२२ जना विद्यार्थीलाई रोटरियनले पढाउने

भरतपुर, १० असार ।

रोटरी क्लब अफ नारायणी मिड टाउन भरतपुरले २२ जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई सम्पूर्ण पढाइ खर्च व्यहोर्ने गरी अभिभाकत्व ग्रहण गरेको छ ।


इच्छाकामना गाउँपालिका वडा नम्बर ७, गर्दासस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा आधारभूत तहको कक्षा १ देखि ५ सम्म अध्ययनरत २२ जनालाई कक्षा १० सम्म पढाइ पूरा गर्न लाग्ने सबै खर्च व्यहोर्ने गरी अभिभाकत्व ग्रहण गरेको हो ।

विद्यालय उमेर पुगेका सबै विद्यार्थीलाई विद्यालय ल्याउने उद्देश्यले सरकारले देशव्यापीरुपमा चलाइरहेको विद्यार्थी भर्ना अभियानअन्तर्गत आफूहरुले पनि सहयोग गरेको क्लबका अध्यक्ष अनिलकुमार थपलियाले जानकारी दिए ।


क्लबका २२ जना सदस्यले प्रत्येकले एक विद्यार्थीको जिम्मा लिएका छन् । क्लबका पदाधिकारी आइतबार विद्यालय पुगेर ती विद्यार्थीलाई पहिलो वर्ष आवश्यक स्टेशनरी, विद्यालय पोशाक तथा सबै शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । आगामी हरेक वर्ष अब ती सबै विद्यार्थीलाई क्लबका यिनै सदस्यले सहयोग गर्नेछन् ।

विद्यालयका प्रधानाध्यापक रामकृष्ण श्रेष्ठले कूल ४ सय १० विद्यार्थी अध्ययनरत विद्यालयमा अधिकांश दलित तथा जनजाति विद्यार्थी रहेको जानकारी दिए । त्यसमध्ये अधिकांश विद्यार्थी गरीब परिवारका रहेको उनले बताए । गरीब विद्यार्थीलाई पढाइमा सहयोग गरेकोमा उनले क्लबलाई धन्यवाद ज्ञापन गरे ।

सहयोग हस्तान्तरण कार्यक्रम क्लबका सदस्य कृष्ण दाहालको संयोजकत्व तथा क्लबका अध्यक्ष अनिल थपलियाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका सहायक गभर्नर डा. केशव भुर्तेलको विशेष उपस्थिति थियो । साथै क्लबका पूर्वअध्यक्ष भरत मल्ल, सचिव अर्पण भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट