थोरै विद्यार्थी लिएर पनि नजिकै बहुविद्यालय चलेका स्थानमा विद्यालय समायोजन गर्ने प्रक्रिया चितवनको माडीबाट सुरु भएको छ । दुई विद्यालय मिसाउने प्रक्रियालाई दुई बैंक मिलेर एक बनेजस्तै ‘मर्ज’ भन्न थालिएको छ । यसको उदाहरण स्वरुप माडीमा प्रयास सुरु गरिएको हो । त्यहाँ विद्यार्थी संख्या कम भएका १४ विद्यालय ‘मर्ज’ गरिदैछ । १३ वटा सामुदायिक विद्यालय र १ सार्वजनिक गुठी विद्यालय मर्ज प्रक्रियामा गएका छन् । यस्तै १ विद्यालयको कक्षा कटौती भएको छ । माडीका कक्षा ३ सम्म पढाइ हुने ५ वटा, १ देखि ५ सम्म पढाइ हुने ८ वटा, १ देखि ८ कक्षासम्म पढाइ हुने १ वटा र १ देखि १० सम्म पढाइ हुने एउटा विद्यालय मर्ज प्रक्रियामा छन् । माडी नगरपालिकाको शिक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७४ अनुसार विद्यार्थी संख्या न्यून भएका विद्यालय मर्जको प्रक्रियामा गएका छन् ।
गाभिने विद्यालयका भौतिक सम्पत्ति माडी नगरपालिकामा र शैक्षिक अभिलेख गाभिएर जाने विद्यालयमा बुझाउन भनिएको छ । अनुगमन टोलीले तयार पारेको प्रतिवेदन नगर शिक्षा समितिले जेठ ५ गते नगरपालिकालाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा जेठ ९ गते नगर कार्यपालिका बैठकले स्वीकृत गरेपछि मर्जको प्रक्रिया अघि बढाइएको हो संस्थागत विद्यालयमा विद्यार्थी खचाखच छन् । तर, सामुदायिकमा भने अपवादबाहेक आवश्यक विद्यार्थी पनि छैनन् । लामो समयदेखि सामुदायिक विद्यालयले यो समस्या झेल्दै आएका छन् । पछिल्लो समय त्यस्ता विद्यालयका थोरै संख्यामा रहेका विद्यार्थी नजिकैको पायक पर्ने सामुदायिक विद्यालयमा मिसाउने प्रक्रिया थालिनु सकारात्मक छ । देशैभर सामुदायिक विद्यालयको समस्या हो यो । यहाँको मात्रै होइन, कयौं ठाउँमा विद्यार्थीभन्दा शिक्षक बढी भएर पनि विद्यालय चलिरहेको समाचारहरु बेलामौकामा आउने गरेका छन् । ५ सय मिटर वरपरकै विद्यालयमा पनि विद्यार्थी घटेरै जाँदा पनि दुवैतिर पढाइ गरिरहनु राज्यदोहन मात्रै हो । विद्यार्थी जतिसुकै भएपनि शिक्षकको दरबन्दी उही रहने र सुविधा त्यही विद्यालयमै पठाइरहने अवस्था अहिलेसम्म रहेको छ ।
विद्यालय मर्ज गर्नुपर्ने कारण दुईथरि हुनसक्छ । पहिलो कारण त शिक्षक पर्याप्त हुने तर विद्यार्थी नहुने नै हो । अर्को भनेको आवश्यक मात्रामा शिक्षक अभावको कारणले पनि मर्ज आवश्यक हुनसक्छ । शिक्षक अभाव भनेको विद्यार्थी आवश्यकभन्दा बढी हुनु हो । सामुदायिक विद्यालयले विद्यार्थी छान्ने सुविधा पाउँदैनन् । आएका विद्यार्थीलाई सिट छैन भनेर फिर्ता गर्न पाउँदैन । तर, विद्यार्थी धेरै भएपनि आवश्यक शिक्षक पाइहाल्ने सम्भावना रहदैन । त्यसकारण नजिकैको विद्यार्थी थोरै भएको विद्यालय मर्ज गर्दा त्यहाँका शिक्षक पनि मिसिन आइपुग्छन् । यसले शिक्षक अभाव पनि पूर्ति गर्छ । अहिले त एउटा स्थानीय तहले मात्रै यो प्रयास गरेका छन् । अब अरुले पनि अध्ययन गरेर उपयुक्त कदम चाल्नुपर्छ । मर्ज गर्दा विद्यार्थीलाई अप्ठ्यारो पार्नचाहिं हुँदैन । अर्को विद्यालय जाँदा विद्यार्थीलाई अस्वभाविक टाढा पर्न हुँदैन । यसमा ख्याल गरेर मर्ज गर्दै जाँदा नै सबै हिसाबले उपयुक्त हुन्छ ।
सम्पादकीय : सामुदायिक विद्यालयमा मर्जको प्रयास
सम्पादकीय : सामुदायिक विद्यालयमा मर्जको प्रयास
तपाईको प्रतिक्रिया