
लीलाराज दाहाल
कृष्णबहादुर सानैदेखि उत्ताउलो नभएपनि उमेरको सिंढी चढ्दै जाँदा उसमा चन्चलताको रस भरिंदै आएको थियो । उसको बदलिंदै गएको बानीबाट सशंकित उसका बाबुआमाले तत्काल उसको बिहे गराइदिए । बाइस वर्षे उमेरमा ऊ बेहुलो बनेको थियो ।
विवाहपछि केही समय उसको मन स्थिर रहेपनि पछि ऊ पुरानै बानीको लिकमा हिंड्न थाल्यो । पाँचवर्षको अन्तरालमा ऊ दुई छोरी र एक छोराको बाबु बन्यो । घरायसी कामधन्दा र छोराछोरीको पालनपोषणको चिन्ताले कृष्णबहादुरकी श्रीमती असमयमै बूढीजस्ती देखिन थाली । चिन्तारहित ऊ भने दिनानुदिन जवान देखिन थालेको थियो ।
पहिले कस्तो राम्रो जोडी भनेर तारिफ गर्ने साथीहरु अब कस्तो नमिलेको जोडी भनेर उसलाई उडाउन थालेका थिए । अब त उसले श्रीमतीतिर ध्यानदिनै छोड्यो । नयाँ–नयाँ युवतीहरुलाई मायाको जालमा पार्न ऊ कस्सिएर लागेको थियो । अब उसको दिन यस्तै–यस्तै काममा बित्न थालेको थियो । क्याम्पस पढ्ने युवती, विदेश गएकाका श्रीमतीहरुको परिक्रमा गरेर ऊ आनन्द प्राप्त गर्न थाल्यो । फेसबुकमा युवतीहरुसँग घन्टौं च्याटमा रहनु, बाइकको पछाडि युवती राखेर पार्क–पार्क डुल्नु उसको अचेल प्रमुख काम हुन थालेको थियो ।
पतिको आफूप्रतिको विकर्षण र बानी व्यवहारबाट वाक्कदिक्क भएकी श्रीमतीले एकदिन उसलाई केरकार गर्न थाली । अब उसले श्रीमतीलाई साँच्चै माया गरेको अभिनय गरिरहेको थियो । अझै विश्वास दिलाउन उसले श्रीमतीलाई नयाँ कपडा लगाउन भन्यो । नयाँ कपडा लगाएर, श्रृंगार गरेर बाहिर आँगनमा निस्केकी श्रीमतीको नजिकै पुग्यो ऊ । पल्लो घरको भाइलाई डाक्यो र आफ्नो हातको मोबाइलको क्यामेरा ठिक्क पारेर उसको हातमा थमाएर आफू भने श्रीमतीलाई अँगालो मारेर मुसुक्क हाँस्यो ।
अघि खिचेका फोटाहरु देखाउन उसले श्रीमतीलाई बोलायो । श्रीमतीनजिकै के आइपुगेकी थिई, उसले फेसबुकमा श्रीमतीले देख्ने गरी केही लेख्यो र अघि भर्खर खिचेका फोटाहरु भटाभट पोस्ट गर्न थाल्यो । उसले फोटोको तल लेख्यो, ‘प्यारी जीवन साथीसँग ।’
बागमती–११, कर्मैया, सर्लाही





