
प्रमिता ढकाल
भरतपुर, २० कार्तिक
प्रदेश नम्बर ३ को प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय मातहातमा रहने गरी चितवनमा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गरीएको छ । चितवन र मकवानपुर जिल्ला कार्य क्षेत्र रहने गरी केन्द्रको स्थापना गरीएको हो । केन्द्रको सोमबार प्रदेश नम्बर ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले थापाले उद्घाटन गरे ।
केन्द्रको उद्घाटन गर्दै प्रदेश सरकारको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने प्रतिनिधिमूलक कार्यालय भएको बताए । प्रदेश नम्बर ३ को विकासका लागि कृषि क्षेत्रको समग्र विकास आवश्यक रहेकाले अब कुरा भन्दा काम गरेर देखाउन आवश्यक रहेको उनले जोड दिए । “सबैले सम्बृद्धि सम्बृद्धि भन्छन्, अनि खोई सम्बृद्धि कसरी आउने रहेछ भनेर उतीबेलै कुरा काट्न थाल्छन् ,” कृषि मन्त्री लामाले भने ,“त्यसो होइन अब म भन्दै जान्छु तपाईहरु काम गर्दै जानुस् अनि हेर्नुहोस् कहाँ हुने छैन सम्बृद्धि ?”
प्रदेश नम्बर ३ मा कृषि मन्त्रालय मातहतका ३६ वटा कार्यालय स्थापना भएकाछन् । यस प्रदेशका लागि मात्रै ३५ अर्ब ६१ करोड बजेट विनियोजन भएको छ । चितवनमा स्थापना भएको कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले यहाँका सम्भावनाका क्षेत्र पहिचान गरी आवश्यकता अनुसारको कार्यक्रम एवम् परियोजना माग गर्नुपर्ने मन्त्री लामाले बताए । “नेता, नजिकका मान्छे वा कसैको पनि सिफारिसको आधारमा अब अनुदान बाँडिने छैन , काम र परिणामको आधारमा अनुदान दिइने छ , पुरस्किृत गरिनेछ”, उनले भने ।
कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी,मिलनबाबु श्रेष्ठ, बलराम पौडेलले ज्ञान केन्द्रको स्थापनाले दुबै जिल्लाको कृषि क्षेत्रमा नयाँ आयाम ल्याउने बताए । चितवनमा नै कार्यालय रहेकाले चितवनका कृषक थप लाभान्वित हुन सक्ने उनीहरुको भनाइ छ ।यद्यपी दुबै जिल्लाका कुनाकन्दरामा रहेका किसानलाई समान रुपमा सेवा दिएको प्रत्याभूत दिलाउन सक्नुपर्ने उनीहरुले जोड दिए । कार्यक्रममा नेपाल कृषि अनुसन्धान परिषद नार्कका परिषद सदस्य मित्रराज दवाडीले ज्ञान केन्द्र कृषि क्षेत्रको विविधतालाई समेट्न सक्ने हुनुपर्ने बताए । “चितवनमा माछा, पोल्ट्री, दुध, मौरी, मकैवाली कोसोवाली अनुसन्धान, विश्वविद्यालयसबै यहीँ छ”, उनले भने, “यी सबैलाई समेट्न सक्ने गरी विज्ञको भूमिकामा रहन सके मात्र ज्ञान केन्द्र स्थापनाले सार्थकता पाउँछ ।”
नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले सरकारले उद्यमी व्यवसायीलाई हेर्ने नजर नै गलत भएको टिप्पणी गरे । “यहाँ उत्पादित वस्तुको मापदण्ड हेरिन्छ, कारवाही गरिन्छ तर बाहिरबाट आयात गरिएका कृषि उपजको मापदण्ड कसले जाँच गर्ने, के ति सबै खान वा प्रयोग गर्न योग्य छन् ?”, उनले प्रश्न गरे । यस्तै उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य डाक्टर तिलचन्द्र भट्टराईले स्थानिय कृषकको उत्पादनलाई प्रोत्साहन गर्ने निति लागु गर्न आवश्यक रहेको भन्दै कृषि मन्त्रीको ध्यानाकर्षण गराए । चितवनमा दुग्ध उत्पादक कृषणले मिल्क होलिडे गर्नुपर्ने अवस्था रहँदा आयातित सस्तो धुलो दुध विक्रिको कुनै औचित्य नरहेको उनले टिप्पणी गरे ।यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान , चितवन उद्योग संघका उपाध्यक्ष राजु पौडेलले निजि क्षेत्र संग समन्वय गरेर कृषि कार्यक्रम एवम परियोजना ल्याउन सके प्रभावकारी हुने धारणा राखे ।
कार्यक्रममा कृषकहरुको तर्फबाट भनाई राख्दै किशोर वगालेले कृषकका समस्या समधान गर्न स्थापित कार्यालयलाई कृषक मैत्री हुन सुझाए । नामको लागि मात्र कार्यालय स्थापना गरीनु भन्दा पनि वास्तवमा कृषकको समस्या र निराकरणका उपाय सहजीकरण एवम् समन्वय गर्न आवश्यक रहेको उनले जोडदिए । “पहिले जस्तो सोझा साझा अशिक्षितले मात्र कृषि पेशा गर्छन् उनीहरुलाई झुक्याउन सहज छ भन्ने नसोच्नुहोस् , कृषकहरु पनि अध्ययन गरेर प्रविधिबारे बुझेर कर्ममा लागेकाछन् उनीहरुको मर्मलाई बुझेर काम गर्नुहोला”, उनले आक्रोसित हुंदै भने । आफ्नै देशमा केही गरौँ र अरुलाई पनि सकेको रोजगारी सिर्जना गरौ भनी कृषिमा अग्रसरहरुलाई सरकारले नै विस्थापित गर्न खोजेको उनको आरोप छ । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा १७ जना कर्मचारी तोकिएकाछन् । कार्यालय प्रमुखको जिम्मेवारी यस अघि जिल्ला कृषि विकास कार्यालयका प्रमुख रहेका सुधिर श्रेष्ठले पाएकाछन् ।




