भरतपुर, ८ कात्तिक
साल्ट ट्रेडिङ कर्पोरेसन नारायणगढले सहुलियत मूल्यको पसलबाट १३ लाख १२ हजार ९ सय ५५ रुपैयाँको कारोबार गरेको छ । कार्यालयले खाद्यान्न, गेडागुडी चिनी तथा नुनको बिक्री गरेको कार्यालय प्रमुख वुद्धिविनोद दाहालले जानकारी दिए ।
गत वर्षभन्दा यसपालि व्यापार निकै कम भएको दाहालले बताए । सहुलियत पसल शनिबार पनि सञ्चालनमा रहेको र बिहान १० देखि साँझ ५ बजेसम्म खोलिएको थियो । पसल सञ्चालनका लागि ६ जना कर्मचारी परिचालन गरी काम गरिएको दाहालको भनाइ छ । बडा दशैं, तिहार तथा छठ पर्वलाई ध्यानमा राखी पसल सञ्चालन गरिएको र तिहारका बेला चितवनका अन्य सहर तथा गाउँबस्तीमा घुम्ती सेवा पनि सञ्चालन गरी सेवा दिने तयारीमा लागेको दाहालले बताए ।
उनले चिनीबाहेक वस्तुमा भने बजार मूल्यभन्दा ५ देखि २५ रुपैयाँसम्म सस्तो भएको बताए । बडादशैं, तिहार तथा छठ पर्वलाई ध्यानमा राखी असोज १२ गतेदेखि सञ्चालन भएको सहुलियत पसल आउँदो कात्तिक २७ गतेसम्म सन्चालन हुनेछ ।




