भरतपुर,१४ असार ।
कम्प्युटर एशोसिएशन (क्यान)महासंघले सूचना प्रविधिको विषयमा यसवर्षदेखि छात्रवृत्ति कार्यक्रमको सुरूआत गरेको छ । सूचना प्रविधिको विषयमा अध्ययन अध्यापन गराउँदै आएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशन कलेजसँगको सहकार्यमा क्यान महासंघले गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्ति कार्यक्रम सुरू गरेको हो ।
काठमाडौँको मैतीदवीमा रहेको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनसँगको सहकार्यमा देशभरका गरीब तथा जेहेन्दार ४९ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागिएको बुधबार नारायणगढमा पत्रकार सम्मेलनमार्फत क्यान महासंघ प्रदेश नम्बर ३ का उपाध्यक्ष विनोद पौडेलले जानकारी दिए । देशका सातै प्रदेशबाट समान सहभागिता गराएर एक जनालाई पूर्ण र ६ जनालाई आंशिक छात्रवृत्ति प्रदान गर्न लागिएको उनले जानकारी दिए ।
‘क्यान नेशनल आईसीटी स्कलरसीप–२०७५’ नामबाट सञ्चालन गर्न लागिएको कार्यक्रमबाट सबै विद्यार्थीले गरी एक करोड ८३ लाख ३६ हजार पाँचसय रूपैयाँ बराबरको छात्रावृत्ति पाउनेछन् । छात्रवृत्तिका लागि अनलाइनमार्फत फारम भर्न सकिने उनले जानकारी दिए । अनलाइनमार्फत सम्भव नभएकाहरूले क्यानको जिल्ला शाखामार्फत फारम भर्न सकिने क्यान महासंघले जनाएको छ ।
छात्रवृत्तिका लागि नेपाल सरकारबाट मान्यताप्राप्त शैक्षिक संस्थाबाट ५० प्रतिशत अंकसहित प्लसटु अर्थात सोसरह अध्ययन गरेका विद्यार्थी तथा कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याएका र सीटीईभीटीबाट कम्युटर इञ्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीहरुले आवेदन दिन सक्नेछन् । लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष पञ्कज जलानले सूचना प्रविधिको क्षेत्रमा अध्ययन गर्ने चाहने ग्रामीण क्षेत्रका विद्यार्थीको मध्यनजर गर्दै अन्य आवश्यक सहयोग गर्न फाउण्डेशन तयार रहेको प्रतिबद्धता जनाए ।





