
अञ्जान बाबु
श्याम आज चाँडै उठ्यो ।
हुन त गएराति अबेलासम्मै निद्रा परेको थिएन । ३ वर्षपछि घर फिर्न लागेको खुसीले मन चंगा बनेको थियो । शरीर साउदीमा भएपनि मन हिजै उडेर घर पुगिसकेको थियो । धेरै कोल्टे फेर्दा पनि निद्रा फुरेन । कोल्टे होइन, उनले तर्कनामात्रै फेरिरहेका थिए ।
तैपनि बिहान ५ बजे नै उसले ओछ्यान छोड्यो ।
९ बजे उडान थियो नेपालको लागि ।
कोठा त हिजै छोडिसकेको हो । साउदी बस्ने अन्तिम रात होटलमा बिताएको थियो उसले । मञ्जन ग¥यो । मुख पोखाल्यो । बाँकी मञ्जन पनि झोलामा खाँद्यो ।
प्याकिङ हिजै सकिएको हो । तैपनि फेरि हेर्न मन लाग्यो । लगेज खोल्यो । सबभन्दा माथि नै परेको रहेछ, स्यामसङ जे सेभेन फोन । पियारीको लागि किनिदिएको हो उसले ।
राधिका । उसकी अर्धाङ्गिनी । ३ सालअघि बिहे गरेर १ महिनामै एक्लै छोडेर परदेसिएको थियो ऊ । हिड्नेबेला खुब रोएकी थिई राधिका । “ऋण तिर्ने पैसा बटुलेपछि आइहाल्छु”, श्यामले भनेको थियो । अँगालोमा कसेर एक घण्टै रोएकी थिई ।
तर, ऋण तिरेर मात्रै सुख थिएन । श्याम विदेसिएको ९ महिनामा थप जिम्मेवारी पनि आइसकेको थियो । राधिकाले छोरो पाएकी थिई । श्यामलाई पैसा कमाउनु थियो । घरको कमजोर अवस्थालाई उकास्नु थियो । बिरामी बा घरै बसेको धेरै भइसकेको थियो । खास आम्दानी थिएन । ५ रोपनी पाखो बारीले खान पुग्थेन । श्यामले पठाउने कमाइ नै घर चलाउने आधार थियो ।
“३ वर्षअघिको यो मोबाइल ह्याङ भएर कामै गर्दैन”, राधिकाले भनेकी थिई २ महिनाअघि । श्यामले उतै आएर किनौंला नयाँ मोबाइल भनेका थिए । तर, किनेरै ल्याउँला भनेका थिएनन् । सरप्राइज दिने सुर थियो उसको ।
बालाई किनिदिएको ज्याकेट, आमालाई स्वेटर र भिडियो कलमा मात्रै देखेको छोरोलाई किनिदिएको फुल सेट कपडा पालैसित सुमसुम्यायो । घरमा घन्काउन चाइनिज डेक पनि किनेको थियो उसले । गाउँमा बाँडिदिन ३ पोका चकलेट पनि हालेका थिए ।
लगेज बन्द गरे । घडी हेरेको पौने ६ भएछ । कोठा बन्द गरेर निस्कियो । काउन्टरमा पैसा ति¥यो । ट्याक्सी लिएर एयरपोर्टतिर हानियो । करिब आधा घण्टामा पुग्यो ।
केहीबेर कुरेपछि बोर्डिङ पास भयो । सबै प्रक्रिया पूरा भएपछि नौ बजे प्लेन उड्यो ।
प्लेन साउदीकै आकासमा छ । तर, मन त्रिभुवन विमानस्थलमा ओर्लिसक्यो । दुनियाको सबैभन्दा तेज उडानशक्ति भएको यान मन नै होला । यसलाई इन्धन चाहिदैन । चालक पनि चाहिदैन । रुट, ट्रयाक केही हुन्न । ट्राफिक जामले पनि छेक्दैन । जता मन लाग्यो, उडाइदियो । न पासपोर्ट, न भिसा । जहाँ गएपछि फ्री इन्ट्री !
एयरपोर्टमा लिन राधिका आउँदै छिन् । अर्को खुसीको कुरा हो यो । हिजो बेलुकी गफ भएको थियो ऊसँग । हिजै काठमाडौं आइसकेकी हो । एयरपोर्टअगाडि नै गेष्ट हाउसमा बसेकी छ । अध्यागनमबाट निस्कनासाथ श्यामले अँगालो हाल्नेछ । ३ सालदेखि बिरानो भएको अँगालो धित मरुञ्जेल हाल्नेछ । दुनियाँले देखेर के गर्छ, गालैमा म्वाइ खाने सुर छ श्यामको । राधिका पनि कति आत्तिएकी होली । उसले पनि कति सुमसुम्याउछ होला श्यामलाई ।
२२ वर्षको अल्लारे केटो साउदीमा ३ वर्ष घोटिएर परिपक्व बनेको छ । ऊ आज स्वदेश झर्दा छोराको बाउ भइसकेको छ । आफूजस्तै छाराले अर्काको देशमा दश नङ्ग्रा खियाउन नपरोस् भन्ने कामना लिएर झर्दैछ । छोरालाई ठूलो मान्छे बनाउने सपनासहित झर्दैछ ।
प्लेन नेपाल छि¥यो । श्यामको तर्कना जारी छ । उसले बा, आमा, सबै आफन्त, गाउँले सबै सम्झियो । स्कूले साथी, आफूलाई पढाएका शिक्षक सम्झियो । गाउँका डाँडापाखो, पखेरो, मेलापात, पँधेरो सबै सम्झियो ।
प्लेन ल्याण्ड भयो । सबै झरे । श्याम पनि झ¥यो । “आहा ! मेरो देश । कति सुन्दर । प्राणभन्दा प्यारो”, यही सोच्यो र दाहिने हातले भुइँ छोयो । त्यही हात छातीमा पु¥यायो र निधारमा लग्यो । तीनचोटिसम्म त्यसै ग¥यो ।
बाहिर राधिका कतिबेलादेखि कुर्दै होली । कति पट्यार लाग्यो होला भन्ने सोच्यो । राधिकालाई भेट्ने व्यग्रता झनै बढ्यो । व्याकुल भयो ।
अध्यागनमा छि¥यो । लगेज आउन टाइम लाग्यो । आधा घण्टा कुर्न पनि उसलाई एक वर्षै कुरेजस्तो लाग्यो । पसिना आयो । फोन गरुँ नेपालको सिम छैन । एयरपोर्टमा फ्री भनिएको वाइफाइ कामै नगर्ने रहेछ । सायद पैसा हालेकै छैन होला । राउटरले सिग्नल मात्रै फ्याँक्छ, इन्टरनेट फ्याँक्दैन । उता बाहिर राधिकाको हालत झन् कस्तो होला !
लगेज हात प¥यो । एउटा ठूलो र अर्को सानो झोला थिए । ट्रलीमा राखेर बाहिर निस्कियो । भिडभाड थियो । कसैको बाबु लिन आएका, कसैकी आमा, कसैका छोरा, कसैकी छोरी, कसैकी श्रीमती, कसैका त प्रियतमा पनि होलान् !
यताउति हे¥यो, राधिका देखिइनन् । भिडभाडमा हराई होली । ३ सालअघि साउदी जाँदा घरबाटै विदा गरेकी हो । काठमाडौं जम्मा २ चोटि आएकी छ । एयरपोर्ट त छिरेकै थिइनन् । तिनलाई मेसो थिएन । पक्कै अलमलिई ।
मान्छे पातलिदै गयो । आफन्त लिन आएकाहरु आ–आफ्नो समूहमा रमाउन थाले । कोही निस्किए, कोही बाहिरतिरै के–के गफिदै छन् । अर्को प्लेनको प्रतीक्षामा रहेकाहरु अलि परै छन् । राधिका देखिइनन् ।

अलि पर एकजना अधवैंशे मोबाइल खेलाइरहेका थिए । श्याम नजिकै पुग्यो । मोबाइल माग्यो । राधिकाको नम्बर डायल ग¥यो । तर, स्वीच अफ थियो । अब भने श्यामको मनमा चिसो पस्यो । डर लाग्यो । निकै तनाव भयो ।
आमाको मोबाइलमा फोन ग¥यो ।
“हेल्लो आमा, दर्शन । म श्याम बोलेको । नेपाल झरें”, श्यामले एकै सासमा भन्यो ।
“भाग्यमानी भएस् बाबै । बुहारीलाई भेटिस् ?”, आमाले सोधिन् ।
“भेटिन आमा, हिजो कतिखेर हिडेकी हो ?”, श्यामले सोध्यो ।
“के भन्छ, बिहानै हो । बेलुका आइपुगें भनेर फुन गरेकी हो”, आमाले भनिन् ।
श्यामलाई झन् टेन्सन बढ्यो । “ल आमा यतै कतै होली, म खोजुँला”, यत्ति भनेर फोन राख्यो ।
के भइरा’छ भन्ने मेसो पाउन सकेन श्यामले । मनमा अनेक शंका उब्जियो । एक्लै काठमाडौं आएकी उनी केही अप्ठ्यारोमा परिन् कि ! कसैले परिबन्दमा पारे कि ! अपहरण पो गरे कि ! या नचिनेर कतै फसिन् कि ! यस्तै अनेक–अनेक सोचे ।
ट्रली घिसार्दै रेष्टुरेण्टतिर गयो । चिया मगायो । काउण्टरमा वाईफाईको सिग्नल र पासवर्ड लेखेको रहेछ । मोबाइल भिक्यो । अन ग¥यो । वाईफाई कनेक्ट ग¥यो ।
फेसबुक म्यासेञ्जर बज्यो । राधिकाको म्यासेज रहेछ । हतपत खोलिहाल्यो । पढिसक्दा नसक्दै श्यामको आँखा तिरमिरायो । आकाश खसेर टाउकोमै बजारिएजस्तो भयो । यो धरती फाटेर हजार मिटर तल थचारिएजस्तो भयो । एक सय अरिंगालले एकैपटक चिलेजस्तो भयो । आफ्नो अगाडि रहेका सबै चिज पाँच नम्बरको फ्यान घुमेजसरी घुम्न थाले ।
म्यासेज यस्तो थियो :
प्रिय श्याम,
मलाई माफ गर । चाहेरै पनि मैले तिमीलाई साथ दिन सकिन । तिमी गएपछि म एक्ली, नित्तान्त एक्ली भएँ । धेरै आत्तिएँ । बेसहारा भएँ । सधैं तिम्रो यादले तड्पिएँ । अलि समय तिम्रो नासो पेटमा राखेर मन थामेँ । जन्माएँ । तर, त्यसपछिका दिनमा फेरि आत्तिएँ । मैले तिम्रो नाम लिएर आफूलाई सम्हाल्दा सम्हाल्दै पनि असमर्थ भएँ । विगत १ वर्षदेखि म तिम्रै साथी रविनसँग प्रेममा परेँ । हामी एकअर्काविना बाँच्न नसक्ने भयौं । ३ महिनादेखि मेरो पेटमा उसको बच्चा छ । रविन तिम्रो मिल्ने साथी हो । तिमीलाई एयरपोर्ट छाड्न पनि गएको हो । तिमी गएपछि हरेक अप्ठ्यारोमा मलाई उसैले साथ दियो । घरमा परेको अप्ठ्यारो पनि उसैले सुल्झायो ।
यो अवस्थामा म तिमीलाई एयरपोर्टमा लिन आउन सकिन । तिमीमाथि यत्रो घात गरेर तिम्रो अगाडि पर्न सकिन । खै थाहा छैन, यो मेरो बाध्यता थियो कि रहर ! २० वर्षको उमेरमा विहे भयो । मलाई पनि रहर थियो तिम्रो हात समाएर हिड्ने । आफ्नै हातले पकाएको खाना खुवाउने । भरभराउँदो जवानीमा रमाइलो गर्ने । तर, परिस्थितिले यी सबै सम्भव भएन । मैले तिम्रो नाम लिएर सकुञ्जेल आफूलाई सम्हालेँ । तर, सधैं सकिन । मैले पाप गरेँ । तिमीले ३ वर्षमा पठाएको पैसामध्ये केही ऋण तिर्दा सकियो । केही घर खर्च भयो । बाँकी सबै तिमीले नै किनेको घरको दराजमा छ । मलाई विहेमा दिएको सबै गरगहना पनि त्यहीँ छ ।
हाम्रो छोरा तिमीलाई बुवा भन्न सक्ने भएको छ । उसले भैंसीको दूध मिठो मान्दैन । मोबाइलमा गीत नबजाए भात खान मान्दैन । तिमीलाई नचिनेर रुन पनि सक्ला । तर, मोबाइल तिम्रो फोटो हेरेर बा भन्नचाहिँ जानेको छ । उसलाई सम्हाल्नू । उसलाई डाक्टर बनाउने तिम्रो सपना छ । मैले सघाउन सकिन । तर, तिमी नहार्नू है । तिम्रा बाको औषधि खान बिर्सने बानी छ । सम्झाउनू । आमा घरिघरि तिम्रै पिर गर्नुहुन्छ । अब खुसी दिनू ।
मेरो लास तल्लो गाउँको पँधेरो नजिकै सिन्दुरेको हाँगोमा झुण्डिरहेको छ, सद्गद् गर्दिनू । सधैंको लागि विदा श्याम ।
उही तिमीलाई धोका दिने अभागिनी !




