प्रमिता ढकाल
भरतपुर, १८ कात्तिक
मानवसेवा आश्रम चितवन शाखाले अब असहाय तथा बेवारिसेको सेवाका लागि आफ्नै भवन बनाउने भएको छ । समाजसेवी स्वर्गीय भगवानदास श्रेष्ठ र उनका भाइ प्रेमकुमारको स्वामित्वमा भरतपुर–३, बेलचोकमा रहेको ८ कठ्ठा जग्गा निःशुल्क भोगचलन गर्न पाउने गरी सम्झौता भएपछि भवन बनाउन लागिएको हो ।
२०६९ भदौ १३ गतेबाट आश्रमले भाडामा लिएको घरबाट चितवन शाखाको सेवा सुरु गरिएको हो । सडकमा बेवारिसे भई कष्टकर जीवन जिउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको आश्रमको चितवन शाखामा हाल ५५ जना आश्रित छन् । चितवन शाखाको सञ्चालन खर्च मासिक न्यूनतम ५ लाख रुपैयाँ लाग्ने गरेको संस्थापक रामजी अधिकारीले जानकारी दिए । “आश्रमको घरभाडाका लागि ७० हजार रुपैयाँ, मानसिकरुपले विक्षिप्तको औषधि उपचारमा ५० देखि ५५ हजार खर्च हुन्छ भने अन्य सञ्चालन खर्च हुन्”, अधिकारीले प्रष्ट्याए ।

विभिन्न सहयोगी हातहरुको समन्वय र सहकार्यबाट अभियानलाई अघि बढाइरहेको मानव सेवा आश्रमले असहायमैत्री भवन निर्माणका लागि ३ करोडको खर्च अनुमान गरेको छ । एक सय ५० जना अटाउन सक्ने क्षमताको भवन निर्माण कार्य तिहारलगत्तै सुरु गर्ने आश्रमको योजना छ । शनिबार नेपाली जनसम्पर्क समिति बेल्जियमले आश्रमको लागि एक लाख रुपैयाँ सहयोग उपलब्ध गरायो । समितिका उपाध्यक्ष नरहरि सापकोटा, बेल्जियम प्रतिनिधि नन्दराज घले र नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले संयुक्तरुपमा आश्रमका संस्थापक रामजी अधिकारीलाई सो सहयोग उपलब्ध गराएका हुन् ।
बेल्जियममा रहँदै आएका नेपालीहरुले नेपालमा विभिन्न सामाजिक कार्यलाई निरन्तर संकलन गरेको रकमबाट सहयोग गरिएको उपाध्यक्ष सापकोटाले बताए । नेपाली जनसम्पर्क समिति बेल्जियमले उपलब्ध गराएको सहयोग भवन निर्माण खातामा राखिने आश्रमका संस्थापक अधिकारीले बताए । भवन निर्माणका लागि हालसम्म १० लाख रुपैयाँ संकलन भइसकेको छ । अब भवन निर्माणकै लागि अर्थ संकलनका लागि अभियान सञ्चालन गर्ने तयारी भइरहेकोसमेत उनले बताए ।
२०६६ सालदेखि सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन संस्थाले साँचो जीवन निर्माण अभियान सञ्चालन गरेको थियो । यसैलाई टेकेर २०६९ सालमा आश्रम स्थापना भएको थियो । आश्रमको देशभर १२ शाखा विस्तार भइसकेका छन् । हेटौंडामा केन्द्रीय कार्यालय रहेको आश्रमलाई हेटौंडा उपमहानगरपालिकाले घरभाडा उपलब्ध गराई सहयोग गरेको छ । काठमाडौंमा महनागरपालिकाकै अभिभाकत्वमा मानव सेवा आश्रम सञ्चालन भइरहेको छ भने बाग्लुङ, गोरखा र ललितपुरमा पनि नगरपालिकाले अपनत्व लिएका छन् । चितवनमा पनि महानगरपालिकालाई अपनत्व ग्रहण गरी सेवालाई थप प्रभावकारी बनाउन पटक–पटक ध्यानाकर्षण गराइरहेको अधिकारीले जानकारी दिए ।





