भरतपुर, २ असार ।
विश्वकप समूह ‘डि’ को पहिलो खेलमा साविक उपविजेता अर्जेन्टिना र पहिलो विश्वकपमा खेल्दै गरेको आइसल्यान्ड १-१ को बराबरीमा रोकिएका छन् ।
खेलको १९ औं मिनेटमा मार्कोस रोहोको पासमा सर्जियो अगुएरोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट नबित्दै आइसल्यान्डले खेल बराबरी गरेको हो । आइसल्यान्डका लागि स्ट्राइकर अल्फ्रेड फिन्बोगासनले गोल गरेका हुन् ।
खेलको ६४ औं मिनेटमा भने अर्जेन्टिनाले पेनाल्टी पाउंदै खेलमा अग्रता लिने अवसर पाएको थियो । त्यस पेनाल्टीमा कप्तान लियोनल मेस्सीको प्रहारलाई आइसल्यान्डका गोलकिपर हालडोर्सनले रोकेका थिए । सो पेनाल्टी विश्वकपमा मेस्सीको पहिलो पेनाल्टी पनि थियो ।
अर्जेन्टिनाले अन्तिममा कैयौं प्रहार गरे पनि ती विफल भएका थिए । अब ९.४५ बजे समूह ‘सी’ का पेरु र डेनमार्क भिड्दै छन् भने १२.४५ बजे समूह ‘डि’ कै क्रोएसिया र नाइजेरिया आम्ने साम्ने हुंदै छन् ।
सबै फोटोः फिफा