समस्याले जेलिएको भरतपुर कारागार

विप्लव काफ्ले/कायाकैरन
भरतपुर,१४ असार ।

जिल्ला कारागार चितवनमा दोब्बर बढी कैदीबन्दी छन् । बुधबारको तथ्यांकअनुसार महिला ५७ जना र पुरुष ५ सय ८३ जना बन्दीगृहमा छन् । जसमध्ये सजाय भोग्दै गरेका (कैदी) पुरुष ९९ जना र महिला ३९ जना छन् । अनुसन्धान तथा मुद्धा फैसलाका लागि पुरुष १ सय ९१ र महिला १८ जना थुनुवा छन् । कारागारको महिला बन्दी गृहको क्षमता १५ र पुरुष बन्दीगृहको क्षमता २ सय ४० छ ।
“सबै कारागारमा यस्तै भीड छ”, कारागारका शाखा अधिकृत जेलर कमलप्रसाद काफ्लेले भने, “अन्यत्र चाप कम भएका कारागारमा केही कैदी स्थानान्तरणका लागि पहल गरेका छौँ ।” ठाउँ अभावमा कैदीबन्दी टिनको छानामुनि, त्रिपालमुनि तथा भान्सामा सुत्दै आएका छन् । कैदीतर्फ गैंडा मुद्धा र थुनुवातर्फ लागूऔषध मुद्धाका धेरै छन् । कैदी पुरुषतर्फ गैंडा १ सय ११ जना, जबरजस्ती करणी ९९, लागूऔषध ६०, कर्तव्य ज्यान ४२ जना पुरुषले सजाय भोगिरहेका छन् ।
यस्तै कैदी महिलातर्फ जिउ मास्ने बेच्ने १२, कर्तव्य ज्यान १२, लागूऔषध १०, चोरी र ठगीमा २÷२ जनाले सजाय भोगिरहेका छन् । मुद्धाको फैसलाको पर्खाइमा रहेका थुनुवातर्फ पुरुषको संख्या धेरै देखिन्छ । थुनुवा पुरुषतर्फ लागूऔषधका ५५, जबरजस्ती करणी ४८, कर्तव्य ज्यानका २१ जना छन् । थुनुवा महिलातर्फ कर्तव्य ज्यान ६, लागूऔषध ५, जिउ मास्ने बेच्ने ३ जना छन् । देशका अन्य कारागारबाट दीर्घरोगी यहाँ पठाउने गर्दा चाप बढेको देखिन्छ ।
कारागारले अपराधिक मानसिकता हटाउँदै सुधार्न आयआर्जन गतिविधिमा समेत संलग्न गराउँदै आएको छ । मुढा बनाउने, साडी कडाइ गर्ने, कपडा सिलाउने, हाते पर्स बनाउनेजस्ता काममा व्यस्त हुने गर्छन् । महिनामा करिव १५ हजार रुपैयाँ बराबरका सामग्री बनाएर घरखर्च कमाउने गर्छन् ।
ढल निकास नहँुदा समस्या
सामान्य वर्षाले समेत कारागारमा पानी जम्मा हुने समस्या छ । उचित ढल निकास नहुदा कारागार वर्षायाममा प्रायः पोखरीजस्तो बन्ने गर्छ । “वर्षाको पानी बाहिर निकास गर्ने ठाउँ नै भएन”, प्रमुख जेलर कमलप्रसाद काफ्ले भन्छन्, “भित्रको जमिनभन्दा बाहिरको बाटो अग्लो भयो, वर्षामा पोखरी बन्ने अवस्था बन्यो ।”
उनले गृहमन्त्री, प्रमुख जिल्ला अधिकारी र महानगरसँग ढल निकासका लागि पहल गरेको बताए । लगातार पानी पर्न थालेपछि पुरुष बन्दीगृहको ‘क’ ब्लकमा समेत पानी जम्मा हुन्छ । घरेलु सामग्री उद्योग निर्माण कक्ष र खेलमैदानमा पानी जम्मा हुने गर्छ । १ विघा १३ कठ्ठा क्षेत्रफलमा फैलिएको कारागारमा ४ वटा ब्लक छन् । कारागारले वर्षायाममा मोटरबाटै पानी परिसर बाहिर फाल्ने गर्छ ।


“पछाडिको नहरमा बाटो बन्यो, ढल बनेन”, उनले भने, “भित्रको पानी मोटर लगाएर अब कहाँ फाल्ने ?” कारागारभित्रको झण्डै ६ फिट गहिरो पोखरीको हिलो, फोहर पानीको निकास पनि गारो छ । “स्याउलीबजार, विद्युत चोक हुँदै बस ट्रमिनल चोकसम्म उचित ढल निकास आवश्यक छ”, कारागारका सूचना अधिकारी तथा नायब सुब्बा रामबाबु श्रेष्ठले भने, “वस्ती बाक्लिदा ढल नहँुदा डुवानको खतरा बढ्यो ।” कारागारका मेडिकल नाइके मदारी महतोले पानी तलाउ बन्दा रोगको संक्रमण बढ्न सक्ने बताउँछन् । डेंगे, टाइफाइड, ज्वरो, बान्ताजस्ता समस्या बढी आउने बताए ।
दीर्घरोगीको चाप उस्तै
जिल्ला कारागार चितवनमा ६२ जना दीर्घरोगी छन् । उच्चरक्तचापका ३५, सुगरका २०, क्यान्सरका ४, क्षयरोग, हेपाटाइटिस ‘बी’ र ‘सी’का १÷१ जना बिरामी छन् । यो वर्ष ‘उपचार’ शीर्षकमा २७ लाख ५० हजार रुपैयाँ बजेट परेको थियो । जसमध्ये १३ लाख बराबरको औषधि खरिद भएको थियो ।
नियमित उपचार गर्नुपर्ने दीर्घरोगी र आकस्मिकरुपमा देखापर्ने रोग नियन्त्रण गर्न निकै चुनौती छ । “शैया व्यवस्था गरे क्यान्सरजस्ता बिरामी रेखदेख गर्न सहज हुन्थ्यो”, जेलर कमलप्रसाद काफ्लेले भने, “क्यान्सर अस्पताल नजिकै हँुदा धेरै यो कारागार पठाइन्छन्, त्यसैले शैया माग गर्दै आएका छौँ ।” सजाय भोगिरहेका बिरामीलाई अस्पताल नै राखेर उपचार गर्न सुरक्षाका दृष्टिले चुनौती भएकाले बेलाबखत परीक्षण तथा उपचार गर्न लगिन्छ ।
कारागारका स्वास्थ्य फाँट प्रमुख तोयनाथ दवाडीले नियमित कैदी तथा थुनुवाको स्वास्थ्य परीक्षण तथा उपचार हुँदै आएको बताउँछन् । “आकस्मिक बिरामी र दीर्घरोगीलाई उपचार गर्न खटिदै आएका छौँ”, उनले भने, “साधारण तथा जटिल बिरामीलाई उपचार गर्नुपर्छ ।” क्यान्सर भएकालाई राख्ने छुट्टै कोठा भएपनि अन्य बिरामीका लागि कुनै व्यवस्था छैन । जसले रोग संक्रमण फैलने जोखिम छ । कारागारका मेडिकल नाइके मदारी महतोले कारागारमा हाल ज्वरो, रुघाका बिरामी देखापरेको बताए । कारागारभित्रको ‘मेडिकल वार्ड’ मार्फत स्वास्थ्य चेकजाँच हुनेगर्छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट