कम्तीमा समूह चरणको पहिलो खेलमा देखाएको खेलका आधारमा मेस्सीभन्दा रोनाल्डो धेरै माथि पुगेका छन् ।
विनोदबाबु रिजाल
रसियामा विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबल प्रतियोगिता चलिरहेको छ । हरेक ४ वर्षमा आउने यो महामेलाले कयौं खेलाडीलाई हिरो बनाइदिन्छ । कयौं खेलाडी जिरो बन्छन् । हुन त यो टिम गेम हो । तर, कहिलेकाहिं व्यक्तिगत प्रदर्शनले ठूलो अर्थ राख्छ । ३२ राष्ट्रले खेल्ने ६४ खेल र सहभागी सयौं खेलाडी सबैका लागि यो ठूलो अवसर हो । जसले जसरी पनि आफूलाई प्रमाणित गर्न सक्छन् । तर, अर्को हिसाबले दुई महान खेलाडी मेस्सी र रोनाल्डोको भिडन्त पनि हो यो विश्वकप ।
हाम्रो युगको दुई महान खेलाडीमा यिनीहरुको नाम आउँछ । कसैले मेस्सी नम्बर एक भन्लान्, कसैले रोनाल्डो । यसमा आ–आफ्नै तर्क होलान् । तथ्य पनि जगजाहेरै छन् । दुर्भाग्य यी दुवै खेलाडीले अलिहेसम्म विश्वकप उचाल्न पाएका छैनन् । मेस्सीले एउटा फाइनल (२०१४) खेल्न पाए । रोनाल्डोले त त्यही पनि पाएका छैनन् । आफ्नो देशका लागि मुख्य खेलाडीको रुपमा उनीहरु दुवैको अहिले चलिरहेको विश्वकप सम्भवतः अन्तिम हो । त्यसकारण पनि यिनीहरु विश्वकपसम्मको दौडका लागि अति नै लालायित छन् ।
यसपालिको विश्वकप यी दुईमध्ये जसले उचालेपनि समर्थकलाई भन्न सजिलो हुनेछ कि हाम्रो युगको एक नम्बर खेलाडी को र दुई नम्बर को भनेर । अन्यथा युरो कप २०१६ को उपाधि आफ्नो देशलाई दिलाएका कारण र रोनाल्डो अघि गइसकेका छन् । मेस्सीले आफ्नो महादेशमा भएको ठूलो प्रतियोगिता कोपा अमेरिकामा दुईचोटि फाइनल खेलेपनि कप उचाल्न सकेनन् । तीबाहेक यिनी दुईसँग क्लब फुटबलमा उपाधि उचाल्न बाँकी केही पनि छैन । सबै जितिसके । मेस्सी बार्सिलोनाबाट १३ वर्षदेखि खेलिरहेका छन् भने रोनाल्डो रियल मड्रिडबाट ८ वर्षदेखि खेलिरहेका छन् ।
अझै चर्चा गरौं यी दुईमध्ये सर्वोत्कृष्ट को ? यही विश्वकपमै जाउँ । रोनाल्डोको टिम पोर्चुगलले समूह चरणको पहिलो खेलमा २०१० को विश्व च्याम्पियन र लगातार दुईपटक युरो च्याम्पियन बनेको स्पेनलाई भेट्यो । विश्वभर नै समूह चरणको सबैभन्दा खतरनाक र फाइनलकै झल्को दिने खेलका रुपमा यसलाई हेरे । हुन पनि एउटा पूर्व युरो च्याम्पियन अर्को वर्तमान च्याम्पियनबीचको खेल किन कम चर्चाको हुन्थ्यो र ! यो खेल निकै नै रोमाञ्चक बन्यो । ९० मिनेटको खेल धेरैजसो स्पेनकै नियन्त्रणमा थियो । तर, खेल भावनाले जित्ने होइन, यहाँ त नतिजा चाहिन्छ ।
अन्ततः रोनाल्डोको ह्याट्रिक मद्दतले पोर्चुगलले स्पेनलाई ३–३ को बराबरीमा रोक्यो । खेल स्पेनले हारेको थिएन । तर, खेल सकिदा स्पेनका सबै खेलाडीको चेहरा मलिन थियो, मानौं उनीहरुले विश्वकप फाइनलमा हार ब्यहोरेका छन् । त्यति नै खेर रोनाल्डो र पोर्चुगलका सबैको चेहरामा उत्साह र खुसी थियो । किनकि उनीहरुले गुमिसकेको खेल बराबरीमा ल्याएका थिए । उनीहरुले के भन्नु रोनाल्डोले ल्याएका थिए । किनकि खेलमा पोर्चुगलका तर्फबाट भएका सतप्रतिसत गोल उनैले गरेका थिए । अझ खेल सकिनै लाग्दा उनले हानेको फ्रिकिकले यति मज्जाले जाली चुम्यो कि त्यसको तुलना कमैमात्र फ्रिकिकसँग गर्न मिल्छ । उनले पहिलो गोल पनि पेनाल्टीमार्फत गरेका थिए । खेलको तेस्रो मिनेटमा नै पेनाल्टी एरियामा उनैलाई लडाएका थिए स्पेनी रक्षकले । दोस्रो गोलमा पनि स्पेनी किपरले ठूलो गल्ती गरे । हातमा परेको बल चिप्लाएर जालीतर्फ पठाए ।
अर्को खेलमा अर्का सर्वोत्कृष्ट मेस्सी क्याप्टेन आर्मब्याण्डसाथ आइसल्याण्डसँग भिड्न किस्किए । आइसल्याण्ड यो विश्वकपमा पहिलोपटक सहभागी टिम हो । २० वटा विश्वकप संस्करणमा नामसम्म लिन नपाएको आइसल्याण्डले दुईपटकको विश्वविजेता र डिफेण्डिङ रनर्स अप अर्जेन्टिनालाई १–१ को बराबरीमा रोकिदियो । आइसल्याण्ड जनसंख्याको हिसाबले फिफा विश्वकपमा सहभागी सबैभन्दा सानो राष्ट्र हो । करिब ३ लाख ५० हजार जनसंख्या भएको यो देशले २०१६ मा पहिलोपटक युरोकप खेलेको थियो । त्यसबेला युरोपको एउटा महारथि इङ्ल्याण्डलाई हराएर सनसनी मच्चाएको आइसल्याण्डले क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो । यसपालि पनि उसले पहिलो विश्वकपमै अर्जेन्टिनालाई बराबरीमा रोकेर तहल्का पिट्यो । ठ्याक्कै स्पेनको हालतमा अर्जेन्टिना देखियो । यसमा पनि खेल अर्जेन्टिनाले हारेको होइन । तर, बराबरी नै हार समान भयो । खेलपछि आइसल्याण्डले ताली पिट्दै मैदान चहार्दा मेस्सी र उनको टिम अर्जेन्टिनाले मुहारमा कान्ति ल्याउन सकेन ।
लक कि परफरमेन्स ?
फुटबलमा लक लाग्छ कि लाग्दैन ? यो प्रश्नको जवाफ सजिलो छैन । फेरि लक भनेको के हो ? यसको जवाफ पनि ठ्याक्कै दिन सहज छैन । अर्थको हिसाबले लक भनेको भाग्य हो । भाग्यमा सबैले विश्वास गर्छ भन्ने पनि छैन । भाग्य हुँदैन भन्नेले यसलाई संयोग भन्दा पनि हुन्छ । यहाँ अर्थतिर ज्यादा नजाउँ । फेरि दुवै खेलमा नै हेरौं । पहिलो खेलमा स्पेनविरुद्ध रोनाल्डोले गरेका तीन गोल कस्ता थिए । पहिलो पेनाल्टी, दोस्रो सामान्य प्रहारमा किपरको गल्ती र तेस्रो फ्रिकिक । रोनाल्डोका विरोधीले यसरी नै व्याख्या गरेका छन् । अर्थात रोनाल्डोलाई लक लाग्यो र सबै जु¥यो । पेनाल्टीसम्मलाई लक भन्न पनि मिल्ला वा संयोग । किनकि पेनाल्टी आफ्नो बलबुताले पाउने होइन । संयोगले विपक्षी खेलाडीले पेनाल्टी एरियामा फउल गरेपछि पेनाल्टी पाउने हो ।
दूरीका हिसाबले किपरको निकै नजिक (११ मिटर) हुने भएकोले गोल हुने सम्भावना बढी नै हुन्छ । तर, प्रतिशतमा हेर्ने हो भने गोल हुने वा नहुने ५०–५० नै हुन्छ । पेनाल्टी हानेपछि स्वाभाविकरुपमा किपरले डाइभ मार्छ । संयोगले कहिलेकाहिं बल जता जाँदै छ, डाइभ त्यतै परिदिन्छ । रोनाल्डोको प्रहारमा संयोग यस्तो परिदियो कि किपरको डाइभ एकातिर बल अर्कोतिर । नतिजा गोल । दोस्रो र तेस्रो गोलमा रोनाल्डोको करिब १५ वर्षको अनुभव र उनको विशेष क्षमता नै देखियो । त्यति राम्रो फ्रिकिक सायदै अब देखिएला ।
अर्कोतिर आइसल्याण्डविरुद्धको खेलमा मेस्सीले पनि उस्तै अवसर पाए । रोनाल्डोले जस्तै उनले पनि पेनाल्टी प्रहारको अवसर पाए । फ्रिकिक पनि उस्तै एंगलबाट पाए । तर, मेस्सी दुवैमा चुके । मेस्सीको पेनाल्टी दमदार थियो । फ्रेममा पनि थियो । तर, संयोग यस्तो परिदियो कि किपरले दाया डाइभ मारिदिए, मेस्सीको बल पनि त्यतै गयो । नतिजा गोल भएन । मेस्सीको फ्रिकिक फ्रेममै गएन । उनका कयौं अरु प्रहार पनि फ्रेममा गएन । फिफाकै लाइभ कमेन्ट्रीमा मेस्सीको सट एक्कुरेसी ३३ प्रतिशत मात्रै देखिन्थ्यो । मेस्सीको पेनाल्टीमा लक वा संयोगले काम नगरेको भनौंला । मान्न सकिन्छ । तर, अरुमा मेस्सी चुकेकै हुन् । विश्वका सर्वोत्कृष्ट खेलाडीले देखाउनुपर्ने क्षमता उनले देखाउन सकेनन् । खेल सदैव भावनाले मात्रै अघि बढ्दैन । यो युद्धको मैदान हो । यहाँ विपक्षीविरुद्ध हावी भएर मात्रै युद्ध जितिन्छ । पहिले को के थियो भन्ने कुराको यहाँ अर्थ हुँदैन ।
अब के ?
मेस्सी र रोनाल्डो दुवैको टिम १–१ अंकमा छन् । दुवैले समान १ खेल मात्रै खेलेका हुन् । उस्तै नतिजा, उत्तिकै अंक हुँदा पनि पोर्चुगल विजयी र अर्जेन्टिना पराजित मानसिकतामा छ । दुवैका लागि विश्वकपसम्मको यात्रा उत्तिकै कठिन छ । तर, असम्भव छैन । माथि चर्चा गरिएजस्तै यी दुवैसँग विश्वकप उचालेर आफूलाई सर्वकालीन महान् खेलाडी बनाउने अवसर अझै छ । विगतमा पेले, म्याराडोना, रोनाल्डो(ब्राजिल), जिनेदिन जिदानलाई महान् खेलाडी मानियो । किन ? उनीहरु सबैले विश्वकप उचाले । अझै पेलेले त तीनपटकसम्म (१९५८, १९६२ र १९७०) उचाले । उनले लगातार फाइनलमा गोल पनि गरे । क्लब फुटबलमा माथि नाम लिइएका सबै महान् खेलाडीहरुभन्दा मेस्सी र रोनाल्डोले बढी गरिसके । तर, विश्वकप नउचालेसम्म यिनीहरुलाई महान्को सूचीमा राख्नु सर्वस्वीकार्य हुने छैन । यदि विश्वकप उचाल्न सकिएन भने उनीहरु बाँचुञ्जेल सबैभन्दा खड्किने कुरा पनि यही हुनेछ ।
सर्वोत्कृष्ट को ?
अझै पनि यी दुईमा सर्वोत्कृष्ट को भन्ने प्रश्नको सहज जवाफ छैन । अन्तर्राष्ट्रिय व्यावसायिक फुटबलमा दुवैका परफरमेन्स उस्तै छन् । विश्वका सर्वोत्कृष्ट खेलाडीले पाउने बालोन डेओर दुवैले ५–५ पटक यिनै दुईले पाएका छन् । तर, २०१८ को सबैभन्दा ठूलो परफरमेन्स विश्वकप फुटबलले पनि अबको अवार्ड कसले पाउने भन्ने निधो गर्नेछ । त्यसले यी दुईलाई को सर्वोत्कृष्ट मान्ने भन्नेमा एक आधार थपिदिने छ । कम्तीमा समूह चरणको पहिलो खेलमा देखाएको खेलका आधारमा मेस्सीभन्दा रोनाल्डो धेरै माथि पुगेका छन् । उनले पछिल्लो ४ विश्वकपमा सबैमा गोल गरेका छन् । यसपालि त पहिलो खेलमा बलियो स्पेनविरुद्ध ह्याट्रिक नै गरिदिए । दुवैका सामु अझै ठूला अवसर बाँकी नै छन् । त्यसकारण को सर्वोत्कृष्ट भन्ने कुराको छिनोफानो समयलाई नै छोडिदिउँ ।
(लेखक नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष हुन्)