
धु्रवराज खनाल
रत्ननगर, १७ कात्तिक
चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १६ जिल्लाको बालमैत्री तथा बालश्रममुक्त घोषित वडामा तेस्रो बनेको छ । शुक्रबार सो वडालाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको हो । यसअघि रत्ननगरकै वडा नम्बर ३ र ५ लाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणा गरिएको थियो ।
बालमैत्री नगर बनाउनका लागि रत्ननगर उद्योग वाणिज्य संघले युनिसेफ नेपाल र रत्ननगर नगरपालिकाको सहयोगमा बाल संरक्षण तथा बालश्रम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । रत्ननगर–१६ मा रहेका श्रमिक बालबालिकालाई श्रमबाट मुक्त गरी परिवारको जिम्मा लगाउनुका साथै संरक्षण केन्द्रको जिम्मा लगाई विद्यालय भर्ना गरिएपछि सो वडालाई बालमैत्री घोषणा गरिएको हो ।
वडा कार्यालयको पछिल्लो तथ्यांकअनुसार सो वडामा ९ जना श्रमिक बालबालिका थिए । जसमध्ये ३ जनालाई परिवारमा पुनर्मिलन गरिएको, १ जनालाई सिलाइकटाइ तालिममा संलग्न गराइएको वडाध्यक्ष हेमराज थापाले बताए । ५ जनालाई विभिन्न संरक्षण केन्द्रको जिम्मा लगाइएको छ । २ वर्षका एक बालकलाई अभिभाकत्व ग्रहण गर्ने गरी तथा १ जनालाई सपोर्ट एण्ड केयर, २ जनालाई गामवेशीको चेपाङ संरक्षण केन्द्र र १ जनालाई ‘सानो घर’को जिम्मा लगाइएको वडाध्यक्ष थापाले बताए ।
वडा कार्यालय परिसरमा आयोजित समरोहबीच प्रदेश नम्बर ३ का सांसद् कृष्णप्रसाद खनालले वडाध्यक्ष हेमराज थापालाई बालमैत्री तथा बालश्रममुक्त वडा घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए भने वडास्तरीय बालक्लबलाई खेलकुदका सामग्री प्रदान गरिएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रदेश सांसद् खनालले श्रममा लगाउनु गैरकानुनी रहेको उल्लेख गर्दै त्यस्ता कार्यमा लगाउने कारवाहीको दायरामा ल्याउनु पर्ने वताए । श्रममा लगाउन नपाउने कानुनमै उल्लेख छ प्रदेश साँसद खनालले भने – गैरकानुनी कार्यमा सलग्नलाई कारवाही गर्न सके कुनै पनि वालवालिका श्रममा होमिने थिएनन् । वडाध्यक्ष थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन,रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, रत्ननगर ७ का वडाध्यक्ष लालवहादुर भट्ट, नेकपाका पुरुषोतम लामिछाने,नेपाली काग्रेश रामचन्द्र दुवाडी, वडास्तरीय वाल क्लवकी अध्यक्ष रोजी डल्लाकोटी,वडासचिव शंकर गिरी लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा वडास्तरीय वाल कोषका लागि स्वर्ण लक्ष्मी वचत तथा ऋण सहकारी संस्थाले २० हजार,वडा कार्यालयले ५ हजार सहयोग गर्नुका साथै सहकारी सस्थाले २० थान डस्विन प्रदान गरेको थियो । वाल संरक्षण तथा वालश्रम न्युनिकरण कार्यक्रमकी व्यवस्थापक रोजिना श्रेष्ठका अनुसार मंसिरमा रत्ननगर १० लाई वालमैत्री वडा घोषणा गरिनेछ ।





