भरतपुर, २० कार्तिक
भरतपुर महानगरपालिका–११ मा रहेको धार्मिक तथा ऐतिहासिक स्थल गणेशस्थानलाई गणेश धामको रुपमा विकास गरिने भएको छ । गणेश धाम निर्माण गर्न यही मंसिर २२ गतेदेखि २९ गतेसम्म धनधान्याञ्चल महायज्ञ सञ्चालन गर्न लागिएको सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा एक हजार १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञमा युवा वाचक पण्डित दिनबन्दु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । मन्दिरक्षेत्रको सम्वद्र्धन र संरक्षणको लागि विभिन्न निकायबाट प्रयास गरिँदै आए पनि सार्थक नबनेपछि धनधान्याञ्चल गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक दिनेशकुमार चुकेले जानकारी दिए ।
गणेशस्थान क्षेत्रलाई धामको रुपमा विकास गर्न डीपीआर निर्माण गरेर काम सुरु गरिने चुकेले जानकारी दिए । डीपीआर निर्माण अन्तिम चरणमा रहेको उनले बताए । साना–साना योजनाले मन्दिरको विकास गर्न नसकिने भएकाले वृहत् खालको योजना अघि सारिएको उनले बताए । गणेशधाम निर्माणका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले सहयोग गर्ने चुकेको भनाइ छ । डीपीआर अनुसारको काम सम्पन्न गर्नका लागि करिब ८० करोड लाग्ने अनुमान गरिएको चुकेले बताए । उनले महायज्ञ सम्पन्न गर्नका लागि करिब ७० लाख खर्च हुने अनुमान गरिएको जानकारी दिए ।





