सार्वजनिक जग्गा हडप्नेविरुद्ध नगरपालिका कठोर

धु्रवराज खनाल
रत्ननगर, १० कात्तिक
सार्वजनिक जग्गा अतिक्रमण गर्नेविरुद्ध रत्ननगर नगरपालिका आक्रामक बनेको छ । दिनप्रतिदिन सार्वजनिक जग्गा अतिक्रमण गर्दै घर निर्माण गर्ने क्रम बढेपछि नगरपालिका आक्रामक बन्दै कठोररुपमा प्रस्तुत भएको हो ।
सुकुमबासी समुदायको बस्ती रहेको सार्वजनिक जग्गामा सोही बस्तीकै अगुवाबाट जग्गा बेचविखन भई नयाँ घर निर्माण हुने क्रम वढ्दै गएको छ । सार्वजनिक जग्गामा नयाँ घर बन्न नदिन पटक–पटक नगरपालिका तथा वडा कार्यालयले सार्वजनिकरुपमै आह्वान गरेपनि त्यसलाई बेवास्ता गरेपछि नगरपालिकाले सार्वजनिक जग्गामा बनाएका नयाँ घर भत्काउनेसम्मको कठोर निर्णयमा पुगेको हो ।
सार्वजनिक जग्गा संरक्षणको काममा लागिरहेको रत्ननगर नगरपालिकाले सोही कामलाई निरन्तरता दिने क्रममा रत्ननगर–९ मा निर्माण गरिएको दुई वटा घर भत्काएको छ । वडा कार्यालयले प्रहरीको उपस्थितिमा डोजर लगाएर घर भत्काएको हो । टिकौलीको सुकुमबासी बस्तीमा गैरकानूनीरुपमा निर्माण गरिदै गरेका दुईवटा घर वडा नम्बर ९ वडा कार्यालयले भत्काएको वडाध्यक्ष रोशन आचार्यले जानकारी दिए । बस्तीका सुकराम दराई र मनिकलाल मुखियाको निर्माणाधिन घर भत्काइएको उनले वताए । “सार्वजनिक जग्गामा नयाँ घर नबनाउन हामीले पटक–पटक आह्वान ग¥यौं”, वडाध्यक्ष आचार्यले भने, “हाम्रो आह्वानलाई बेवास्ता गरी बनाउँदै गरेका घर भत्काएका हौं ।”
पशुहाटबजार टोल विकास संस्था र दोभान टोल विकास संस्थाअन्तर्गत पर्ने बस्तीमा दराईको गारो लगाउँदै गरेको घर र मुखियाको डिपीसी गरेको अवस्थाको घर भत्काइएको छ । वडाध्यक्ष आचार्यले दराईले पाँच लाख रुपैयाँमा जग्गा बिक्री गरेर अर्को व्यक्तिले बनाउँदै गरेको घर भत्काइएको बताए ।
वडाले सुकुमबासी बस्ती व्यवस्थापनको काम सुरु गर्ने तयारी गरिरहेका बेला बस्तीमा नयाँ घर थपिन नदिन रोक्ने प्रयास गरिएको आचार्यले बताए । गत साउन महिनामा गरिएको घरधुरी सर्बेक्षणमा ९७ घर रहेकोमा तीन महिनाको अबधिमा घरधुरी संख्या बढेर १२१ पुगेको रत्ननगर–९ का वडा सचिव खगनाथ पराजुलीले बताए । उनका अनुसार तीन महिनाको अवधिमा सो बस्तीमा २४ घर थपिएका छन् ।


सोही बस्ती नजिककै करिब १ विघा जग्गा पूर्वमन्त्रीले आफ्नो नाममा दर्ता गराउन लागेका बेला रत्ननगर नगरपालिकाले फिर्ता गरिसकेको थियो । रत्ननगर–९ मा मात्र होइन नगरका विभिन्न वडामा रहेका सुकुमबासी बसेको सार्वजनिक जग्गा किनबेच तीव्र भइरहेको छ । यसअघि रत्ननगर–१३, प्रगति टोलमा टोलकै अध्यक्षले ३ वटा घर बन्ने जग्गा बिक्री गरेकी थिइन् । तर, त्यस विषयमा भने नगरपालिकाले कारबाही गर्न सकेको थिएन । यतिबेला रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा संरक्षणको काम पनि तीव्र पारेको छ ।
हालसम्म नगरभित्रका करिब २५ विघा सार्वजनिक जग्गा संरक्षण गरिसकको नगरपालिकाका प्रमुख नारायण वनले बताए । “सार्वजनिक जग्गा कसैले पनि आफ्नो नाममा गर्न पाउँदैन”, नगर प्रमुख वनले भने, “त्यस्ता गैरकानूनी काम गर्ने जोसुकैविरुद्ध नगरपालिका कठोर निर्णय गर्दै अघि बढ्छ ।” रत्ननगरका अन्य वडाहरुमा पनि सार्वजनिक जग्गा बेचविखन र नयाँ घर निर्माणको क्रम रहेकाले नगरपालिकाले यसको निगरानी गरिरहेको जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट