ध्रुवराज खनाल
रत्ननगर,८ असार ।
रत्ननगरमा निर्माणाधीन चार लेन सडकलाई नमूनाको रुपमा लिइएपनि यसको गुणस्तरदेखि सेन्टर लाइनप्रति प्रश्न उब्जिएको छ । दुवैतर्फको दूरी ५० मिटर रहेपनि बीच भागबाट दायाँ बायाँको दूरी फरक परेको भन्दै स्थानीयले गुनासो गरेका छन् । साथै निर्माण सुरु भएको ३ वर्ष बित्न लाग्दासमेत २ किलोमिटर सडक सम्पन्न नहुनु र अपाङ्गमैत्री नभएकोमा उनीहरुले आक्रोस पोखेका छन् ।

रत्ननगर नगरपालिकाले सडक डिभिजन कार्यालय भरतपुरसँग बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा वकुलहर रत्ननगर अस्पतालका अध्यक्षसमेत रहेका सडक निर्माण ब्लक एकका संयोजक देवेन्द्र श्रेष्ठले डिभाइडर रहेको सडकको बीच भाग त्रुटिपूर्ण रहेको बताए । “सडकको दुवैतर्फ ५० मिटर त छ” श्रेष्ठले भने, “तर बीच भाग सही ठाउँमा नहुँदा कसैलाई फाइदा, कसैलाई नोक्सान भएको छ ।” मुआब्जा पाएर पनि ३–४ वटा घर अझै नभत्काइएको उनले बताए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले रत्ननगरमा निर्माणाधीन सडक एकदम कम गुणस्तरको रहेको बताए । “शक्तिखोर जाने बाटो गुणस्तरीय होला”, रेग्मीले भने, “तर सवारीको चाप रहने पूर्व–पश्चिम राजमार्गको सडक गुणस्तरहीन छ । सडक गुणस्तरीय नहुँदा सडकको दक्षिणतर्फको लेन बिग्रिएको उनले बताए । रत्ननगर–२ का वडाध्यक्ष तिलकराज शर्माले सडक निर्माण कल्पनाभन्दा बाहिर रहेको गुनासो गरे । “भौगोगिक अवस्थालाई नबुझी हचुवाको भरमा सडकको डिजाइन गरिएको पाइयो”, वडाध्यक्ष शर्माले भने, “बनेको सडकमा सवारी चलाउन समस्या छ, अपाङ्गमैत्री बन्न सकेन ।”
रत्ननगर नगरपालिका प्रमुख नारायण वनले फोरलेन सडक बन्नु राम्रो पक्ष रहेको तर डिजाइन गलत रहनु दुभाग्य रहेको बताए । सडकको कामप्रति जिल्ला प्रशासन र गृह मन्त्रालयलाई उजुरी दिइएको भन्दै नगर प्रमुख वनले नमूना सडक भनेपनि अहिले दुःखदायी रहेको बताए । सो अवसरमा सडक डिभिजन कार्यालय भरतपुरका ईञ्जिनियर अरुणकुमार कर्णले डिजाइन र गुणस्तर सही नभएको स्वीकार गरे । सडकको सेन्टर लाइनका बारे एक हप्ताभित्र नापी कार्यालयको सहयोगमा नापजाँच गर्ने बताए । करिब ३ वर्षअघि श्रेष्ठ कन्सट्रक्सन प्रा.लि.ले १९ करोडमा रत्ननगरको लौरीघोलदेखि निपनीसम्म फोरलेनको सडक बनाउने जिम्मा लिएको थियो । निर्माण सम्पन्न गर्नुपर्ने मिति सकिएर एकपटक अर्को मितिसमेत थपिएको थियो ।





