भरतपुर,१८ असोज ।गृहमन्त्री रामबहादुर थापा बादलले लागूऔषध तथा मदिराजन्य पदार्थ नियमन र नियन्त्रण गर्ने अभियानमा सरकार अघि बढेको बताएका छन् । घरेलु हिंसा र यौनजन्य हिंसाको मूल कारक मदिराजन्य पदार्थ भएको उल्लेख गर्दै नियमन र नियन्त्रणका लागि जनस्तरबाटै अभियान थालिएको उनले बताए ।
प्रेस सेन्टर र प्रेस चौतारी चितवनले बुधबार भरतपुर विमानस्थलमा आयोजना गरेको संयुक्त पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले महिला समूह तथा आमा समूहलाई परिचालन गरी अभियान अघि बढाइएको बताए । “घरेलु हिंसा तथा यौनजन्य अपराधको शिकार महिला नै भएका छन्”, उनले भने, “त्यसैले महिलाकै अगुवाइमा मदिरा नियमन र नियन्त्रण अभियान चलाउँदा प्रभावकारी नतिजा आउन सक्छ भन्ने अपेक्षासहित परिचालन गरिएको छ ।”
नेपाल सरकारले लागूऔषध बिक्री वितरणलाई निषेध एवं उन्मूलनको अभियानलाई पनि सँगै अघि बढाएको छ । युवालाई समेत सक्रिय परिचालन गरी अभियानलाई नतिजामुखी बनाउने प्रयासमा सरकार जुटेको छ । देशभर रहेका ३६ हजार बढी स्कूल तथा क्याम्पसबाट युवालाई र ७ हजार वडामा आमा समूह तथा महिला समूहलाई समेटेर अभियान अघि बढाइएको गृहमन्त्री थापाले बताए ।
सो क्रममा गृहमन्त्री थापाले निर्मला पन्त हत्या प्रकरणलाई अनावश्यक राजनीतीकरण गरिएको जिकिर गरे । “कुनैपनि प्रकारका अपराध नियन्त्रण गर्न गृहमन्त्रालय प्रतिबद्ध छ”, उनले भने, “सरकारले अपराधीलाई बचाउ गरेको आरोप मिथ्या हो ।” ९५ प्रतिशत अपराधका घटनामा अपराधी कानूनको दायरामा आएको उनले दावी गरेका छन् । निर्मला प्रकरणमा पनि अपराधीलाई कानूनको कठघरामा ल्याउन गृह मन्त्रालय गम्भीर भएर अघि बढिरहेको उनले बताए ।
“पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको छ, छानबिन टोलीको बुझाएको प्रतिवेदनको निष्कर्ष केही दिनमा नै सार्वजनिक गरी प्रतिवेदनकै आधारमा दोषीलाई कारबाही प्रक्रिया अघि बढाइने छ”, उनले भने । गृहमन्त्री थापाले सरकार आर्थिक अपराध नियन्त्रणमा पनि उत्तिकै संवेदनशील भई काम गरिरहेको जानकारी गराए । आर्थिक अपराध विशेष गरी तस्करी, चन्दा आतंक, सिण्डिकेट तथा भ्रष्टाचारविरुद्ध सरकार कठोररुपमा प्रस्तुत भएको उनको भनाइ छ । “देशमा अहिले गुण्डाहरु प्रायः भूमिगत छन्”, उनले भने, “तस्करी निस्तेज गरेर राजस्वमा समेत वृद्धि गुणात्मक वृद्धि भएको छ ।”
वर्तमान सरकार निर्माण भएपछि शान्ति र स्थायित्वका निम्ति महत्वपूर्ण उपलब्धी हासिल भएकोसमेत उनले दावी गरे ।
सरकारले विकासका लागि आवश्यक पूर्वाधार निर्माणसम्बन्धी काममा महत्वपूर्ण उपलब्धी हासिल गरेको उनले जानकारी गराए । चीनसँगको पारवहन सम्झौता र भारतसँगको जल, रेल र यातायातसम्बन्धी महत्वपूर्ण सम्झौता भएको उनले बताए ।
अर्काे एक प्रसंगमा उनले ३३ किलो सुनको अनुसन्धानको क्रममा चार हजार किलो सुनको तस्करी पत्ता लागेको उनले बताए । उनले भने, “३३ किलो सुन मात्रै नभएर चार हजार किलो सुन यो सरकार आउनु अघिदेखि तस्करी भइरहेको थियो भन्ने कुरा पत्ता लागेको छ । सुन तस्करीको सञ्जाल ध्वस्त भएको छ ।” साना ठूला माछा जालमा आउन बाँकी रहेको भन्दै उनले जबसम्म तिनीहरू कानूनको कठघरामा आउँदैनन् तबसम्म अनुसन्धान चलिरहने बताए ।





