विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१६ असार ।
चितवनमा बालबालिकामाथि यौन दुव्र्यवहारका घटना घटेको छैन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले जारी गरेको पछिल्लो छ महिनाको तथ्यांकले यसलाई थप प्रष्ट्याउँछ । जिल्लामा बालबालिका असुरक्षित बन्न पुगेको उक्त तथ्यांकले स्पष्ट पार्छ । बालबालिका जबरजस्ती करणीका घटना बढ्न थालेकोले असुरक्षित बन्दै गएको इन्सेकको भनाइ छ ।
अर्धवार्षिक प्रतिवेदनमा जबरजस्ती करणीमा १३ र जबरजस्ती करणी प्रयासमा १ जना बालिका पीडित बनेको उल्लेख छ । १ जना बालकमाथि पनि यौन दुव्र्यवहार भएको छ । १८ वर्षमाथिका ८ जना महिला यस्तो घटनामा पीडित बनेका छन् । ३ जना जबरजस्ती करणी र ५ जना जबर्जस्ती करणीको प्रयासमा परेका छन् । “अभिभावकको निगरानी नहुँदा, सानोतिनो प्रलोभनमा पारेर बालिका करणीको घटनामा पर्ने गरेका छन्”, इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले भने, “प्रतिरक्षा गर्न नसक्ने, घटना बताउन नसक्ने देखेरै यस्ता घटना बढेका छन् । चनाखो हुन जरुरी छ ।”
गत पुस १७ देखि जेठ मसान्तसम्मको मानवअधिकार उल्लंघनका तथ्यांक हेर्दा १ बालिका बेचबिखन घटनामा परेको उल्लेख छ । ९ र ७ वषीया बालिकालाई बलात्कार कसुरमा भरतपुर–१४ का ७१ वर्षीय कुलप्रसाद पौडेललाई असार ५ गते जिल्ला अदालतले १० वर्ष कैदको फैसला गरेको इन्सेकको विवरणमा उल्लेख छ । २०७४ फागुन १२ गते भएको सो घटनाविरुद्ध पीडित पक्षले फागुन १३ गते प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

गम्भीर प्रकृतिका मानवअधिकार उल्लंघनका घटनाको अभिलेख राख्दै आएको इन्सेकले चितवनमा ५ महिनामा १ सय ६६ वटा मानवअधिकार उल्लंघनका घटना भएको जनाएको छ । घरेलु हिंसाका १ सय ३१, महिला बेचबिखनमा ३ र बहुविवाहका ५ घटना र हत्याका ३ घटना दर्ता गरिएको अधिकारीले बताए । प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय र जिल्ला अदालतमा पुगेका उजुरी तथा मुद्धालाई आधार बनाएर इन्सेकले अभिलेख संकलन गर्दै आएको छ ।
जिल्ला कारागारमा रहेका कैदीबन्दीको तथ्यांक हेर्दा जबरजस्ती करणी मुद्धामा धेरै छन् । जबरजस्ती करणी मुद्धामा ९९ जनाले सजाय भोगिरहेका छन् । यस्तै ४८ जना जबरजस्ती करणी मुद्धामा परेर अनुसन्धानको प्रक्रियामा छन् ।
“अभिभावकको संरक्षण नहुँदा बालिका बढी जोखिममा पर्ने गरेका छन्”, चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले भने, “कहाँ छन्, के गर्दैछन्, कता जाँदैछन् भनेर निगरानी बढाउनुपर्छ ।” नबुझ्ने बच्चालाई काखमा लिने, संवेदनशील अंग चलाउने र यौनदुव्र्यवहार, बलात्कार गर्ने क्रम बढ्न थालेको उनले बताए । “धेरै संख्यामा ‘रेप’ का घटना दर्ता हुन थाले”, उनले भने, “अपांग, बोल्न नसक्ने, आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य बढी यस्ता घटनामा परेका छन् ।”
उमेर पुगेका महिला पुरुषको सम्बन्ध सुरुमा सहमतिमै हुने र पछि पारिवारिक विमेलले गर्दा केही घटना जबर्जस्ती करणी मुद्धामा उजुरी पर्ने गरेको बताए । “संरक्षण गर्ने संस्थानै यौन दुव्र्यवहारमा लागेको विगतले देखाएको छ”, आचार्यले भने, “अब यस्ता घटना हुन नदिन सचेतना जरुरी छ ।” भरतपुर–३, बाह्रघरेमा रहेको गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रमा रहेका दुइ महिलाले जवरजस्ती करणीमा परेको भन्दै बैशाख ७ गते जाहेरी दिएका छन् । यस्तै आफ्नै श्रीमानले जबरजस्ती करणी गरेको आरोपमा गौरीगञ्जकी एक महिलाले बैशाख ११ गते प्रहरी कार्यालयमा उजुरी गरेकी छिन् । आरोपितलाई प्रहरीले गिरफ्तार गरेर मुद्धा चलाएको थियो ।





