धु्रवराज खनाल/कायाकैरन
१७ असार ,रत्ननगर ।÷वि.सं. २०७४ सालको साउन अन्तिम साता गएको बाढीले रत्ननगर–७, माझी मुसहर बस्तीकी बिसुनी माझीको खरले छाएको घर भत्काइदियो । झ्याक्सीले बारेको, खरले छाएको घर बाढीले भत्काएपछि उनको परिवारको बिचल्ली भयो ।

धेरै समय त्रिपालमुनि रातदिन कटाउन उनीहरु बाध्य भए । सो बस्तीका २६ परिवारको नै बिचल्ली भयो । तर, अहिले बिसुनी माझीले नयाँ पक्की घर पाएकी छन् । बाढी आउँदा राहत वितरणका लागि पुगेको रोटरी क्लबका प्रतिनिधिहरुले उनीहरुको अवस्था दयनीय देखेर घर निर्माण गरिदिने प्रतिबद्धता जनाएअनुसार चितवनका ५ र गैंडाकोटका १ रोटरी क्लबले अपनत्व ग्रहण गर्दै विभिन्न दाताको सहयोगमा घर निर्माण गरिदिएको हो ।

बाढीपीडितमध्ये १२ घरपरिवारलाई रोटरी क्लबले तीन वटा कोठाको घर निर्माण गरिदिएको छ । नयाँ घर पाउँदा विसुनी माझी दंग मात्रै छैनन्, खुसीको सिमै छैन । “बाढीले कष्टकर जीवन बिताउँदा साह्रै समस्या थियो”, बिसुनी भन्छिन्, “नयाँ घर पाउँदा खुसीले गदगद भएको छु ।” खोलानालामा माछा मार्न प्रतिबन्ध लगाएपछि सीमान्तकृत मुसहर समुदाय मजदुरी गरेर जीवनयापन गरिरहेका छन् ।
स्थानीय लक्ष्मण माझीले पनि नयाँ घर पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । बाढीपछि रत्ननगर नगरपालिकासँग समन्वय गरेर यहाँका रोटरी क्लबहरुले विभिन्न दाताहरुको खोजी गरी घर निर्माण गरेका हुन् । नृपाल परिवार हल्याण्डले खरिद गरेको १५ कठ्ठा ७ धुर जग्गामा कूल ५८ लाखको लागतमा घर निर्माण गरिएको रोटरी क्लब अफ भरतपुरका अध्यक्ष नयनराज नेपालले बताए । जसमा हस्तबहादुर भट्टराई स्मृति प्रतिष्ठानले मात्रै २० लाख रुपैयाँ सहयोग गरेको थियो ।
घर निर्माण समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा शनिबार एक औपचारिक कार्यक्रम गरी ती घर मुसहर परिवारलाई हस्तान्तरण गरिएको हो । रोटरी क्लब ३२९२ का डिष्ट्रिक्ट गभर्नर राजिव पोखरेल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले घरहरुको चाबी र ताला हस्तान्तरण गरेका थिए । सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले समृद्ध रत्ननगरको सुरुआत माझी मुसहर समुदायबाट भएको उल्लेख गर्दै उनीहरुको आर्थिक विकासका लागि नगरपालिकाले सीप प्रदान गर्ने बताए ।
सो अवसरमा रत्ननगर–७ का वडाध्यक्ष लालबहादुर भट्ट, हस्तबहादुर भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष रामकुमार भट्टराई, रोटरी क्लबअफ नारायणी मिट टाउनका अध्यक्ष अनिलकुमार थपलिया, रत्ननगरका अध्यक्ष विष्णु शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । रोटरी क्लव अफ रत्ननगर, रोटरी क्लव अफ चितवन, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लव अफ गैंडाकोटले अपनत्व लिदै घर निर्माण गरेका हुन् । रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णु शर्माका अनुसार त्यहाँका वालवालिकाको शिक्षामा रोटरी क्लव जिम्मेवार रहेको भन्दै सो मुसहर बस्तीलाई हरियालीसमेत बनाइने छ ।





