चितवनमा उत्पादनको तयारीमा ‘जैविक सेनिटरी प्याड’

प्रमिता ढकाल
भरतपुर, १३ कार्तिक
चितवनमा जैविक सेनिटरी प्याड उत्पादनको तयारी गरिएको छ । राधा पौडेल फाउण्डेसनको आर्थिक एवम् प्राविधिक अग्रसरता र न्यायका लागि सक्रिय महिला मञ्चको सहकार्यमा मितेरी जैविक प्याड उत्पादन गरीने भएको हो । फाउण्डेसनले भरतपुर ७ कृष्णपुरमा उद्योग स्थापना गरी जैविक प्याड उत्पादनको लागि अहिले तालिम सञ्चालन गरीरहेको छ ।
भारतको आकार इनोभेसन प्रा.लि. बाट उपकरण खरिद गरी ल्याइएको मितेरी जैविक प्याडका व्यवस्थापक राधा पोखरेलले जानकारी दिइन् । करिव ३० लाख बराबरको मेसिनरी सामान र कच्चा पदार्थ ल्याइएको उनले जानकारी दिइन् । “आकार इनोभेसन प्रा.लि.बाट आएका फिल्ड इन्जिनियरबाट अहिले कामदार कर्मचारीलाई तालिम दिइदै छ, एक हप्ते तालिम सकिदैं गर्दा उत्पादन पनि भइसकेको हुन्छ,” उनले भनिन् ।
मितेरी जैविक प्याड बनाउन ६ जना महिलाले कर्मचारी कै रुपमा रहने गरी तालिम दिइदैछ । एक जना सुपरभाइजर र ३ जना संस्थाकै सदस्यहरुलेसँगै तालिम लिइरहेकाछन् । मितेरी जैविक प्याड उत्पादनका लागि महिला कर्मचारी मात्र राखिएको सुपरभाइजर मोती कंडेलले बताइन् । आर्थिक रुपमा सवल भए महिलाका अधिकांस समस्या समाधान हुने भन्दै शशक्तिकरणका लागि पनि महिला कामदार राख्ने सोच आएको उनले बताइन् । तालिममा सहभागिहरुलाई मेसिनको उपयोग , प्याड बनाउन प्रयोग गरीने कच्चा पदार्थ, मिलाउन पर्ने मात्रा र अपनाउनुपर्ने सावधानीका बारेमा “आकार इनोभेसन प्रा.लिबाट आएका फिल्ड इन्जिनियर रजत मिश्रले प्रशिक्षण दिइरहेकाछन् । प्याड बनाउन प्रयोग गरीने सेमि अटो मेसिनको सही उपयोग र मर्मतका उपाय पनि मिश्रले सिकाइरहेकाछन् ।

प्याड उत्पादन गर्न विभिन्न ५ तहको प्रक्रिया पुरा गर्नुपर्छ । भर्जिन पाइन वुड पल्प सिट अर्थात एक प्रकारको सल्लोको बोक्राबाट बनाइएको पाता प्रयोग गरी जैविक सेनिटरी प्याड बनाइन्छ । सुरुमा पाइन वुड पल्प सिटलाई च्यातेर मसिनो आकारमा टुक्राइन्छ । त्यसपछि पल्भराइजिंग मेसिनमा हाली कपास निकालिन्छ । कपासलाई बाल्टीमा भरेपछि त्यसको तौल लिने काम हुन्छ । प्याड बनाउन ६ दशमलव ५ देखि ६ दशमलव ७ ग्राम सम्म कपास प्रयोग गरीन्छ । त्यो तौलको कपासलाई सुरुमा फिमेल डाइ मेसिनमा मिलाएर राखिन्छ , यसरी राख्दाबीच भागमा धेरै कपास पर्ने गरी मिलाउनुपर्ने हुन्छ । महिनाबारीको समयमा अधिक रगत बग्ने बेला शोस्न सजिलो होस् भन्नका लागि यसो गरिन्छ । त्यसपछि मेल डाइ मेसिनले प्रेस गरी आकार दिइन्छ । त्यसपछि प्रयाृग गर्न सहजताका लागि प्लाष्टिक तह राख्ने , रिलिज पेपर टाँस्ने जस्ता कार्य गरिन्छ । यी सबै कार्य गर्दा हातको प्रयोग हुने भएकाले त्यसपछि स्टेरिलाइजेशन अर्थात जीवाणु निर्मुलीकरणको लागि प्रक्रिया सुरु हुन्छ । त्यसपछि लेभलिंग र प्याकेजिंगका कार्य हातमा पञ्जा लगाएर गर्नुपर्ने हुन्छ ।
यसरी तयार गरीएको जैविक प्याड उत्पादन मितीले एक वर्षसम्म प्रयोग गर्न सकिने आकार इनोभेसन प्रा.लिका फिल्ड इन्जिनियर रजत मिश्रले बताए । हानीकारक जेल तथा पोलिमरको प्रयोग नहुने भएकाले महिलाको स्वास्थ्यका लागि पनि लाभदायक रहेको उनको भनाई छ । आकार इनोभेसन प्रा.लिले भारतको ३५ युनिट र अफ्रिका, युगाण्डा, केन्या, ताञ्जानियामा पनि जैविक प्याड उत्पादनको लागि सहकार्य गरीरहेको उनले जानकारी दिए ।
एक महिला आफ्नो जीवन अवधीमा ३ हजार ५ सय दिन महिनावारी हुन्छिन् । उनको जीवनको औसत आयुको १० वर्ष महिनावारी भएर वितेको हुन्छ । यस अवधीमा उनले ११ हजार देखि १५ हजार सेनिटरीका उत्पादनहरु प्रयोग गरेकी हुन्छिन् । सेनिटरी प्याड प्रयोग गर्ने महिलाले औसतमा ५० किलो प्याडप्रति महिला प्रयोग गर्ने गर्दछन् ।विश्व इतिहासलाई हेर्ने हो भने दोस्रो विश्वयुद्ध पछि नै सेनिटरी प्याडको व्यापक प्रयोग हुन थालेको देखिन्छ । लामो समय टिक्ने, सजिलै गलेर कपडा नविगार्ने भन्दै जेल तथा पोलिमर प्रयोग गरी बनाइएका विभिन्न प्रकारका सेनिटरी प्याड बजारमा उपलब्ध छन् । नेपालमै पनि विभिन्न २७ ब्राण्डका सेटिरी प्याड उत्पादन गरीन्छन् ।
अन्य प्याडहरुले वातावरणलाई प्रदुषित गराइरहेकाछन् । ती प्याड पूर्ण रुपमा सडेर कुहिन कम्तिमा २ सय देखि एक हजार वर्ष लाग्ने विभिन्न अध्ययनले नै प्रमाणित गरीसकेको मर्यादित महिनावारी अभियन्ता एवम राधा पौडेल फाउण्डेसनकी संस्थापक राधा पौडेलले बताइन् । जैविक प्याड वातावरण मैत्री हुन्छ । यसको प्रयोग पछि खाल्डोमा पुरेदेखि एक सय ८० दिन पछि नै कुहिन सुरु हुन्छ । “मर्यादित महिनाबारी महिला स्वास्थ्य र छोइछिटो हटाउनुपर्छ भन्ने उद्देश्यका लागि मात्र चलाइएको अभियान होइन । यो शान्ती र समुन्नत समाजका लागि सहकार्य र प्रदुषण रहित वातावरणका लागि हातेमालोको पनि अभियान हो । हाम्रो समाज , हाम्रो देश अझै पनि उदार नभएको अवस्थामा जैविक प्याडको प्रयोग गर्न महिला स्वयम जागरुक भई अभियानमा सहकार्य गर्न सक्छन्”, उनले भनिन् ।
पौडेलले राधा पौडेल फाउण्डेसन मार्फत नेपालमै पहिलो पटक सन् २०१४ मा पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याड उत्पादन समेत सुरुआत गरेकीथिइन् । जुम्ला र कालिकोटमा यो प्रभावकारी पनि भयो । तर अन्य विकासभएका क्षेत्रमा पैसा तिरेर सजिलै बजारमा उपलब्ध हुने अन्य प्याडको प्रयोग सहज हुने भएकाले पुनः प्रयोग गर्न सकिने कपडाका प्याड धुन र सुकाउन झन्झट मान्न गर्दा कम प्रयोग भएको देखिन्छ । सर्वसाधारण महिलाहरु सहजताका लागि स्वास्थ्य प्रति सचेत हुन नसककेको अवस्थामा नैपालमै जैविक प्याड उत्पादनको सोच आएको उनको भनाइ छ ।
निकै लामो संघर्षपछि मात्र जैविक प्याड उत्पादनको प्रयासले सार्थकता पाउन थालेको उनले बताइन् । ३० लाखको लगानीमा ल्याइएको उपकरण भन्सारबाट छुटाउन नै करिव साढे दुई महिना लागेको उनले बताइन् । “यतीबेलासम्म त प्याड बनीसक्नुपर्ने तर हामी पाँच महिना त मेसिन आउँछ आउँछ भन्ने मै रह्यौ ,बल्ल तल्ल करिव ३ महिना पुग्न लाग्दा दुई लाख ५० हजार भन्सार तिरेर महिलाको स्वास्थ्य र वातावरणको लागि अनुकुल प्याड बनाउने उपकरण ल्याउन सफल भयौं”, उनले भनिन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट