ध्रुवराज खनाल/कायाकैरन
रत्ननगर,५ असार ।
व्यावसायिक कृषि पेशातर्फ उन्मुख रहेका राप्ती नगरपालिकाभित्रका किसानलाई मिनी टेलर (हाते ट्याक्टर) वितरण गरिएको छ । चालु आर्थिक वर्ष २०७४÷७५ को वजेटबाट नगर क्षेत्रका ६ जना किसानलाई राप्ती नगरपालिकाले हाते ट्याक्टर वितरण गरेको हो ।
नगरपालिकाको ५० प्रतिशत अनुदानमा उनीहरुलाई सो ट्याक्टर वितरण गरेको कृषि शाखा प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार राप्ती नगरपालिकाको ५० हजार अनुदान र किसानको ५० हजार लगानीमा ट्याक्टर खरिद गरिएको थियो । ट्याक्टरलाई ९० हजार र क्याजल १० हजार रुपैयाँ पर्छ । सो ट्याक्टरले बाँझो जग्गासमेत जोत्ने भएकाले किसानलाई निकै फाइदा पुग्ने कृषि शाखा प्रमुख न्यौपानेले बताए । “किसानको आम्दानी वृद्धि गर्न कृषि पेशालाई यान्त्रीकरणसँग जोड्नु आवश्यक छ”, कृषि शाखा प्रमुख न्यौपानेले भने, “जसका कारण उत्पादन लागत घट्न गई आम्दानी वृद्धि हुने हाम्रो अपेक्षा छ ।”

राप्ती नगरपालिका–६ का टंक गौतम, सन्तकुमार चौधरी र पुरन चौधरी, राप्ती–७ का ओमप्रसाद रिजाल, राप्ती–१० का रुपक मोक्तान र राप्ती–११ का प्रकाश तामाङले ट्याक्टर पाएका हुन् । निवेदन परेकामध्ये छनौट गरेर उनीहरु ६ जनालाई ट्याक्टर वितरण गरिएको न्यौपानेले बताए । ट्याक्टर प्राप्त गरेका किसानहरुले २ विघासम्म धान र तरकारी खेती गर्दै आएका छन् । प्रति घण्टा १ लिटर खर्च डिजल हुने सो ट्याक्टरले दिनमा करिब एक विघा जोत्न सक्छ ।
ट्याक्टर वितरण गर्दै राप्ती नगरपालिका प्रमुख प्रभा बरालले किसानलाई प्रोत्साहन स्वरुप प्रदान गरिएको ट्याक्टरको सही सदुपयोग गर्नुपर्ने बताइन् । “निःशुल्क प्रदान गरिएको सामग्री दुरुपयोग भइरहेका छन्”, प्रमुख बरालले भनिन्, “किसानको समेत सहभागिता रहेकामा माया हुने भएकाले सदुपयोग हुने विश्वास छ ।”
वितरित ट्याक्टरको प्रयोगपछि आर्थिक उत्पादनमा समेत टेवा पुग्ने प्रमुख बरालले बताइन् । राप्ती नगरपालिका कृषिको पकेट क्षेत्रको रुपमा रहेको छ । चालु आर्थिक वर्षमा १ करोड ३२ लाख रुपैयाँ कृषिमा विनियोजन गरेकोमा अधिकांश खर्च कृषि औजारमा लगानी गरिएको छ । यस आर्थिक वर्षमा नगरपालिकाले धान काट्ने मेसिन, माटो सम्याउने मेसिन, पानी तान्ने मोटर, इलेक्ट्रिक स्पेयर, स्यालो बोरिङ, गोलासहित मौरीका घार, च्याउ टनेल प्लास्टिक, पराल बफाउने ड्रम, धान, मकै, तरकारीको बीउ वितरण गरेको कृषि शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।





