछि न तिमीले केही बोल्न सक्यौ न मैले । अब त त्यो फराकिलो सडक पनि साँघुरो लाग्न थालेको थियो, एक अर्काको साथ पनि खल्लो लाग्न थालेको थियो । पूर्णिमाको रात पनि औशी झैँ लाग्न थालेको थियो । त्यो पूरा चन्द्रमालाई बादलले जो ढाकेको थियो ।
त्यसपछि तिमीले रोजेको मसँगको त्यो दूरी म कसरी बयान गरुँ ? चाहँदाचाहँदै पनि तिमीसँग बोल्न नसक्नुको त्यो मजबुरी म कसरी बयान गरुँ ?
तिमी मसँग जति टाढा जाँदै थियौ, त्यति नै टाढा म आफैसँग जाँदै थिएँ । जूनतारा नलाग्दा जसरी आकाश शून्य हुन्छ, तिम्रो अनुपस्थितिमा मेरो जीवनपनि त्यसरी नै रित्तिदै गएको थियो । नरित्तियोस् पनि कसरी मेरो जीवनको आकाशको एक तृतीयांश जो तिम्रो नाममा थियो । तिम्रो अभावमा मलाई त्यो प्रेमको आभाष भइसकेको थियो ।
जुन प्रेमलाई मैले सधैं मित्रताको नाम दिइरहें, मेरो मनमा जुन भावना थियो त्यो केवल मित्रता होइन त्यो त बहुमूल्य प्रेम हो भनेर मलाई त्यस दिन आभाष भयो, जुन दिन विवाह मण्डपमा बसेका दुलाहा–दुलही देख्दा मलाई तिम्रो र मेरो स्मरण भयो । मेरो मनमा तिमीप्रति जुन भावना थियो, त्यो आकर्षण होइन, त्यो त आत्मीय माया हो भन्ने मलाई त्यस दिन आभाष भयो, जुन दिन झुपडीमा बसेर गुन्द्रुक ढिंडो खाइरहेका आमाबुवा देख्दा मलाई तिम्रो र मेरो बुढेसकालको कल्पना भयो । साँच्चै मैले तिम्री भएर तिमीसँग जीवन काट्ने सपना देख्न थालिसकेकी थिएँ ।
त्यही सपना साकार पार्ने उद्देश्यले मैले हिम्मत जुटाएर तिमीलाई बोलाएँ नयाँ बानेश्वर, द बेकरी क्याफे । तिम्रो जन्मदिन, तिमी र म अनि हाम्रो प्रेमको नयाँ अध्याय । सोचेकी थिएँ तिम्रो यो जन्मदिन निकै यादगार बनाउँछु ।
त्यो दिन कति उत्साहित थिएँ शब्दमा बयान नै गर्न सक्दिन म । द बेकरी क्याफेमा पूरा तयारीका साथ तिम्रो प्रतीक्षामा थिएँ । तिम्रोसामु मैले प्रेम प्रस्ताव राख्दा तिमीले दिने प्रतिक्रियाको कल्पना गर्दै म मख्ख थिएँ । यस्तैमा बज्यो मेरो फोनको घण्टी । फोन लगेर कानमा राख्दा हाम्रो साथीको स्वर सुनियो, जसले भनिरहेको थियो, “टिप्परले हान्दा आशुतोषको बाइक एक्सिडेन्ट भयो ∕”
म स्तब्ध भएँ । मेरो आँखामा मैले तिमीलाई प्रेम प्रस्ताव राखेको दृश्य र केवल एक वाक्य थियो, “आशुतोषको बाइक एक्सिडेन्ट भयो।” म झसंगिदंै, तर्सिदंै, हतारिदैं त्यहाँ पुगें, जहाँ तिमी थियौ । वा भनौं अब केवल तिम्रो शरीर मात्र थियो । बाँकी कुरा उस्तै थिए, नयाँ बानेश्वरको सडक, तिम्रो जन्मदिन, म, हाम्रो सम्बन्ध अनि तिमी । फरक थियो त बस् अवस्था ! मेरो चित्र हुनुपर्ने ती आँखामा अब अन्धकार छाएको थियो । मेरो नाम हुनुपर्ने त्यो कण्ठमा अब मौनता छाएको थियो । तिम्रो जन्मदिन यादगार त भएकै थियो ।
तर, उत्साहजनक यादको ठाउँ शोकसन्तप्त यादले लिइदियो । म सोच्न सक्दिनँ, ममा के बितेको थियो भनेर । जुन हातमा तिम्रो नामको मेहन्दी लगाउने सपना देखेकी थिएँ, त्यो हातमा तिम्रो रगत लतपतिएको थियो । जुन अंगालोमा तिमीलाई बेर्ने सपना देखेकी थिएँ, त्यहाँ अब तिम्रो मृत शरीर थियो । जुन जिन्दगीमा तिम्रो आगमनको पञ्चेबाजा घन्किने सपना सजाएकी थिएँ, त्यहाँ त तिम्रो मृत्युको शोक छाएको थियो । तिम्री दुलही हुन् नपाउँदै म तिम्री विधुवा भइसकेकी थिएँ ।
तिम्रो नामको पत्र कोर्दै अझै पनि म यही धर्तीमा छु अनि तिमी बादल पारिको देश । एक प्रस्ताव त्यो थियो, जुन स्वीकार्ने साहस मैले कहिल्यै जुटाउनै सकिनँ । एक प्रस्ताव त्यो थियो, जुन तिमीसमक्ष राख्न मैले आफ्नो डर हटाउनै सकिनँ । अनि एक प्रस्ताव यो छ, जुन तिमीसमक्ष चाहेर पनि म राख्न सक्दिनँ, जसलाई स्वीकार्न चाहे पनि तिमी स्वीकार्नै सक्दैनौ ।
जसरी मीराले मोहनलाई चाहेकी थिइन्, त्यसरी नै म तिमीलाई चाहिरहनेछु । मूर्तरुपमा त तिमी मेरो सामु छैनौ अब । तर, हरेक अमूर्त वस्तुमा म तिमीलाई महसुस गरिरहनेछु । बसन्तको हरेक पालुवामा, वर्षाको हरेक थोपामा, हेमन्तको जाडोमा, गृष्मको न्यानोमा, शिशिरको सरसर हावामा, सरदको रमझममा म तिम्रो नै आभाष गर्नेछु । आफ्नो जीवन रहुञ्जेल केवल तिमीसँग प्रेम गर्नेछु । केवल तिमीसँगै पुनर्जन्ममा त म विश्वास गर्दिन, यदि रहेछ भने कामना गर्दछु कि हरेक जुनी केवल तिम्री हुन पाउँ ।
,,,,,,,,,,,,,,
तेस्रो स्थान हासिल गरेको प्रकाश पकुवालको प्रेमपत्र
प्रिय प्यारी सरिता,
लाखौंलाख माया अनि अनेकौं सम्झना ।
तिमीलाई मैले गर्ने सम्बोधनमा कुनै परिवर्तन आएको छैन, परिवर्तन आवश्यक छजस्तो पनि लाग्दैन । तिमी मेरो लागि हिजो प्रिय थियौ, आज प्रिय छ्यौ, अनि भोलि पनि हुनेछ्यौ । एकचोटी माया गरिसकेको, मन मुटु, साँटिसकेको मान्छे उत्ति नै प्यारो र प्रिय हुँदोरै’छ आखिर हजारौं चोट दिएको किन नहोस् ।
पूर्णिमाको रातमा टहटह चम्किएको चन्द्रमाले शान्त अनि शितल प्रकाश छर्दै सिंगो धरतीलाई जाजल्यवान बनाएको झ्यालका सिसाबाट प्रष्ट देखिएको छ । उज्यालो धरतीको पृष्ठभूमिमा तिम्रा सम्झनाहरु बोकेर सुस्तरी आएका शितल हावाका तरंगहरु कसैलाई चाल नदिइकल कोठाभित्र छिर्दा मनमा हिमतालरुपी भावनाहरु एकाएक पग्लिन पुग्छन्, अनि नदी झै बग्दछन् माया, सम्झना र त्यहींसँगै जोडिएका भावनाहरु । अनि बाध्य बनाउँछन् मलाई, यी भावनाहरुलाई कलमको साहाराले कपीमा अक्षरको स्वरुप दिन ।
प्रिय, अब त म पनि गाउँघरको मेलापातमा कहलिएको लाठे भएको छु । एकाबिहानै तिम्री दिदी अनि मेरीचाहिं भाउजू सरस्वतीले धान थन्क्याउने मेला बोलाउनुभयो । प्रष्ट खुलेको नीलो आकाश, कलकल गर्दै बगेको निर्मल खोला, सुस्तरी चलेको बतास हुल बनाएर आकाशमा विचरण गरिरहेका चराहरुको समूह, वरपर देखिएका हरियाली डाँडापाखा, धान पाकेर पहेंलपुर बनेको बेसी अनि त्यही पाकेको धान थन्क्याउन व्यस्त मानिसहरुको बीचमा दिनभरि काम गरिरहँदा यो मनको मझेरीमा भने तिमी मात्र आइरह्यौ अनेकौं सम्झनाहरु लिएर, लाखौं कल्पना बोकेर अनि मायाको घुम्टो ओढेर !
लाग्थ्यो, खेतका प्रत्येक गरा अनि आलीहरुले तिम्रा यादहरुलाई अझै ताजा बनाउँदैछन् । आखिर नगराउन् पनि किन ? त्यही खेतको रोपाइँ त थियो, जसले हामी मिलन गरायो, पिरतीको डोरी बाट्न सहयोग अनि खै के–के, के–के गरायो । यति धेरै कुराहरुको साक्षी बनेको यो खेतलाई यति जाबो यादहरु दिलाउने अधिकार पनि छैन होला त ?
बैशाखमा आएको भूुकम्पबाट त्रसित गाउँ आधा असारसम्म नि पर्याप्त वर्षा नहुँदा आकुल–व्याकुल भएको थियो । म पनि कक्षा ११ को परीक्षा सकेर गाउँ फर्किएको थिएँ । त्यही दिन त हो प्रिय । जब रोपाइँमा लाठे नपुगेर कहिल्यै हिलो नटेकेको म आलोकाँचो केटोलाई रोपाइँको मेलोमा जान परेको थियो । मलाई के थाहा र प्रिय पारि देखिने गाउँबाट त्यो भीमकाय तामाकोशी तरेर दिदीको रोपाइँमा सहयोग गर्न आएकी तिमीसँग मेरो भेट हुन्छ भनेर !
अनि के थाहा त हामी एकअर्काको मायाको सागरमा यसरी चुर्लुम्मै डुब्छौं भनेर ! के थाहा त यसरी मुटु बिझाउने माया लाइन्छ भनेर !
ठिक्कको उचाइ अनुपात मिलेका तिम्रा शारीरिक अवयवहरु, पुष्ट र फराकिलो निधारमा टल्किएको टीका, छरितो शरीर, कुर्तामा सजिएर हातमा घुम बोक्दा तिमी त साँच्चै कति हो कति राम्री देखिएकी थियौ । त्यसैले त पहिलो नजरमै भुतुक्क बनाएकी थियौ मलाई । शान्त मनरुपी पोखरीमा तिम्रा निर्दोष अनि निश्चल आँखाहरुले ढुंगा हानी शरीरभरि फैलने तरंगहरु पैदा गरेका थिए । राम्री मात्रै कहाँ थियौ र तिमी, छरिती र जाँगरिली पनि थियौ । असारे हिलोमा कति कलात्मक रुपमा छुपु–छुपु धान रोपेकी थियौ तिमीले । कति लयबद्ध थिए ती धान रोपाइँका आवाजहरु । म मात्र कहाँ हो र, रोपाइँमा आएका सबैजना तिम्रो सीप र जाँगर देखेर छक्क परेका थिए ।
बेलाबेलामा मैले तिमीलाई हेरेको सुइँको पाएका रोपाहारहरु मतिर हेरेर व्याङ्ग्य गर्थे र भन्थे, ‘यति जाँगरिली मान्छेलाई त हाम्रै गाउँको बुहारी बनाउनुपर्छ ।’ अनि लाजले भुतुक्कै हुन्थें म पनि । एकातिर तिमी थियौ, जो गाउँको परिवेशमा हुर्किएर खेती किसानीको सबै काम जानेकी कति शान्त, सुशील अनि सहयोगी स्वभावकी मान्छे, अर्कोतिर म थिएँ, जो गाउँमै हुर्किको तर खेतका आली–पनि लाउन नजान्ने खेतका गराहरु पनि सम्याउन नजान्ने । साँच्चै त्यो दिन कति धेरै लाज लागेको थियो मलाई आफैदेखि प्रिय । त्यही दिन नै त हो मलाई तिमीप्रति प्रेम भएको । आफ्नो परिवेशप्रति प्रेम भएको । आफ्नो माटोप्रति प्रेम भएको । आफ्नो पुर्खाको पेशाप्रति सम्मान भएको । कति चाँडो परिवर्तन गराएको थियो तिम्रो मायाले, त्यो पनि एकैदिनमा ।
विगतका रोपाइँमा मेरो काम घरमा बसेर घर कुर्ने र वर्षे विदाको गृहकार्य गर्ने हुन्थ्यो, किताबसँग खेलेर किताबमै निदाउने बानी बस्दा । मैले आफ्नो परिवेश, माटो र पेशा नै पो चिन्न सकेको रहेनछु । बुबाले मजदुरी गरेरै भए पनि मिठो खुवाए । आमाले फाटेको चोली लगाएर भए नि हामीलाई राम्रो लाउन दिइन् र यसैको सुखमा मात्तिएर म त झण्डै आफ्नो माटोसँग पो टाढा भएको रहेछु । तर, तिमी नै थियौ प्रिय मलाई आफ्नो माटोको सामिप्यमा पु¥याउने ।
खै तिमीलाई सम्झना छ कि छैन, त्यही दिन नै तिमीबाट प्रेरित भएर कति मिलेका आली लगाएको थिएँ ।
कति राम्ररी सम्याएको थिएँ खेतका गराहरु अनि कति पंक्तिवद्ध बनाएर रोपेकी थियौ धानको बेर्ना तिमीले । जसरी हामीले रोप्न सुरु गरेका थियौं मायाका बीजहरु अनि मौका मिल्नासाथ कति धेरैपटक जुधाएका थियौं आँखाहरु अनि व्यक्त गरेका थियौं न्यानो र निश्चल माया । खै कसरी भनूँ त्यो दिनको खुसी ! मन त साँच्चै गगन छुन उडेको थियो । तिमीले त एकादशीको मेलामा कैलाश पर्वतबाट अनेकौं संघर्ष पार गर्दै आएकी पवित्र तामाकोशीलाई छुँदै मायाको कसम खाएको । कहिल्यै नछुटिने प्रण गरेको अनि नदीको किनारमा सँगै रमाएको र हाम्रो मायाको लागि हामीले फूल तारेको पनि बिर्सियौ होला । गरेका वाचाहरु पनि भुल्यौ होला, फेरि काठमाडौं चरिकोट र जिरी बजारमा लुकी–लुकी भेटेर माया अभिव्यक्त गरेको पनि बिर्सियौ होला हैन ?
हुनसक्छ, कालिञ्चोक मन्दिर जाँदा हातमा हात मिलाएर बक्रेली डाँडाको उकालो चढेको, बाटामा भेटिएका पुष्पगुच्छाहरु मैले तिम्रै लागि बडो बहादुरीसाथ टिपिदिएको । माथि डाँडाको टुप्पामा पुगेर गौरीशंकर हेर्दै आनन्दित भएको । सैलुङ र हनुमन्तेका डाँडाहरु हेर्दै आफ्ना प्रणहरु दोहो¥याएको । तामाकोशी, रोल्वालिङ र गाउँबस्ती हेर्दै रमाएको । अनि कालिञ्चोककी देवीसँग एकअर्कालाई मागेको पनि बिर्सियौ होला । तर, प्रिय, मैले त केही पनि बिर्सन सकेको छैन । तिमीसँग बिताएका प्रत्येक क्षहरु, खाएका वाचा कसमहरु अनि मायाका प्रतिबद्धताहरु मस्तिस्कको कुनामा पत्रपत्र बनेर बसेका छन् । तिम्रा सम्झनाहरु अनि मुटुका सबै कोठा टम्मै भरिएका छन् तिम्रो मायाले र अझै पनि बिर्सन सकिएका छैनन् तिम्रा मिठा स्पर्षहरु । आइस्न्टाइन आफ्नो सापेक्षतावादी सिद्धान्तमा भन्छन्, ‘प्रत्येक कुरा सापेक्षिक हुन्छन् ।’ त्यसैले त होला हिजोका तिम्रा न्याना स्पर्शहरु आज बिझाउने काँडा बनेका छन् अनि तिम्रो माया हिजोको प्रेरणाबाट आज मेरो कमजोरी बनेको छ ।
बडो अचम्मको छ यो मानव मष्तिस्क पनि, नसम्झनुपर्ने कुरा सजिलै सम्झन्छ, नबिर्सनुपर्ने कुरा बिर्सन्छ । यही दिमाग र मुटुको जिद्दीले नै त हो प्रिय, तिमीले दिएको माया होस् वा अचानक दिएको धोका सबै उत्तिकै ताजा छन् । र, तिनै ताजा सम्झनाहरु बिझाउने सुइला बनेका छन् र त छोच्छन् घरिघरि मन मुटुमा च्वास्स–च्वास्स पारेर ।
आज २ महिना बितेछ तिमीले छोडेर गएको, तिमी अर्कैकी भएको, मायाका प्रण अनि बाचाहरु तोडेको । खै, केही पनि नबताई कति सजिलै छोडिदियौ ३ वर्षभन्दा लामो साथ ! म त अचानकको चट्याङ लागेर घायलजस्तै भएको थिएँ । तिम्रो वैवाहिक सम्बन्धको बारेमा सुन्दा भनन रिंगटा चलेको थियो ।
धरती भासिएको आभास भएको थियो अनि तिरमिराएका थिए आँखाहरु र भक्कानो फुटाएर पहिलोपटक रोएको थिएँ जीवनमा । थाहा भएन किन केही भनिनौ पहिले । आखिर चोट नै दिनु थियो भने किस्ता–किस्तामा दिएको भए हुने नि ! खै को गलत थियो, म थिएँ वा तिमी । तिम्रो परिवार गलत थियो वा समाज कमजोर आर्थिक धरातलमा रहेको परिवारको छोरीको छिटो विवाह गरिदिनुपर्ने बाध्यता गलत थियो वा छोरीलाई धेरै पढाउन नहुने सोच । मैले छुट्याउन सकिनँ, छुट्याउने आवश्यकता महसुस नै गरिन । अब छुट्याउन पनि चाहान्न र न्यायाधीश बनेर कसैलाई दोषी करार गर्न पनि सक्दिनँ ।
जति नै भावनामा बहकिए पनि जीवन जिउन त आफ्नो वास्तविकता र धरातलमै फर्किनुपर्ने रहेछ, त्यसैले त जसोतसो फेरि जिउन सिक्दैछु तिम्रा यादहरुले दिएका पीडाहरु ब्यहोर्दै भएपनि । अरु त खै के भनूँ प्रिय, जिन्दगी फलोस्, सुखी रहनू, खुसी हुनू, वैवाहिक जीवनको ढिलै भएपनि शुभकामना !
अनि कुनै चिन्ता नगर्नू, तिमीप्रतिको मेरो मायामा कुनै गिरावट आएको छैन । मैले तिमी, तिम्रा सम्झनाहरु र स्पर्शहरु रत्तिभर बिर्सिको छैन । अनि खाएका कसम र गरेका वाचाहरु पनि तोडेको छैन, कमसेकम तिमीले तोडे पनि । अनि तिमीप्रति त्यति धेरै गुनासो पनि छैन, न त रिस नै । तिमीले बिर्सिए पनि मैले त मुटुभरि संगालेर राखेको छु, हाम्रो माया अनि मस्तिष्कमा सम्झनाहरु । बरु कुनै दिन आवश्यक परे माग्नु अतितका सम्झनाहरु, विनाधितो, विनाशुल्क दिउँला जति माग्छ्यौ त्यति नै । बरु आफ्नो ख्याल गर, तिम्रीप्रतिको मेरो प्रेम त तामाकोशी झै निश्चल, अविरल बगिरहेकै छ, गौरीशंकर झै अटल छ अनि बुकेनीमा बसन्तमा बुकी फुलेझै बाह्रैमास फुलिरहेको छ । किनकि म पनि शिशिर योगी झैं भन्छु ‘माया गर्नुको अर्थ सिउँदो भर्नु होइन’ तर सिउँदो पनि भर्न पाए, सुनमा सुगन्ध हुन्थ्यो भन्ने मात्र हो ।
प्रकाश पकुवाल





