बन्यो प्रेस युनियनको भवन, पूर्वप्रधानमन्त्री देउवाद्वारा भवन उद्घाटन हुदै

विप्लव काफ्ले
चितवन, २५ असोज ।
भरतपुर÷नेपाल प्रेस युनियन चितवनले सञ्चारकर्मीको पेशागत विकासका लागि भवन निर्माण गरेको छ । करिव ५५ लाखको लाखतमा निर्माण पुरा भएको सो भवनमा पत्रकारको क्षमता अभिवृद्धि, वृत्तिविकास लगायतका गतिविधि सञ्चालन गरिनेछ । ‘नेपाल प्रेस युनियन चितवन मैयाँदेवी सूचना केन्द्र’ का रुपमा स्थापित भवन निर्माणमा ६० भन्दा बढी व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले भवन निर्माणमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गरे । “भवन निर्माणमा सबैले सक्दो सहयोग गर्नुभयो”, उनले भने, “सामाजिक चासोका विषय उजागर गर्ने प्रेरणा पाएका छौँ ।” सो भवन बनाउन समाजसेवी मैयाँदेवी श्रेष्ठले तीन वर्ष पहिले भरतपुर–११ बसेनीमा युनियनलाई १३ धुर जग्गा उपलब्ध गराएकी हुन् । भूकम्पप्रतिरोधी सो भवनमा २ सय ५० जना क्षमताको सभाहल, कार्यालय कार्यकक्ष छ । “यो भवन अब सूचना केन्द्रका रुपमा विकास हुनेछ”, अध्यक्ष अधिकारीले भने, “सबै मिडियामा आवद्ध सञ्चारकर्मीको सिक्ने थलोका रुपमा विकास हुनेछ, सञ्चार क्षेत्रमा लाग्न चाहनेलाई गन्तव्य देखाइनेछ ।”

भवन निर्माणमा १४ जनाले जिन्सी सहयोग गरेका थिए । यस्तै ४६ जनाले नगद सहयोग गरेका थिए । दाताले १० हजार रुपैयाँदेखि ११ लाख रुपैयाँसम्म सहयोग गरेका छन् । सांसद गीता वाग्लेले ११ लाख रुपैयाँ, व्यवसायी तेजबहादुर कार्की ‘केशव’ ले ५ लाख रुपैयाँ नगद सहयोग गरेका थिए । यस्तै पूर्वसांसदहरु अञ्जनी श्रेष्ठ, उमेश श्रेष्ठ, शेषनाथ अधिकारी, सावित्रि चौधरीले आर्थिक सहयोग गरेका थिए । भवन निर्माणमा १ लाख बढी सहयोग गर्ने १८ जना छन् । तीन घुम्ती फिल्मको च्यारीटिसोबाट भवन निर्माणका लागि करिव १० लाख रुपैयाँ संकलन भएको थियो । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा भवन निर्माण आर्थिक समितिका संयोजक सृजना अर्यालले भवन निर्माणमा भएको आयव्यय विवरण तयार भैरहेको बताइन् । “पत्रकार संस्थाको आफ्नै भवन बनेको छ”, उनले भनिन्, “चितवनले अन्य जिल्लालाई पनि सन्देश दिएको छ, पत्रकारको आत्मबल बढाउन यो भवन फलदायी हुनेछ ।”
नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पत्रकार महासंघ बाहेक अन्य पत्रकार संस्थाको भवन चितवनमा पहिलो पटक बनेको बताए । “यो ठूलो उपलब्धि हो, प्रेस युनियनको संगठन शशक्तिकरण मजबुत बनाउन पनि सहयोग पुग्ने छ”, उनले भने, “पत्रकारलाई आत्मबल बढाउन यो भवनमा तालिम, प्रशिक्षण, गोष्ठी सञ्चालन हुनेछन् ।” उनले पत्रकारलाई क्षमता अभिवृद्धि तथा वृत्ति विकासका तालिम दिन सके पेशाबाट पलायन हुने अवस्थाको अन्त्य हुने बताए ।
पूर्वप्रधानमन्त्री देउवाद्वारा भवन उद्घाटन हुदै
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनिर्मित भवनको शुक्रबार उद्घाटन गर्दैछन् । भवन उद्घाटन कार्यक्रममा कांग्रेसका महामन्त्री शशांक कोइराला सहित अन्य केन्द्रीय नेता, सांसद, पत्रकार संगठनका अगुवा लगायतको सहभागिता रहनेछ । सोही अवसमा नेपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेसनको समेत उद्घाटन हुनेछ । सो अवसरमा भवन निर्माणमा सहयोग गर्ने दातालाई सम्मान समेत गरिनेछ । यस्तै चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट बरिष्ठ पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डीत पुरस्कृत हुदैछन् । नगद ५१ हजार १ सय ५१ रुपैयाँ सहित तीनै जनालाई पुरस्कृत गरिनेछ । यस्तै नेपाल प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कारबाट राजु चौधरी पुरस्कृत हुदैछन् । ११ हजार १ सय ११ रुपैयाँ नगद सहित चौधरीलाई पुरस्कृत गरिनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट