राप्तीमा २४ गोही छाडिए

भरतपुर, ४ फागुन
चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा संरक्षित दुई दर्जन गोही राप्ती नदीमा छाडिएका छन् । प्रत्येक वर्षजस्तै यसपालि पनि निकुञ्ज मुख्यालयको कसरा नजिकै २ भालेसहित २४ गोही छाडिएका हुन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले राप्ती नदीमा गोही छाडेर कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
सो अवसरमा बोल्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले गोही संरक्षण कार्यका लागि महानगर सधैं सहयोगी बन्ने प्रतिबद्धता जनाइन् । सो अवसरमा चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले संरक्षणविना पर्यटन सम्भव नभएकाले अति दुर्लभ गोहीको संरक्षणका लागि जनप्रतिनिधि सकारात्मक हुनुपर्ने बताए । उनले निकुञ्जले गोही संरक्षणका लागि निरन्तर अभियान सञ्चालन गरेको बताए ।
सो अवसरमा पटिहानी उपभोक्ता समितिका अध्यक्ष शंकर महतो, वडा नम्बर २३ का वडाध्यक्ष नरिनारायण पौडेल, पत्रकार महासंघ चितवन शाखाका उपाध्यक्ष नारायण अधिकारीलगायतले पछिल्लो समय नदीमा प्रदूषण बढ्दा गोहीलगायत जलचरहरुको स्थिति संकटमा रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
हालसम्म नेपालका विभिन्न नदीमा गरी १३ सय ६५ गोही प्राकृतिक बासस्थानमा छाडिएको छ भने यो वर्ष पनि करिब १ सय गोही नदीमा छाड्ने चितवन राष्ट्रिय निकुन्जको तयारी छ । २०१६ को गोही गणनाअनुसार १ सय ९८ वटा मात्रै घडियाल गोही नदीहरुमा जीवित छन् । प्राकृतिक बासस्थानमा छाडिएकामध्ये पाँच प्रतिशत मात्रै बाँच्ने, नदीहरु प्रदूषण हुने, मानवको नदीमा अतिक्रमण बढ्ने लगाएका कारणले गर्दा गोही संकटमा रहेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदकुमार खड्काले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट