धु्रवराज खनाल
रत्ननगर, १६ कार्तिक
खैरहनी नगरपालिका अन्र्तगत रहेका आधारभुत तहका विद्यालयहरुले विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्न माग गरेका छन् । शिक्षा शाखा खैरहनीले बिहीबार आयोजना गरेको आधारभूत तहका प्रधानाध्यापकहरुसंगको अन्र्तक्रिया कार्यक्रममा प्रधानाध्यापकहरुले विद्यार्थी नियमित गराउन दिवा खाजाको व्यवस्था हुनु पर्ने बताएका हुन् । उनीहरुले खानेपानी र विद्युत शुल्क तिर्न नसक्दा समस्या पर्ने गरेको बताए । सामुदायिक विद्यालयको समस्या र शैक्षिक गुणस्तर बृद्धी गर्ने उदेश्यले नगरपालिकाले प्रधानाध्यापकहरुसंग अन्र्तक्रिया गरेको थियो । चण्डी राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक मैतसिंह घिसिङले गरिवीका कारण विद्यार्थी अनियमित हुने गरेको बताए । “
आर्थिक अवस्थाका कारण विद्यार्थीका अभिभावक ज्याला मजदुर गर्न जान्छन् घरमा खाना बनाउने मान्छे हुदैनन्”, घिसिङले भने, “त्यस्ता विद्यार्थीलाई लक्षित गरि दिवा खाजाको व्यवस्था गर्न सके विद्यार्थी नियमित हुनेथिए ।” राष्ट्रिय आधारभतु विद्यालय कुसहनाका प्रधानाध्यापक जलसिंह चौधरीले छिमेकी विद्यालयले दिवा खाजाको व्यवस्था गर्दा आफ्नो विद्यालयमा विद्यार्थी घटेको बताए । “बाल विकास कक्षादेखि छिमेकी विद्यालयले खाजाको व्यवस्था गरेका छन्, जसका कारण हाम्रा विद्यार्थी समेत तानिए”, चौधरीले भने, “कुनै बेला विद्यार्थीले भरिभराउ हुने विद्यालयले अहिले धरासायी छ ।” सो विद्यालयमा कुनै वेला एउटै कक्षामा ६० जना सम्म भएपनि हाल कुल २५ जना विद्यार्थी मात्र छन् ।
राष्ट्रिय आधारभुत विद्यालय जनकपुरका प्रधानाध्यापक गोकर्ण प्रसाद वर्तौलाले दराई बोटे समुदायको वाहुल्यता रहेको विद्यालयमा भोको पेटमा पढ्न आउनु पर्ने बाध्यता रहेको भन्दै खाजाको व्यवस्था गर्न माग गरे । नगर भित्र रहेका १४ वटा आधारभुत विद्यालयका प्रधानाध्यापकहरुले आआफ्नो विद्यालयको समस्या नगरप्रमुख, उपप्रमुख, शिक्षा शाखा समक्ष राखेका थिए । सो अवसरमा खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले रचनात्मक र भावनात्मक सम्वन्धसंग जोडिएर अध्यापन गराए शैक्षिक गुणस्तर अभिवृद्धी हुने बताए ।
प्रधानाध्यापकहरुले राखेका समस्यालाई सम्वोधन गर्दै मेयर चौधरीले सबै मागलाई एकै पटक पुरा गर्न नसकिने हुँदा प्राथमिकताका आधारमा समाधान गर्दै जाने वताए । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले राम्रा विद्यार्थी निजी विद्यालय जाँदैमा चिन्ता लिन नपर्ने उल्लेख गर्दै भएकालाई सुधार गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा उपमेयर सुनिता थपलिया, शिक्षा शाखा प्रमुख बालचन्द्र सापकोटा, श्रोत व्यक्ती प्रेमराज खनिया लगायत आधारभुत तहका विद्यालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको थियो ।




