
प्रमिता ढकाल
भरतपुर, १० कात्तिक
लिड (सिसा) अर्थात हानीकारक गहुँगो धातुको विष निकै हानीकारक हुन्छ । विशेषगरी बजारमा पाइने रंगहरू, घर रंगाउन प्रयोग हुने विभिन्न रंगीचंगी पेन्ट्स, बालबालिकाले प्रयोग गर्ने खेलौना, महिलाले प्रयोग गर्ने सौन्दर्यका सामग्री, सिन्दूर, गाजल, लिपिस्टिक, र बन्दुकमा पनि लिडको प्रयोग हुन्छ ।
लिडको प्रयोग रङ चम्किलो बनाउन मात्र नभएर धेरै टिकाउ बनाउन, ढुसीबाट जोगाउन र छिटो सुक्ने बनाउनका लागि गरिन्छ । घर रंगाइने पेन्टस्को व्यापार हरेक वर्ष दोब्बर वृद्धि हुँदै गएको छ । तर, सँगै यसको नकारात्मक असर पनि बढ्दो छ । अत्यधिक मात्रामा लिडको प्रयोग निकै खतरनाक हुन सक्ने भन्दै ६ वर्षयता अन्तर्राष्ट्रिय सचेतना सप्ताह मनाउन थालिएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा लिड निषेधको लक्ष्य राखेको छ । लिडयुक्त पेन्टस् उन्मूलनका निम्ति अन्तर्राष्ट्रिय सचेतना सप्ताह प्रत्येक वर्ष कात्तिक ५ देखि ११ गतेसम्म मनाइन्छ । ‘लिडमुक्त बालबालिका, स्वस्थ भविष्यका लागि’ (लिड फ्रि किड्स फर अ हेल्दी फ्युचर) भन्ने मुख्य सन्देशसहित यसवर्ष विश्वभरि नै सचेतना सप्ताह मनाइदैछ । नेपाल सरकारले लिडको प्रयोगबारे बाध्यकारी मापदण्ड नै तोकेपनि त्यसको प्रभावकारी कार्यान्वय भने हुन सकेको छैन ।
सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार चितवनको भरतपुरमा मापदण्डको प्रभावकारी कार्यान्वयनको लागि दबाब दिने उद्देश्यले सचेतना कार्यक्रम गरिएको छ । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रको आयोजनामा ‘लिड प्रयोगका लागि निर्धारित मापदण्डको प्रभावकारी कार्यान्वयन’ विषयक कार्यशालामा जिल्लाका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रह्यो । बालबालिकाको स्वास्थ्य एवं भविष्य जोगाउन लिडयुक्त पेन्ट्स उन्मूलन र प्रतिबन्धका लागि सरकारी मापदण्डको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा सहभागीले ऐक्यबद्धता जनाए ।
कार्यशालामा जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहले नेपालमा लिडयुक्त सामग्रीको सम्पर्कमा आएकै कारण वर्सेनि ६ लाख बढी नयाँ बालबालिकामा जटिल स्वास्थ्य समस्या देखापर्ने गरेको जानकारी गराए । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले सन् २०१० देखि गरेको अध्ययनबाट नेपालमा उत्पादित एवं आयातित रङमा खासगरी इनामेल पेन्ट्समा अत्यधिक लिड मिसाएको पाइएको उनले बताए ।
प्रतिवेदन सार्वजनिक भएलगत्तै वि.सं. २०७१ पुस ७ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी लिडको प्रयोगकका लागि बाध्यकारी मापदण्ड ९० पीपीएम (पार्ट पर मिलियन) तोकेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको उनले बताए । “त्यसो त मापदण्ड आएपछि बजारमा लिडमुक्त पेन्ट्सहरु पनि आउन थालेका छन्”, उनले भने, “तर हामी सचेत भएका छैनौं र लेबल नहेरी रंग अर्थात पेन्ट्स खरिद गरी घर, बस, सार्वजनिक स्थल रंगाउने गर्छौं जसले जोखिम बढाएको छ ।”
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले गरेको अर्को अध्ययनमा स्कूले बालबालिकाको रगतमा सिसाको मात्रा धेरै पाइएको छ । स्कूलभित्रको कक्षाकोठामा बस्ने बालबालिकाको रगतमा सिसाको मात्रा धेरै रहेको पाइएको छ, उनीहरु बस्ने डेस्क बेञ्चको रंग, स्कूल बसको रङ, उनीहरुले खेलाउने खेलौना, पार्कमा राखिएका रंगीन कुर्सी सबैको निरन्तर सम्पर्कका कारण बालबालिकाको रगतमा सिसा भेटिएको शाहले प्रष्ट्याए ।
बजारमा उपलब्ध सामानहरुको लेवल, प्रयोग गरिएका रसायनको कम्पोजिसन मात्रा नहेरी खरिद गर्ने परिपाटी आम सर्वसाधारणमा भेटिन्छ । घरलाई चम्काउन लगाइने रङबाट बालबालिका मात्रै नभएर वयस्क तथा वृद्धवृद्धालाई समेत सीधै असर गर्छ । रगतमा सिसाको मात्रा १० माइक्रो ग्रामभन्दा माथि भए श्रवणशक्तिमा कमी आउने, अल्छी हुने समस्या देखापर्छ ।
रगतमा सिसाको मात्रा बढी भए वयस्कलाई पनि डिप्रेसन, उच्च रक्तचाप, सम्झने शक्ति ह्रास हुँदै जाने, तौल कम हुँदै जाने समस्या निम्तिन्छ । त्यसमा पनि बालबालिकामा लाग्ने मुख्य १० जटिल स्वास्थ्य समस्या लिडकै कारण देखापर्ने विश्व स्वास्थ्य संगठनको अध्ययनले देखाएको छ । रगतमा सिसाको मात्रा परीक्षण नहुँदा धेरैजसो मानिसमा पेट दुख्ने, टाउको दुख्ने, मानसिक रोगी हुने, रगतको कमी हुने गरेकोले नियमित रगत परीक्षण गरी सर्तकर्ता अपनाउनुपर्ने उनले सुझाए । बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासमै असर पर्ने गरी बजारमा रंगको बिक्री भइरहेको अवस्थामा सचेतीकरण नै मुख्य आवश्यकता रहेकोमा शाहले जोड दिए ।
स्थानीय सरकारले लिडको प्रयोगका लागि तोकिएको मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि विशेष ध्यान दिन आवश्यक रहेको भन्दै शाहले जिल्ला समन्वय समितीका संयोजक कृष्ण कमार डल्लाकोटीको ध्यानाकर्षण समेत गराए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक डल्लाकोटीले लिडको प्रयोग के कस्ता सामाग्रीमा भएका छन् भन्नेसमेत जानकार नहसँदा घातक रोगको जोखिम बढ्दै गएको अवस्थाबारे चिन्ता व्यक्त गरे । उनले वर्तमान र भावी पुस्ताको स्वास्थ्य र निरोगी जीवनलाई ध्यानमा राख्दै सचेतनाका कार्यक्रममा विशेष पहल गर्ने प्रतिवद्धता समेत जनएका छन् ।
सो क्रममा जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका वरिष्ठ प्रशासक रामचन्द्र पाठकले लिडले खासगरी बालबालिकाको शारीरिक, मानसिक एवं बौद्धिक विकासमा असर पु¥याउने र सुस्त मनस्थीतीको समस्या बढाउने हुँदा संवेदनशील भएको बताए । लिड मुक्त सामाग्री हो वा होइन भन्ने लेबल हेरेर प्रयोग गर्ने, बालबालिकालाई पेन्टस्को सम्पर्कबाट टाढा रहन सजग गराउन सके समस्या कम हुने उनको भनाइ छ ।
कार्यक्रममा भन्सार विभागका मनोज वाग्लेले उद्योगी र सरकारबीच सधैं मापदण्डका विषयमा ‘टसल’ हुने गरेको बताए । सरकारले कुनै मापदण्ड लागू गराउन खोजे उद्योगीलाई धारासयी बनाउन खोजेको आरोप आउँछ । तर, विश्वव्यापी अध्ययनले नै पुष्टि गरेका कुरालाई नकार्ने ठाउँ नरहेको भन्दै नेपालमा रहेका पेन्ट्स उद्योगहरुले कच्चापदार्थ आयात गर्दा नै लिड नभएका कच्चापदार्थ आयात गरे समस्या कम हुने विचार राखे । “यसै पनि हामी सबै कच्चा पदार्थ आयात नै गर्छौं, जब खरिद गर्नु नै छ भने घातक सामाग्री किन खरिद गर्ने भन्ने तर्फ सजग भए सरकारले लागु गरेका मापदण्ड कार्यान्वयनमा कठिनाई हुँदैन”, उनले भने ।
पेन्ट्स एशोसिएशन चितवन क्यूपेकका जिल्ला अध्यक्ष टेकबहादुर गुरुङले रङहरुको छनौट तथा प्रयोगमा सावधानी अपनाउने र सचेतना फैलाउन सहकार्य गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा बर्जर पेन्ट्सका प्रतिनिधि राजु ढुंगानाले पेन्ट्सको प्रयोगलाई हाउगुजी बनाउनभन्दा पनि मापदण्डको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राखे । “मापदण्ड लागू भएको धेरै भएको छैन, यद्यपि एक वर्षयताका उत्पादनहरुमा मापदण्डभन्दा निकै कम मात्रामा लिड प्रयोग हुन थालिसकेको छ, मलाई विश्वास छ अबको एक डेढ वर्षमा पेन्टसहरुमा लिडको प्रयोग कम हुनेछ”, उनले दावी गरे ।




